पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न

समाधान संवाददाता २०८२ मंसिर २८ गते १२:२४

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले आयोजना गरेको तीनदिने पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । पोखरा हुँदै बागलुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका पर्यटकीय गन्तव्यलाई जोड्ने र प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित यो अभियानले पर्यटनमा नयाँ आशा र विश्वास जगाएको छ ।

Advertisement

मंसिर २४ गतेदेखि सुरु भएको यात्रामा संघमा आबद्ध व्यवसायी, पोखराका पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको संघका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दाहालले जानकारी दिए । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखराबाट ढोरपाटनसम्मको यो यात्रा फलदायी भएको उनको भनाइ छ ।

अभियानकै क्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बागलुङमा यातायात व्यवसायी, चालक र सहचालकहरूका लागि अभिमुखीकरण तालिम पनि सञ्चालन गरिएको थियो । उक्त तालिम कास्की, बागलुङ, म्याग्दी र पर्वतका यातायातकर्मीहरूका लागि सुरक्षित र गुणस्तरीय सेवा प्रवाहमा उपयोगी बनेको अध्यक्ष दाहालले बताए ।

Advertisement

यात्राका दौरान बागलुङ, बुर्तिबाङ र ढोरपाटनका स्थानीय पर्यटन व्यवसायीहरूसँग आपसी साझेदारी बढाउने विषयमा महत्त्वपूर्ण छलफल भएको थियो । ‘पोखराबाट ढोरपाटनसम्म ठाउँ–ठाउँमा बन्दै गरेका र स्तरोन्नति भइरहेका सडकलाई चाँडो सम्पन्न गर्नुपर्ने देखिन्छ,’ अध्यक्ष दाहालले भने, ‘बाटो व्यवस्थित हुन सके पोखराबाट ठूलो संख्यामा पर्यटकलाई ढोरपाटनसम्म पुर्‍याउन सकिन्छ ।’

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङले ढोरपाटनजस्ता सम्भावना बोकेका गन्तव्यको विकासका लागि प्रवर्द्धन अपरिहार्य रहेको बताए । उनले प्रवर्द्धनसँगै स्थानीय पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिमा पनि जोड दिनुपर्ने औंल्याए ।

Advertisement

संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक रविप्रसाद आचार्यले यो अभियानले पोखरा र ढोरपाटनबीचको पर्यटकीय सम्बन्ध विस्तारमा ठूलो आशा जगाएको बताए । ‘कार्यक्रमबाट पोखरा–ढोरपाटनको पर्यटन प्रवर्द्धन र साझेदारीका लागि महत्त्वपूर्ण उपलब्धि हासिल भएको महसुस गरेका छौं,’ आचार्यले भने, ‘पर्यटनसम्बद्ध सबै पक्षको एकताबद्ध प्रयास र व्यवसायी–व्यवसायीबीचको समन्वयबाट सबैले फाइदा लिन सकिन्छ ।’


तपाईको प्रतिक्रिया