स्वाधीन संयुक्त सरकार माग

समाधान संवाददाता २०८२ पुष ८ गते १३:०१

पोखरा ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान सरकारको विघटन गरी स्वाधीन संयुक्त सरकार गठन गर्न माग गरेको छ । सो पार्टीले देशभक्त र जनतान्त्रिक राजनीतिक दल, संगठन समूह एवं व्यक्ति व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गरी वर्तमान सरकारको विघटन गर्न माग गरेको हो ।

Advertisement


आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन वहिष्कारसम्बन्धी पार्टीको अवधारणा सार्वजनिक गर्नका सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पार्टीका स्थायी समितिका सदस्य रामसिंह श्रीसले त्यस्तो राजनीतिक सम्मेलनबाट स्वाधीन संयुक्त सरकार गठन गर्न माग गरे ।


उनले पार्टीको चौथो पूर्ण बैठकले वर्तमान सरकारले आगामी फागुन २१ गते घोषणा गरेको संसदीय निर्वाचनलाई बहिस्कार गर्ने गरेको जानकारी दिए । ‘बैठकले साम्राज्यवाद’द्वारा प्रायोजित संसदीय निर्वाचन बहिस्कार गर्ने नीति पारित गरेको छ,’ उनले भने, ‘पार्टीको सांगठनिक क्षमताको सापेक्षतामा सत्ता र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचनका सशक्त बहिष्कार गर्छौ ।’

Advertisement


उनले पार्टीले देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा बामपन्थी शक्तिका बीच राष्ट्रिय राजनीतिक सम्मेलन गरेर संयुक्त मोर्चा निर्माण गरी आन्दोलन उठाउने निर्णय गरेको बताए । उनले आन्दोलनको बलमा स्वाधीन संयुक्त सरकारको गठन गरी संघीय जनगणतन्त्रमा आधारित नयाँ संविधानको निर्माणबाट आजको तत्कालिन राजनीतिक समस्याको निकास हुने निष्कर्ष निकालेको जानकारी दिए ।


अहिलेको अवस्थामा आगामी निर्वाचनलाई सशक्त ढंगले बहिस्कार गर्ने र बहिस्कार आन्दोलनलाई स्वाधीन संयुक्त सरकारको निर्माणको लागि आधार तयार गर्ने उल्लेख गर्दै नेता श्रीसले पार्टीले स्वाधीन सरकारमार्फत् वर्तमान् प्रतिक्रियावादी संविधान खारेज गर्ने र जनसंविधान निर्माण गरी क्रान्तिलाई अगाडि बढाउने कार्यनीतिक श्रृंखला निर्धारण गरेको जनाए ।

Advertisement


पार्टीको ७ नम्बर क्षेत्रीय ब्युरोका सचिवालय सदस्य आकाश गौतमले २०१५ सालदेखि अहिलेसम्म भएका संसदीय निर्वाचनले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न नसकेको दाबी गरे । पार्टीका केन्द्रीय सदस्य तथा कास्की सचिव विक्रम थापाले प्रतिगमनको भण्डाफोर र स्वाधीन संयुक्त सरकारको गठनका माग राख्दै माओ दिवसको अवसरमा आगामी पुस ११ गते काठमाडौं केन्द्रीत जनसभा गर्ने बताए ।

तपाईको प्रतिक्रिया