लेखनाथ महोत्सवमा औद्योगिक बहस

समाधान संवाददाता २०८२ पुष ९ गते ११:४८

लेखनाथ ।
कास्कीको लेखनाथमा जारी २१औं संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत स्वरुप दिँदै पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरिएको छ ।

Advertisement


महोत्सवको छैटौं दिन मंगलबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित उद्योग बहसले उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव साटासाट र छलफलको अवसर प्रदान गरेको थियो । सुरुका दिनमा सुन्तला उत्पादन र बजारीकरण प्रवद्र्धनका लागि आयोजना गरिएको लेखनाथ महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको छ ।


उद्योग बहस कार्यक्रममा विभिन्न उद्योगका प्रतिनिधिहरूले आफ्ना व्यावसायिक यात्रा, संघर्ष र सफलताका कथा सुनाएका थिए । कर्माचार्य ग्रुपका विक्रम कर्माचार्यले व्यावसायिक परिवारमा जन्मिएकाले सानै उमेरदेखि व्यवसायप्रति आकर्षित भएको बताए ।

Advertisement

उनले १३–१४ वर्षकै उमेरमा नेपाली उत्पादनहरु जस्तै टुथपेस्ट, मेची चिया, मायालु साबुन र सोल्टी साबुन बिक्री गरेको अनुभव स्मरण गरे । खुला सीमाका कारण नेपाली व्यवसायमा परेको असर अनुभूति गरेपछि स्वदेशी उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्दै विज्ञापनमार्फत अघि बढ्ने सोच बनाएको उनको भनाइ थियो ।


यस्तै, दीप आइसक्रिमकी सञ्चालक पम्फा देवकोटाले ‘म कर्म गर्न सक्छु र कर्म गरेरै अगाडि बढ्छु’ भन्ने दृढ इच्छाका साथ व्यवसायमा लागेको बताइन् । उनले निरन्तर मेहनत, आत्मविश्वास र कर्मचारीको साथले आफ्नो व्यवसाय अघि बढ्दै गएको अनुभव सुनाउँदै संघर्षका कथा साझा गरिन् ।

Advertisement


मनकामना प्लाइउड कम्पनीका सञ्चालक नारायणप्रसाद बास्तोलाले सानो ‘स’ मिलबाट सुरु गरेको व्यवसाय प्लाइउड उद्योगसम्म आइपुग्दा विभिन्न चुनौती झेल्नु परेको बताए । विशेष गरी नेपालमा वन पैदावारसम्बन्धी स्पष्ट कानुनको अभावले व्यवसाय सञ्चालनमा समस्या आएको स्मरण गर्दै संघर्षकै बीच व्यवसायलाई निरन्तरता दिएको उनले बताए ।


कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महाराज ढकालले उद्योग प्रवद्र्धनका लागि अनुदानको सीमा बढाउनुपर्ने आवश्यकता औंल्याए । डीपीआरमै ठूलो खर्च हुने हुँदा धेरै योजना अलपत्र पर्ने अवस्था आएको उल्लेख गर्दै अनुदानलाई निश्चित दायराभित्र ल्याउने प्रयास भइरहेको जानकारी दिए । साथै, प्रदेशका गौरवका रूपमा रहेका औद्योगिक क्षेत्रको विकासका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।


स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई उत्साहित बनाउने उद्देश्यसहित आयोजना गरिएको लेखनाथ महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । आयोजकका अनुसार महोत्सवको छैटौं दिन मंगलबार मात्रै करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् ।

आर्थिक कारोबारतर्फ दैनिक करिब १ करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए । लेखनाथ महोत्सवले स्थानीय उत्पादन, उद्योग र संस्कृतिको प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया