गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम

समाधान संवाददाता २०८२ पुष १० गते ७:५०

गण्डकी । गण्डकी प्रदेशमा प्रसूति केन्द्रको संख्या ३६४ पुगेको छ । सेवा विस्तारसँगै असुरक्षित रूपमा घरमै सुत्केरी हुने क्रम ह्वात्तै घटेको छ । प्रदेशमा अहिले घरमै सुत्केरी हुनेको संख्या वार्षिक २०० भन्दा कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार केसीका अनुसार प्रदेशभित्र शल्यक्रियामार्फत प्रसूति गराउने १८ वटा अस्पताल छन् । जटिल अवस्थाको सुत्केरी गराउने स्वास्थ्य संस्थाको संख्या ५२ पुगेको छ । मनाङबाहेक प्रदेशका सबै जिल्लामा शल्यक्रिया सेवा उपलब्ध रहेको डा. केसीले जानकारी दिए ।

मन्त्रालयको तथ्यांकअनुसार गण्डकीमा वार्षिक करिब ३६ हजार महिला गर्भवती हुन्छन् । तीमध्ये करिब १२ हजारले गर्भपतन गराउने अनुमान छ भने २४ हजारले शिशु जन्माउने गरेका छन् । कुल गर्भवतीमध्ये करिब ४ हजारले भने काठमाडौं, चितवन, पाल्पालगायतका सुगम ठाउँमा गएर बच्चा जन्माउने गरेका छन् ।

Advertisement

पछिल्लो जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) ले गण्डकीमा संस्थागत प्रसूति दर ८९ प्रतिशत देखाएको छ । सरकारले घरमा हुने प्रसूतिलाई शून्यमा झार्दै ‘पूर्ण संस्थागत प्रसूति’ सुनिश्चित प्रदेश घोषणा गर्ने लक्ष्य लिएको छ ।

मातृ तथा नवशिशु मृत्युदर घटाउन सरकारले रणनीतिक स्थानमा ‘प्रसूति प्रतीक्षा गृह’ र ग्रामीण भेगमा अल्ट्रासाउण्ड सेवा विस्तार गर्ने योजना बनाएको छ । मन्त्रालयले प्रसूति केन्द्रको सुदृढीकरणका लागि औजार, उपकरण र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ ।रासस

Advertisement

तपाईको प्रतिक्रिया