२०२५ः तातो वर्ष

डेट्रोइट ।
वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो ३ वर्षमध्ये एक बनेको छ । यस वर्षले पहिलो पटक ३ वर्षको औसत तापक्रमका आधारमा पूर्व–औद्योगिक कालको तुलनामा तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियस भन्दा तल राख्ने सन् २०१५ को पेरिस सम्झौतामा तोकिएको सीमा पार गरेको हो ।
विज्ञहरूका अनुसार उक्त सीमा नाघ्दा मानव जीवन, पारिस्थितिकी र विश्वव्यापी वातावरणमा गम्भीर जोखिम बढ्ने गर्दछ । युरोपमा मंगलबार सार्वजनिक गरिएको वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) का अनुसन्धानकर्ताको विश्लेषणले सन् २०२५ लाई खतरनाक चरम मौसमले भरिएको वर्षका रुपमा चित्रित गरेको छ । प्रशान्त महासागरमा ला निना जस्तो प्राकृतिक चिसोपनको अवस्था हुँदाहुँदै पनि विश्वव्यापी तापक्रम उच्च रहनुमा तेल, ग्यास र कोइलाजस्ता जीवाश्म इन्धनको निरन्तर दहन प्रमुख कारण भएको वैज्ञानिकहरूको निष्कर्ष छ ।
इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक तथा डब्लुडब्लएका सह–संस्थापक फ्रेडेरिक ओटोका अनुसार जीवाश्म इन्धन छिटो र व्यापक रूपमा प्रयोग गर्न रोक्न नसके १.५ डिग्रीको लक्ष्य जोगाउन अत्यन्त कठिन हुनेछ ।
डब्लुडब्लएले सन् २०२५ मा विश्वभर देखिएका १५७ चरम मौसम घटनालाई गम्भीर श्रेणीमा राखेको छ, जसमा ठूलो मानवीय क्षति, व्यापक जनसङ्ख्यामा प्रभाव वा आपतकाल घोषणा गरिएको अवस्था समावेश छन् । तीमध्ये केही घटनाको विस्तृत अध्ययनले तातो लहरहरू यस वर्षका सबैभन्दा घातक विपद् बनेको र यस्ता घटना जलवायु परिवर्तनका कारण विगतको तुलनामा धेरै गुणा बढी सम्भावित भएको देखाएका छन् ।
ओटोका अनुसार मानव–प्रेरित जलवायु परिवर्तन नभएको भए यस्ता तातो लहरहरू प्रायः असम्भव हुने थिए । यस वर्ष ग्रिस र टर्कीमा लामो खडेरीले डढेलोलाई उक्सायो भने मेक्सिकोमा भारी वर्षा र बाढीले धेरैको ज्यान गयो ।
फिलिपिन्समा सुपर टाइफुन फङ–वोङका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भए भने भारतमा मनसुनका कारण बाढी र भूस्खलनले जनजीवन प्रभावित भयो । वैज्ञानिकहरूले यस्ता तीव्र र जटिल विपद्ले धेरै देशको अनुकूलन क्षमतामाथि गम्भीर दबाब सिर्जना गरेको चेतावनी दिएका छन् ।
यसैबीच, ब्राजिलमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु वार्ता जीवाश्म इन्धनबाट टाढा सर्ने स्पष्ट योजनाविना सकिएको छ । यद्यपि जलवायु अनुकूलनका लागि थप सहयोगको प्रतिबद्धता व्यक्त गरिए पनि कार्यान्वयनमा ढिलाइ हुने देखिएको छ । चीन, युरोप र संयुक्त राज्य अमेरिकालगायत विश्वका प्रमुख शक्तिहरूमा जलवायु नीतिमा असमान प्रगति देखिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
कोलम्बिया युनिभर्सिटी क्लाइमेट स्कुलका वरिष्ठ अनुसन्धानकर्ता एन्ड्र्यु क्रुज्किभिजका अनुसार विश्वका धेरै स्थानमा पहिले नदेखिएका विपद् देखिन थालेका छन्, जसका लागि छिटो चेतावनी, नयाँ प्रतिक्रिया प्रणाली र दीर्घकालीन रणनीति आवश्यक छ । उनका शब्दमा, ‘केही प्रगति भए पनि विश्वले अझ धेरै र छिटो कदम चाल्न जरुरी छ ।’ एपी









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया