ङयोए तमु धिमा १ करोडको सभाहल

लेखनाथ ।
कास्कीको लेखनाथमा करिब १ करोड रुपैयाँ लागतको सभाहल उद्घाटन गरिएको छ । संघीय सरकारको लगानीमा ङयोए तमु धिमा निर्मित उक्त भवनको बिहीबार उदघाटन गरियो । पूर्वसांसद मनबहादुर गुरुङले भवनको औपचारिक शुभारम्भ गरे । ङयोए तमु धि लेखनाथले सञ्चालन गरेको ल्होसार विशेष समारोहमा भवन उद्घाटन भएको हो ।
तमु समुदायले यसपालि सर्प वर्ग (सप्री ल्हो) लाई बिदाइ गरेका छन् । उनीहरूले घोडा वर्ग (त ल्हो) को स्वागत गर्दै यो पर्व मनाएका हुन् । देशभरि नै यो पर्व धुमधामसाथ मनाइँदै छ ।
भवन उदघाटनपछि बोल्दै गुरुङले ल्होसारलाई सिक्ने र सिकाउने पर्वका रूपमा अथ्र्याए । उनले यो पर्व गुरुङ जातिको मात्र नभएको बताए । ल्होसार अब सबै जातजाति र वर्गको साझा भएको उनको भनाइ छ । उनले भने, ‘यो पर्व नेपाल र नेपालीको मौलिक संस्कृतिसँग जोडिएको छ । त्यसैले यो आम नेपालीको सामूहिक पर्व हो ।’
पूर्वसांसद गुरुङले ल्होसार फेरिएको नयाँ वर्गको स्वागत र पुरानोको बिदाइ भएको उल्लेख गरे । उनले यो प्रकृति र मानव जीवनशैलीमा आधारित १२ वटा वर्गको चक्र भएको प्रस्ट पारे । बालबालिकालाई यसतर्फ आकर्षित गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, ‘यस पर्वमा लुकेर रहेको प्रतिभा प्रस्फुटन हुन्छ । कला, गला, ज्ञान र सीपको कदर गरिन्छ । त्यसैले साना बाबुनानीहरूलाई यसतर्फ अग्रसर गराउनुपर्छ ।’
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले संस्कृतिको महत्त्वबारे बोले । उनले तमु समुदायको मौलिक संस्कृति, भेषभूषा र भाषा संरक्षण गर्नुपर्ने बताए । यसका लागि संग्रहालय आवश्यक भए पनि घरबाटै सुरुआत गर्न उनले सुझाव दिए ।
तमु धि कास्कीका अध्यक्ष होम गुरुङले नेपाली संस्कृति विश्वमा चिनिएको बताए । उनले मौलिक संस्कृति जोगाउन यस्ता पर्वको महत्त्व बढेको उल्लेख गरे । उनले यसलाई राष्ट्रिय पर्वकै रूपमा मनाउनुपर्नेमा जोड दिए । आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशकी अध्यक्ष खिमा गुरुङले पनि धारणा राखिन् । ल्होसारले नयाँ जोस र उत्साह दिने उनले बताइन् । विगतका कमजोरी सच्याउँदै अघि बढ्ने प्रेरणा ल्होसारबाट मिल्ने उनको भनाइ थियो ।
ङयोए तमु धि लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङले कार्यक्रममा स्वागत मन्तव्य राखे । उनले सांस्कृतिक परम्पराको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताए । कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिसहित सुरु भएको थियो ।
समारोहमा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुली र गुरुङ राष्ट्रिय परिषद कास्कीकी अध्यक्ष सीता गुरुङ सहभागी थिए । पच्यु गुरु चुनबहादुर गुरुङ लगायतले पनि शुभकामना दिए । उनीहरूले ल्होसारले आपसी सद्भाव र सहिष्णुता बढाउने विश्वास व्यक्त गरे । यसले राष्ट्रिय एकता सुदृढ गर्ने उनीहरूको भनाइ थियो । कार्यक्रमको अध्यक्षता मेजर रामप्रसाद गुरुङले गरेका थिए । सचिव राजु गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष मेघबहादुर गुरुङले धन्यवाद ज्ञापन गरे ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया