‘झ्व भ्वय’ १९ गते

समाधान संवाददाता २०८२ पुष १८ गते १४:३६

पोखरा ।
पोखरामा आगामी पुस १९ गते शनिबार नेवारी परम्परागत सामूहिक भोज ‘झ्व भ्वय’ को चौथो संस्करण हुने भएको छ । नेवाः मिसा पुचः कास्कीको आयोजनामा हुने यस सांस्कृतिक उत्सवबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने लक्ष्यका साथ पुचःले हरेक ३ वर्षमा यो कार्यक्रम गर्दै आएको छ ।

Advertisement

२०७२ सालदेखि सुरु भएको यो भोज बीचमा कोभिड–१९ महामारीका कारण केही समय रोकिए पनि तीन वर्षअघि तेस्रो संस्करण सम्पन्न भएको थियो । नेवारी संस्कृति, परम्परा र खानपानलाई युवा पुस्तामाझ परिचित गराउन यो कार्यक्रम प्रभावकारी हुने पुचःकी अध्यक्ष संगीता बज्राचार्यले बताइन् । उनले भनिन्, ‘परम्परागत प्रचलनलाई बचाउँदै नयाँ पुस्तालाई नेवारी फुड कल्चरमा अभ्यस्त गराउन हामीले यो प्रयास गरेका हौँ ।’


भीमसेनटोलस्थित नेवा छेँमा आयोजना हुने भोजमा नेवार र गैरनेवार गरी झण्डै १ हजार ५ सय जना सहभागी हुने अनुमान गरिएको छ । अध्यक्ष बज्राचार्यका अनुसार सहभागीलाई नेवारी संस्कार अनुसार लहरै राखेर वासा सगुनले स्वागत गरिनेछ । त्यसपछि सुख्खा खानेकुरा, ग्रेभी र झोलिलो परिकार हुँदै अन्त्यमा ‘चुसीफुसी’ खुवाएर बिदाइ गरिनेछ । पुसको चिसोमा यस्तो भोजको विशेष महत्कककव रहेको र यसले पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने उनले बताइन् ।

Advertisement


भोजको अवसरमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम समेत हुनेछ । कार्यक्रम संयोजक एवं उपाध्यक्ष शान्ति प्रधानांगका अनुसार भोज चलिरहँदा चर्चित गायिका निशा देशार लगायतका कलाकारले प्रस्तुति दिनेछन् । पत्रकार सम्मेलनमा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले यो कार्यक्रमले नेवारी भाषा र संस्कार जोगाउन टेवा पुग्ने र नयाँ पुस्ताका लागि सिक्ने थलो बन्ने बताए ।


भोजको मुख्य प्रायोजन फिस्टेल आइभिएफ फर्टिलिटी सेन्टर गैह्रापाटनले गरेको छ भने पोखरा महानगरपालिका वडा नम्बर ९ को कार्यालय विशेष सहयोगीका रूपमा रहेको महासचिव किरण बिजुक्छेले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया