कास्कीमा निर्वाचन समन्वय बैठकको निर्णय
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार बसेको राजनीतिक दलसँगको समन्वय बैठकले निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरेको हो । बैठकले पोखराका मुख्य व्यापारिक स्थलहरू चिप्लेढुङ्गा र महेन्द्रपुल लगायतका चोक तथा सडक अवरुद्ध हुने गरी कुनै पनि कार्यक्रम नगर्ने सहमति जुटाएको छ । व्यापार, व्यवसाय र यातायात व्यवस्थापनमा प्रतिकूल प्रभाव नपर्ने गरी उपयुक्त स्थानमा मात्र यस्ता कार्यक्रम सञ्चालन गर्न पाइने निर्णय बैठकले गरेको छ ।
बैठकले राजनीतिक दलबाट हुने जनप्रदर्शन र आमसभा लगायतका कार्यक्रम गर्दा सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने र गृह मन्त्रालयबाट प्राप्त परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयमा तोकिएको फारम भरी अग्रिम लिखित जानकारी गराउनुपर्ने नियम अनिवार्य गरेको छ ।
यस्तै, दलहरूले कार्यक्रम गर्दा आपसमा समन्वय गरी कार्यक्रमस्थल र समय नजुध्ने गरी व्यवस्था मिलाउनुपर्ने छ । जिल्लाभित्र आयोजना गरिने सभा, समारोह, प्रदर्शन, मेला, जात्रा, महोत्सव, कन्सर्ट, सांस्कृतिक कार्यक्रम र खेलकुदका लागि पनि स्थानीय तहको पूर्व स्वीकृति लिनुपर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिँदै सुरक्षा प्रबन्ध मिलाउने निर्णय भएको छ ।
निर्वाचनलाई भयरहित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि एकीकृत प्रतिनिधि सभा निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा भई कार्यान्वयनमा रहेको जानकारी बैठकमा दिइयो । निर्वाचनका बेला राजनीतिक दलका नेतृत्व, कार्यकर्ता, उम्मेदवार र मतदाताको सुरक्षाका लागि उक्त योजना ल्याइएको हो । प्रशासन र दलहरूबीच निर्वाचन सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग, समन्वय र सहजीकरण गर्ने सहमति समेत भयो । बैठकमा सहभागीहरूले निजी क्षेत्रका व्यापारिक संस्थाहरूको ध्यानाकर्षण र यातायात व्यवस्थापनलाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा अवरोध नगर्ने प्रतिबद्धता जनाए । बैठकमा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिले निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित र अनुशासित बनाउन प्रशासनलाई साथ दिने बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकमा पोखरा महानगरपालिकामा मेयर धनराज आचार्य, जिल्ला समन्वय समिति प्रमुख लीलाधर पाैडेल, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख र प्रतिनिधि सहभागी थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया