एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार

काठमाडौं । एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारका लागि सन् २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले सोही अवधिमा २,२०० वटा टावरमा क्षमता अभिवृद्धि गरेको छ, जसले गर्दा ग्राहकले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्च गतिको डेटा सेवा प्रयोग गर्न पाउने भएका छन् । सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावरहरू स्थापना गरिएको भए पनि विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित भएर यो सेवा विस्तार गरिएको जानकारी कम्पनीले पुस १८ गते दिएको छ ।
प्रदेशगत रूपमा एनसेलले कर्णालीको दैलेखस्थित सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानमा फोरजी सेवा पुर्याएको छ । सुदूरपश्चिमको डोटीस्थित लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोलमा पनि नयाँ टावरहरू स्थापना गरिएका छन् । यसैगरी मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भिमपुर र धनुषाको मुसहरनिया लगायत दर्जनौँ स्थानमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानीयहरू उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन् ।
मधेश प्रदेशमा मात्रै १०० भन्दा बढी टावर जडान, ९५ प्रतिशत जनसंख्यामा एनसेलको फोरजी पहुँच
नयाँ टावर सञ्चालनबाट लाभ लिने देशभरका हजारौँ ग्राहक मध्येकी एक जनकपुर उपमहानगरपालिका १७ मनहरपुरकी अनिशा मण्डलले अहिले घरभित्रै पनि राम्रो नेट टिप्ने अनुभव सुनाइन् । बिबिए अध्ययनरत उनले भनिन्, ‘मलाई पढ्न मोबाइल र नेटको धेरै आवश्यकता हुन्छ, कलेजको नोटिस अनलाइनमा हेर्न, नोटहरू एक्सचेन्ज गर्न र नबुझेको कुरा यूट्युब वा च्याटजीपीटीमा सिक्न नेट नभई हुन्न, विदेशमा रहेका दाइहरूसँग नियमित कुरा गर्न पनि सजिलो भएको छ ।’

कुल २५० नयाँ टावरमध्ये १९७ वटा टावर पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने ५३ वटा टावर स्टक र स्पेयर उपकरणको अधिकतम प्रयोग गरी सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएपछि एनसेलले नयाँ टावर स्थापनाको कामलाई तीव्रता दिएको हो । एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले देशभर थपिएका नयाँ टावर र क्षमता अभिवृद्धि गरिएका साइटले मोबाइल ब्रोडब्याण्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँचलाई अझ व्यापक बनाएको बताए । उनले भने, ‘यो सुधारले आधारभूत सञ्चार, व्यवसाय र अध्ययनमा ठूलो महत्व राख्दछ, गुणस्तरीय सेवा र उच्च गतिको डेटा केवल गति मात्र होइन, यो भरोसा, अवसर र डिजिटल दुनियाँमा पहुँचको विषय हो ।’
संख्याका हिसाबले सबैभन्दा धेरै मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावर स्थापना गरिएका छन् । त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावर थपिएका छन् । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू स्थापना भएका छन् । नयाँ उपकरणको आयातमा प्रतिबन्ध लागेको समयमा पनि कम्पनीले स्टक र स्पेयर उपकरण प्रयोग गरी ५३ वटा नयाँ टावर ठड्याएको थियो । जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको एनसेलले हाल ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । हाल यो सेवाले नेपालको कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी मानिसलाई समेटेको छ । आधुनिक प्रविधिमार्फत विश्वस्तरीय सेवा र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धता अनुसार नेटवर्क विस्तारको काम जारी रहने कम्पनीले जनाएको छ ।










कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया