विवादित पूर्वमन्त्री कुमार खड्का र एमाले नेता पुष्प अधिकारी रास्वपामा

समाधान संवाददाता २०८२ पुष १९ गते १३:३८

पोखरा। नयाँ र वैकल्पिक राजनीतिको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि स्थापित र विवादित अनुहारहरूलाई भित्र्याउने परम्परागत शैलीलाई पछ्याउन थालेको छ। शनिबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित एक कार्यक्रमका बीच पूर्वमन्त्री कुमार खड्का र नेकपा एमालेका नेता एवं व्यवसायी पुष्प अधिकारी रास्वपामा प्रवेश गरेका हुन्।

Advertisement

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूको उपस्थितिमा उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो। ‘नयाँ’ पार्टीमा ‘पुराना’ खेलाडीको प्रवेशले रास्वपाको शुद्धीकरण अभियानमाथि प्रश्न उठाएको छ।

कुमार खड्का पोखरेली राजनीतिमा सधैँ चर्चा र विवादको केन्द्रमा रहने पात्र हुन्। उनको राजनीतिक यात्रा अस्थिरता र सत्ताको वरिपरि घुमेको देखिन्छ । खड्काले ‘अखण्ड नेपाल’ नामक पार्टी खोलेर गण्डकी क्षेत्रमा राजनीति सुरु गरेका थिए। सोही पार्टीबाट उनी २०७० को संविधान सभामा समानुपातिक सभासद बनेका थिए।

Advertisement

संविधान सभामा रहँदा उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए। राजनीतिक भविष्य सुरक्षित गर्न उनले आफ्नो सिंगो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराए। कांग्रेसको कोटाबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बनेका खड्का, कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा ‘भौतिक पूर्वाधार मन्त्री’ समेत बने।

खड्कालाई पद र सत्ताका लागि जुनसुकै बेला पार्टी फेर्न सक्ने ‘चतुर’ नेताका रूपमा चिनिन्छ। कांग्रेसभित्र पनि पेलिएको महसुस गरेपछि उनी अहिले रास्वपाको छहारीमा पुगेका हुन्।

Advertisement

त्यस्तै, रास्वपा प्रवेश गरेका पुष्प अधिकारी नेकपा एमालेका स्थापित नेता हुन्। उनी चर्चित ‘रुपाकोट रिसोर्ट’का सञ्चालक समेत हुन्। अधिकारी एमाले छाडेर रास्वपामा लाग्नुलाई स्थानीय स्तरमा अर्थपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया