पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा

समाधान संवाददाता २०८२ पुष १९ गते १४:४०

पोखरा ।  गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, नेकपा एमालेका नेता एवं व्यवसायी पुष्प अधिकारी र व्यवसायी मिलन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

Advertisement

शनिबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित एक कार्यक्रममा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले लगायतका नेताहरूको उपस्थितिमा उनीहरूलाई मञ्चमै राखेर पार्टीमा स्वागत गरियो । पुराना र स्थापित दलहरूलाई गाली गर्दै नयाँ राजनीतिक संस्कारको दाबी गर्ने रास्वपाले सत्ताको स्वाद पाइसकेका र पटक-पटक पार्टी बदल्ने विवादित अनुहारलाई भित्र्याएपछि स्थानीय स्तर र सामाजिक सञ्जालमा भने यसको आलोचना सुरु भएको छ ।

रास्वपा छिरेका कुमार खड्का पद र अवसरका लागि बारम्बार पार्टी फेरिरहने चतुर नेताका रूपमा परिचित छन् । उनले सुरुमा संघीयताको विरोध गर्दै ‘अखण्ड नेपाल’ नामक पार्टी खोलेर राजनीति सुरु गरेका थिए । सोही पार्टीबाट २०७० को संविधान सभामा समानुपातिक सभासद बनेका उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री समेत बनेका थिए । पछि राजनीतिक भविष्य सुरक्षित गर्न उनले आफ्नो पार्टी नै नेपाली कांग्रेसमा विलय गराए ।

Advertisement

कांग्रेसको कोटाबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बनेका खड्का, कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा शक्तिशाली भौतिक पूर्वाधार मन्त्री बनेका थिए । मन्त्री हुँदा विभिन्न योजना र बजेट विनियोजनमा विवादमा परिरहने खड्का पछिल्लो समय कांग्रेसमा अवसर नपाएपछि नयाँ शक्तिको ओत लाग्न रास्वपा पुगेका हुन् ।

यसैगरी रास्वपा प्रवेश गरेका अर्का पात्र पुष्प अधिकारी नेकपा एमालेका स्थापित नेता हुन् । उनी चर्चित पर्यटकीय गन्तव्य रुपाकोट रिसोर्टका सञ्चालक समेत हुन् । लामो समय एमालेको राजनीतिमा सक्रिय रहेका अधिकारी व्यवसायीका रूपमा बढी चिनिन्छन् ।

पोखराकी व्यवसायी मिलन थापा पनि शनिबारै रास्वपामा प्रवेश गरिन् । अटो व्यवसायका साथै सामाजिक संघ संस्थामा क्रियाशील मिलन यसअघि नेपाली कांग्रेसमा थिइन् । उनी व्यवसायी ध्रुव थापाकी पत्नी र गण्डकीका मन्त्री बिन्दुकुमार थापाकी भाइ बुहारी हुन् । जेनजी आन्दोलनका क्रममा बिन्दु कुमार थापाको घर जलाउँदा आन्दोलनकारीले ध्रुव र मिलनको समेत घर जलाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया