मुख्य मन्त्रीकपः कास्कीको लगातार जित

समाधान संवाददाता २०७६ माघ १० गते १४:०८

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा मनाङविरुद्धको खेलमा कास्कीले गोलको वर्षा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीकोे संयोजनमा भएको प्रतियोगिता अन्तर्गत कास्कीले आफ्नो दोस्रो खेलमा समेत जित हात पारेको हो । कास्कीको आदर्श युवा क्लबले मनाङको डाँफे क्लबलाई ७–२ को फराकिलो गोल अन्तरले हराउँदै लिगमा दोस्रो जित निकालेको हो ।

कास्कीका सुलेमान थापामगर चम्किदा सहज जित हात पारेको हो । कास्कीको जितमा सुलेमान थापामगरले ४ गोल गरे । खेल सुरु भएको ८ औैं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका उनले खेलको ४८ औं मिनेटमा दोस्रो गोल गरे । ६३ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका थापामगरले ७४ औं मिनेटमा व्यक्तिगत चौंथो गोल गरेका हुन् । कास्कीका लागि अजय श्रेष्ठले खेलको १७ र ४१ औं मिनेटमा गोल गरे भने सुमीत श्रेष्ठले खेलको ६८ औं मिनेटमा गोल गरे ।

Advertisement

मनाङका लागि कर्ण गुरुङले ५५ औं मिनेटमा गोल गरे भने सिद्धार्थ गुरुङले खेलको ६० औं मिनेटमा गोल गरेका हुन् । कास्कीको २ उत्कृष्ट प्रहार सेकेन्ड बारमा लाग्दै रिवाउन्ड हुन पुगेको हो । निकै उत्कृष्ट प्रदर्शन गरेको कास्कीको आक्रमक रणनीति सामु मनाङ निरीह रह्यो । १ पछि अर्को अवसर निकालेको कास्कीले पहिलो हाफमै ३ गोलको अग्रता बनाएको हो ।

मनाङको अघि कास्की निकै बलियो देखियो । पहिलो हाफमा निकै दबाबमा राखेको कास्कीको गोल भने खेर गयो । दोस्रो हाफमा केही सुधारिएको खेल खेल्दै मनाङले २ गोल गरे पनि अग्रता घटाउन भने सकेन । कास्कीले यस अघि गोर्खाको प्रतिनिधित्व गरेको बौद्ध हिमालय क्लबलाई पनि ३–१ को गाले अन्तरले पाखा लगाएको थियो । मनाङको यो दोस्रो हार हो । मनाङ यस अघि लमजुङसँग २–१ गोलले हार व्यहोरेको हो । प्रतियोगिताको अर्को खेलमा म्याग्दीले नवलपुरको गैंडाकोट फुटबल संघलाई ३–१ गोलले हराएको छ । म्याग्दीको जितमा सन्तोष पुनले खेलको ४४ औं मिनेटमा गोल गरे । सागर गर्बुजाले खेलको ६७ आँै मिनेटमा गोल गरे भने विनम थापाले खेलको ७२ औं मिनेटमा गोल गरे । नवलपुरको लागि महेश तामाङले गोल गरे ।

Advertisement

अर्को खेलमा स्याङ्जाको होराइजन फुटबल क्लबले बागलुङ फुटबल संघलाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगायो । स्याङ्जाका लागि शरदकुमार क्षेत्रीले ह्याट्रिक गरे । क्षेत्रीले खेलको २० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले दोस्रो गोल खेलको २२ र अर्को गोल ३९ औं मिनेटमा गरे । धु्रव घिमिरेले खेलको ७९ आंै मिनेटमा गोल गरे । लिग अन्तर्गत शुक्रबार ३ खेल हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया