फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक

समाधान संवाददाता २०८२ पुष १९ गते १५:०६

पोखरा । पोखरा महानगरपालिकाका सबै ३३ वटा वडामा वातावरण संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ जीवनशैलीबारे जनचेतना जगाउन नाटक मञ्चन गरिने भएको छ। पोखरा थिएटरको आयोजनामा तयार पारिएको नाटक ‘मखी ताल’ आइतबारदेखि प्रदर्शन सुरु हुने भएको हो। नाटक पहिलो दिन महानगरका वडा नम्बर ३०, ३१ र ३२ मा देखाइने थिएटरले जनाएको छ।

Advertisement

नाटकले हास्यव्यङ्ग्यमार्फत दर्शकलाई वातावरण जोगाउने सन्देश प्रवाह गर्ने थिएटरका संस्थापक अध्यक्ष परिवर्तनले बताए। ‘तयारी करिब सकिएको छ, यो नाटक महानगरका सबै वडामा लैजाने योजना छ,’ परिवर्तनले भने। करिब ४० मिनेटको यो नाटकबाट दर्शकले मनोरञ्जनका साथै रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना (जिसिआरयु) परियोजनाबारे जानकारी पाउनेछन्।

‘मखी ताल’ को लेखन र निर्देशन परिवर्तनले नै गरेका छन्। नाटकमा परिवर्तनसहित रमेशबाबु तिमल्सिना, सुसन पौडेल, उमा पुन, धनकाजी श्रेष्ठ, उत्सर्ग सुवेदी, रञ्जु दाहाल, श्रद्धा आचार्य र श्रीकृष्ण भण्डारीले अभिनय गरेका छन्। नाटकमा प्रप्स तथा कस्टुम परिकल्पना विकास अधिकारीले गरेका हुन् भने कार्यक्रमको संयोजन प्रकाश रेग्मी हमालले सम्हालेका छन्।

Advertisement

नाटकको पोस्टर डिजाइन भानुभक्त सापकोटाले गरेका हुन् भने अभिलेखको जिम्मा अस्मिता गोदार र स्वयंसेवकको जिम्मा विनिता बयलकोटीले लिएकी छन्। देशकै ठुलो महानगर पोखराका लागि फोहोर व्यवस्थापन र वातावरण संरक्षण दुवै पक्ष चुनौतीपूर्ण रहेकाले नाटकले सकारात्मक सन्देश दिने विश्वास गरिएको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पुरानो ल्यान्डफिल्ड साइट बन्द भएको र नयाँ व्यवस्थापन अझै हुन नसकेको अवस्थामा नागरिकलाई सचेत बनाउन यो अभियान सुरु गरिएको हो।

Advertisement

तपाईको प्रतिक्रिया