विनोद गौचनको १२ औं स्मृति दिवस
गीत, गगल्स र विनोद गौचन

आँखामा लगाउनुपर्ने चस्मा प्रायः थाप्लोमा अड्याउँथे । कोट लगाउँदा बाहुला छिराउनुको साटो कुममाथि भिरेर हिँड्थे ।
पोखराको आकाशमा पुसको जाडो बतास चलिरहँदा, उत्तरमा टलक्क टल्कने माछापुच्छ्रे र अन्नपूर्ण हिमालका लर्कनहरूले सधैँझैँ एउटा मौन साक्षीको भूमिका खेलिरहेका छन् । फेवातालको पानीमा काँपिरहेको छाया र सेती नदीको सुसेलीमा एउटा गहिरो सन्नाटा मिसिएको आभास हुन्छ । क्यालेन्डरको पाना पल्टिँदै जाँदा जब पुस २० गतेको मिति नजिकिन्छ, मेरो मनको क्यानभासमा एउटा ‘स्टाइलिस’ र शालिन आकृति सजीव भएर उत्रिन्छ । ती आकृति हुन्, मेरा परम काव्यिक यात्री, अग्रज अभिभावक तर व्यवहारमा अनन्य मित्र विनोद गौचन ।
समयको नदीमा बगेर १२ वर्ष बितिसकेछन् । बाह्र वर्षअघि, २०७० सालको पुस २० गते, उनले यस धर्तीबाट सदाका लागि बिदा लिए पनि उनका सम्झनाका तरेलीहरू भने सेती नदीजस्तै अविरल बगिरहेका छन् ।उनी हामीमाझ भौतिक रूपमा नरहेको । तर, एउटा स्रष्टा कहिल्यै मर्दैन रहेछ । उनी आफ्ना शब्दहरूमा बाँच्छन्, आफ्ना धुनहरूमा सास फेर्छन् र आफ्ना सहयात्रीहरूको स्मृतिमा अमर रहन्छन् । आज उनै विनोद दाइको १२ औँ स्मृति दिवसको सन्दर्भमा मेरा आँखामा पुराना यात्राका रिलहरू कुनै चलचित्रझैँ घुमिरहेका छन् । जहाँ हामी कहिले धम्पुसको उकालो चढिरहेका छौँ, कहिले लुम्लेको झरीमा भिजेका छौँ, त कहिले पञ्चासेको लेकमा मातिएका छौँ ।
सम्बन्धको रसायनः ‘काका’ देखि ’भाइसाथी’ सम्म
विनोद गौचनसँग मेरो परिचयको अध्याय ४० को दशकको उत्तरार्धबाट सुरु भएको हो । पोखरेली युवा सांस्कृतिक परिवारको त्यो उर्वर समय, जहाँ कला, साहित्य र संगीतको त्रिवेणी बग्थ्यो, त्यहीँ हाम्रो भेटको संयोग जुर्यो । उनी अर्थशास्त्रमा स्नातकोत्तर (डिग्री) गरेका विद्वान, म भाषाविज्ञानको विद्यार्थी । शैक्षिक विधा फरक भए पनि हाम्रो मनको लय एउटै थियो, साहित्य । म मुक्तक, गीत, गजल, कविता र यात्रा संस्मरणहरू कोर्थें, उनी शब्दको साधनामा तल्लीन हुन्थे ।
नाता सम्बन्धको हिसाबले केलाउने हो भने उनी मेरा ‘काका’ पर्थे । उनका दाजु, समाजसेवी एवं बौद्धिक व्यक्तित्व विश्वमोहन गौचनलाई म आदरले ‘बुबा’ सम्बोधन गर्छु । तर, विनोद गौचनले त्यो नाताको औपचारिक पर्खाललाई कहिल्यै उभिन दिएनन् । उनी मेरा अग्रज थिए, तर व्यवहारमा समकालीन दौतरी । उनले मलाई सधैँ ‘भाइसाथी’ को दर्जा दिए । उनको घर मेरो दोस्रो घरजस्तै थियो, जहाँ मेरो आउजाउ बाक्लै हुन्थ्यो ।
हामीबीचको सम्बन्ध पिउनेपिलाउने, घुम्नेघुमाउने र सिर्जनाका विमर्श गर्ने कुरामा झाँगिएको थियो । उनी मलाई प्यारले ‘सुरेश’ भन्थे, र म उनलाई आदर र स्नेहले ’विनोद दाइ’ भन्थेँ । त्यो ‘दाइ’ सम्बोधनमा जति आत्मीयता थियो, सायद अरू कुनै सम्बोधनमा हुँदैनथ्यो ।
‘एफआईटी’ यात्री र स्टाइलिस व्यक्तित्व
विनोद दाइको व्यक्तित्व आफैँमा एउटा बिम्बजस्तो थियो । उनी आम पोखरेलीभन्दा अलि फरक, अलि विशेष थिए । उनी आफूलाई ‘एफआईटी’ अर्थात् स्वतन्त्र पदयात्री भन्न रुचाउँथे । उनको हुलिया पनि कम लोभलाग्दो थिएन । आँखामा लगाउनुपर्ने कालो चस्मा (गगल्स) उनी प्रायः निधारमाथि थाप्लोमा अड्याउँथे । ज्याकेट वा कोट लगाउँदा बाहुला छिराउनुको साटो, कुममाथि भिरेर हिँड्थे । यात्राका क्रममा हातमा एउटा लौरो हुन्थ्यो । मलाई तन्नेरी जोशमा लौरो टेक्न अल्छी लाग्थ्यो, ‘बोर’ लाग्थ्यो । तर उनी भन्थे, ‘सुरेश, यसले भर दिन्छ ।’ सायद, जीवनको उकालोओरालोमा उनी त्यस्तै एउटा भरपर्दो सहाराको खोजीमा थिए, वा त्यो लौरो उनको दार्शनिक अडानको प्रतीक थियो ।
त्यतिबेला अहिलेको जस्तो ‘मिनरल वाटर’ को चलन गाउँगाउँमा पुगेको थिएन । उनी आफ्नो कम्मरमा सधैँ पानी खाने ‘तुम्लेट’ भिरेर हिँड्थे । खानपानमा सौखिन, पहिरनमा सफाचट र विचारमा स्पष्ट विनोद दाइ एक ‘कुलीन’ स्रष्टा थिए । म आफूलाई सञ्चारकर्मी भन्थेँ, डायरी र कलम बोकेर हिँड्थेँ । तर उनी आफूलाई ‘शब्दकर्मी’ मान्थे । उनको एउटा गज्जबको बानी थियो, ‘मैले मनमनै लेखेको छु,’ उनी भन्थे । कोचेको अभिव्यञ्जनावाद यदि कसैको जीवनशैलीमा लागु हुन्थ्यो भने, त्यो विनोद दाइमै हुन्थ्यो । थोरै बोल्ने, तर गहकिलो बोल्ने; थोरै लेख्ने, तर कालजयी लेख्ने ।
धम्पुसको देउराली र २० वर्षको सन्नाटा
हाम्रा यात्राहरू केवल रमाइलोका लागि मात्र हुँदैनथे, ती यात्राहरू सिर्जनाका मुहान पनि थिए । २०५५ सालको एउटा स्मरण मलाई अझै ताजा छ । हामी कास्कीको सुन्दर पर्यटकीय गाउँ धम्पुस जाँदै थियौँ । फेदीबाट उकालो चढ्ने क्रममा देउरालीमा हामी सुस्तायौँ ।
त्यही देउरालीको चिसो हावा र हरियालीका बीच मैले उनलाई एउटा गम्भीर प्रश्न गरेँ‘ ‘दाइ, अरुण थापाले गाएको त्यो कालजयी गीत ‘जति माया लाए पनि, जति कसम खाए पनि…’ लेखेको २० वर्ष भइसक्यो । एउटा सर्जकले २० वर्षसम्म अर्को गीत किन नलेख्नुभएको ?’
मेरो प्रश्नमा विनोद दाइको अनुहारमा एउटा अनौठो भाव देखियो, थोरै डर, थोरै संकोच र धेरै इमानदारिता । उनले भने, ‘सुरेश, पहिलो गीत नै ‘सुपर हिट’ भयो यार । रेडियो नेपालको फरमाइस कार्यक्रममा हरेक दिन बज्न थाल्यो । मान्छेले विनोद गौचन भनेर त्यही गीतले चिने । अब अर्को गीत लेख्दा त्यो भन्दा कमसल होला कि, त्यो उचाइ छुन नसक्ला कि भन्ने भयले मलाई रोक्यो । म त्यही डरले लेख्दिनँ ।’
एउटा सफल स्रष्टाको यो कति ठूलो पीडा थियो ! सफलता नै कहिलेकाहीँ बाधक बनिदिँदो रहेछ । तर मैले प्रतिवाद गरेँ । मैले भनेँ, ‘दाइ, गीत त लेख्नैपर्छ । सधैँ एउटै गीतको ओत लागेर हुँदैन । हेर्नुस् त यो धम्पुस गाउँ ! यसले हामीलाई कतिपटक बास दिएको छ, सिर्जनाको सास दिएको छ, हाम्रा आँखामा सुन्दरता टाँसिदिएको छ । धम्पुस गाउँ पनि त गीतमा अटाउन सक्छ नि !’ मेरो त्यो करकाप र हौसलाले काम गर्यो या गरेन फेरि कहिल्यै कुरा भएन । केही वर्षपछि विनोद दाइको कलम चल्यो र अर्को कालजयी गीत जन्मियोः
‘कस्तो ठाउँमा फुल्यौ कान्छी टिप्नै गाह्रो भयो,
कस्तो ठाउँमा बस्यौ कान्छी भुल्नै गाह्रो भयो,
धम्पुस गाउँ त यसै राम्रो, गाउँभन्दा तिमी…’
दिलु गुरुङको स्वरमा रेकर्ड भएको यो गीतले पुनः एकपटक विनोद गौचनको सिर्जनशीलतालाई प्रमाणित गर्यो । उनले आफ्नो २० वर्ष पुरानो ‘लेखकीय भय’ लाई तोडेका थिए ।
पञ्चासेको मादकता र ‘तगारोमा रुमाल’
हाम्रो अर्को अविस्मरणीय यात्रा पञ्चासेको थियो । बालाचतुर्दशीको मेला लाग्ने समय थियो । विनोद दाइले प्रस्ताव राख्नुभयो, ‘सुरेश, जाने हो ?’ मैले नाइँनास्ति गर्ने कुरै थिएन, भनेँ, “ओके दाइ ! ह्वाइ नट’
पञ्चासेको त्यो यात्रामा हामी खुब मातियौँ, कहिले स्थानीय पेयको चुस्कीमा, त कहिले प्रकृतिको मादकतामा । पञ्चासेको लेक, आर्थर डाँडाखर्कको बास, जुग्ले, नागडाँडा हुँदै पोखरा फर्कँदा हामीले तीन दिन सँगै बितायौँ । यात्राको क्रममा उनी निकै कम बोले, तर मनमनै धेरै कुरा खेलाएछन् ।
पोखरा झरेपछि उनले मलाई एउटा गीतको स्थायी सुनाए । सुन्नेबित्तिकै मलाई लाग्यो, यो त गजब छ ! अब प्रश्न उठ्यो, स्वर कसको ? कसको घाँटीमा यो गीत फक्रन्छ ? हामीबीच मन्थन भयो । मैले सुरुमा नेपथ्यका अमृत गुरुङ र कन्दरा ब्यान्डका विवेक श्रेष्ठको नाम सिफारिस गरेँ । पछि विवेक श्रेष्ठको ‘फोकी’ शैलीको आवाज यसका लागि उपयुक्त ठहरियो । र गीत बन्योः
‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले,
त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले…’
यो गीत केवल गीत थिएन, यो गुरुङ संस्कृति र पश्चिमाञ्चलको ‘रोधी’ परम्पराको एउटा जीवन्त दस्तावेज थियो । पञ्चासेको जैविक विविधता र त्यहाँको सामाजिक रसलाई उनले शब्दमा यसरी उतारे कि, यो गीत हरेक तन्नेरीको ढुकढुकी बन्यो ।
उनका ‘ढुङ्गेसाँघुको मेलामा’ र ‘पोखरामा फूल फुल्दैन’ कविता सङ्ग्रहहरूले उनको कवित्वको उचाइ नाप्न पर्याप्त छन् । पोखरालाई उनी असाध्यै माया गर्थे, तर यहाँको बढ्दो विकृतिप्रति उनी व्यङ्ग्य पनि गर्थे । ‘पोखरामा फूल फुल्दैन’ भन्दै उनले यहाँको कृत्रिमता र ह्रास हुँदै गएको मानवीय मूल्यमाथि प्रहार गरेका थिए ।
झरीमा भिजेको लुम्ले र ‘कविता गाउँ’ को सपना
पोखरा र यसको आसपासको भूगोललाई विनोद दाइले जति माया गर्थे, सायद कमैले गर्लान् । कास्कीको लुम्ले गाउँलाई ‘कविता गाउँ’ को उपमा दिने र त्यसको परिकल्पना गर्ने श्रेय उनैलाई जान्छ । हामी चन्द्रकोटमा एक रात बास बसेका थियौँ । अर्को एक खेप अन्नपूर्ण गाउँपालिकाको चित्रे घुम्तीमा सञ्चारकर्मी मित्रहरू अमृत भादगाउँले, कृष्णमणि बराल, रुपनारायण ढकाल र चित्रेघुम्ती रेस्टुरेन्टका खुसीमान गुरुङसँगै थियौँ । त्यहीँ बसेर उनले लुम्लेलाई साहित्यिक तीर्थस्थल बनाउने सपना बुनेका थिए ।
लुम्लेलाई विधिवत् रूपमा ‘कविता गाउँ’ घोषणा गर्ने दिन नजिकियो । स्थानीय समाजसेवी भक्तिराम देवकोटा लगायतले हामीलाई निम्तो दिएका थिए । अघिल्लो दिन विनोद दाइले फोन गर्नुभयो, ‘सुरेश, भोलि लुम्ले जाने होइन त ?’ मैले सहमति जनाएँ । तर, भोलिपल्ट बिहानैदेखि आकाश नराम्ररी रिसायो । अविरल झरी दर्कियो । दाइले तोकिएको समयभन्दा अगाडि नै फोन गरेर चिन्ता व्यक्त गर्नुभयो, ‘पानी पर्यो सुरेश, यात्रा स्थगित गर्नुपर्छ कि ?’
त्यो क्षण मभित्रको घुमन्ते र जिद्दी स्वभाव जाग्यो । मैले दाइलाई आश्वस्त पार्दै भनेँ, ‘दाइ, पोखरा र लुम्ले भनेकै पानीका चरित्र बोकेका सहर हुन् । यहाँ पानी नपरे कहाँ पर्छ ? यो पानी मुस्ताङका थकाली गाउँमा परेको होइन । मान्छेले रेनकोट र बर्सादी किन बनाएका हुन् त ? स्थानीय आयोजक भक्तिराम देवकोटाहरूलाई धोका दिनुहुँदैन, हिँड्नुस् ।’
मैले थप एक जोर रेनकोटको जोहो गरेँ । एउटै मोटरसाइकलमा, म चालक र उनी पछाडि बसेर हामी त्यो मुसलधारे झरीलाई चिर्दै लुम्ले पुग्यौँ । बाटोभरि पानीका छिटाहरूले हाम्रो स्वागत गरिरहे । लुम्ले पुग्दा र फर्कदा हामी निथ्रुक्क भिजेका थियौँ, तर मन सिर्जनाको न्यानोले भरिएको थियो ।
फर्कदा पानी रोकिएको थियो, मौसम खुलेको थियो । बाटो काट्न सजिलो होस् भनेर मैले मोटरसाइकल चलाउँदै तनहुँतिर प्रचलित ‘कौरा’ गीत र स्याङ्जाको ‘रोइला’ भाकाहरू सुनाउन थालेँ । मेरो मर्दना स्वर सुनेर दाइ हाँस्नुभयो र भन्नुभयो, ‘सुरेश, गीत गाऊ न !’ मैले आफ्नो बाध्यता सुनाएँ, ‘दाइ, म गाएर खान सक्दिनँ, मेरा आफ्नै मजबुरी छन् ।’ उहाँ मेरो सास्ती बुझेर मुस्कुराउनुभयो । त्यो यात्रा र त्यो दिन, लुम्ले आज ‘कविता गाउँ’ को रूपमा नेपालमा मात्रै होइन, विश्वभर चिनिँदा मलाई विनोद दाइको त्यो दूरदर्शी परिकल्पनाको याद आउँछ ।
संरक्षण कविता आन्दोलन र सहयात्रा
विनोद दाइ केवल गीतकार मात्र थिएनन्, उनी एक सचेत कवि र अभियानकर्मी पनि थिए । जब सरुभक्त दाइले ‘संरक्षण कविता आन्दोलन’ को घोषणापत्र जारी गर्नुभयो, हामी दुवैजना त्यसको सक्रिय सिपाही भयौँ । प्रकृति, संस्कृति र मानव अस्तित्वको संरक्षणका लागि कविता लेखिनुपर्छ भन्ने त्यो आन्दोलनमा विनोद दाइको कलम सशक्त रूपमा चल्यो । हामी गाउँगाउँ पुग्यौँ, तत्स्थानीय कविता लेखन र वाचनमा सरिक भयौँ । उनको कवितामा माटोको सुगन्ध र प्रकृतिको चित्कार पाइन्थ्यो ।
एक अमर बिम्ब
विनोद गौचन, नाम मात्रै काफी छ । जातिले थकाली, भाषाले नेपाली, तर भावनाले विश्वजनीन । उनी एक यस्ता स्रष्टा थिए, जसले कहिल्यै चर्चाको पछि दौडनुपरेन । उनका सिर्जनाहरू नै उनका लागि बोल्थे ।
आज १२ वर्षपछि पनि, जब म कुनै यात्रामा निस्कन्छु, जब धम्पुसको उकालो वा पञ्चासेको भन्ज्याङ काट्छु, मलाई लाग्छ, विनोद दाइ त्यो ‘तुम्लेट’ भिरेर, गगल्स थाप्लोमा राखेर, कोट कुममा भिरेर लौरो टेक्दै मेरो अघिअघि हिँडिरहनुभएको छ ।
उनका गीतहरू– ‘जति माया लाए पनि’, ‘तगारोमा रुमाल राखी’, ‘कस्तो ठाउँमा फुल्यौ’ यी केवल गीत होइनन् यी त हाम्रा पहाड, हाम्रा गाउँ र हाम्रो प्रेमका दस्तावेज हुन् । उनको भौतिक शरीर हामीमाझ छैन, तर उनले कोरेका शब्दहरू र देखाएको बाटो हामीजस्ता कैयौँ यात्रीहरूका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ ।
धम्पुसको ‘हनिमुन’, लालीगुराँस र त्यो काव्यिक आशीर्वाद
जीवनका रंगीन पन्नाहरू पल्टाउँदै जाँदा एउटा विशेष स्मृति आँखामा टाँसिन आइपुग्छ । सरुसँग लगनगाँठो कसिएपछिको त्यो पहिलो उमङ्ग अर्थात् हाम्रो ‘सर्ट हनिमुन ट्रिप’ । गन्तव्य थियो, प्रकृतिको काख, धम्पुस । संयोग पनि कस्तो गज्जब, त्यतिबेला धम्पुसमा ‘लालीगुराँस महोत्सव’ को रौनक छाएको थियो । वनपाखाहरू राताम्मै थिए, ठीक हाम्रो नयाँ जीवनको रङजस्तै ।
तर, त्यो यात्रालाई अविस्मरणीय बनाउने अर्को दुर्लभ संयोग जुर्यो, विनोद दाइसँगको भेट । हामी जुन होटलमा बास बसेका थियौँ, दाइ पनि त्यहीँ हुनुहुँदो रहेछ । बिहानको ‘ब्रेकफास्ट’ समयमा जब दाइसँग जम्काभेट भयो, उनको मुहारमा देखिएको चमक कुनै अभिभावकको भन्दा कम थिएन ।
दाइले हामीलाई देख्नेबित्तिकै लालीगुराँसको माला हामी दुवैको गलामा सजाइ दिए । त्यो केवल फूलको माला थिएन, उनको निस्छल आशीर्वादको भार थियो । लगत्तै, उनले आफ्नो दुई थान अमूल्य कोसेली निकाले, आफ्नै सिर्जना ‘ढुंगेसाँघुको मेलामा’ र ‘पोखरामा फूल फुल्दैन’। ती काव्यिक कृतिहरू सरुको हातमा थमाउँदै उनले बडो गम्भीर र स्नेहिल स्वरमा भने, ‘ सरु, तिमीहरूको यो मायालु जोडी सदासदा, यही गुराँसजस्तै सुन्दर रहिरहोस्, फूलीरहोस् ।’
‘पोखरामा फूल फुल्दैन’ भनेर कविता लेख्ने मान्छेले हाम्रो वैवाहिक जीवनको फूल सधैँ फक्रिरहोस् भन्ने आशीर्वाद दिँदा सरु एकछिन भावुक र गम्भीर बनिन् । दाइले देखाएको त्यो अगाध स्नेह र मायाले हामी दुवैजना लचप्पै भिज्यौँ, बाहिरको शीतले होइन, उनको भित्री हृदयको न्यानोले । २० वर्षपछि पनि दाइले दिएका ती किताबहरू हाम्रो घरमा सुरक्षित छन्, र उनको त्यो आशीर्वाद हाम्रो जीवनमा । हरेक वसन्तमा जब पाखाहरुमा लालीगुराँस फुल्छन्, मलाई त्यो धम्पुसको बिहानी र विनोद दाइको त्यो ‘काव्यिक आशीर्वाद’ को यादले नराम्ररी चिमोट्छ ।
भाइको सपना बोकेर हिँडेका विश्वमोहन र लुम्लेको अविचलित प्रेम
विनोद गौचनको भौतिक चोला उठे पनि उनका सपनाहरू अनाथ भएनन् । एउटा सर्जकको अन्त्यसँगै उसका सिर्जनात्मक योजनाहरु पनि मरेर जान्छन् भन्ने आम बुझाइलाई विनोद दाइका अग्रज, आदरणीय दाजु विश्वमोहन गौचनले गलत सावित गरिदिएका छन् । उमेरले बुढ्यौलीको नेटो काटिसक्दा पनि विश्वमोहन ‘बुबा’ (मैले आदरले गर्ने सम्बोधन) भित्रको जोस र जाँगर कुनै तन्नेरीको भन्दा कम छैन । आफ्नो भाइ केवल पारिवारिक सदस्य मात्र नभएर राष्ट्रकै सम्पत्ति हो भन्ने बोध उनमा हुनु जति गहिरो छ, त्यसले नै आज विनोदका सपनाहरूले मूर्त रूप लिइरहेका छन् ।
भाइले परिकल्पना गरेको ‘लुम्ले कविता गाउँ’ लाई एउटा संस्थागत स्वरूप दिन विश्वमोहन गौचनले गरेको दौडधूप, आर्थिक तथा नैतिक लगानी र निरन्तरको खबरदारी एउटा उदाहरणीय नजीर बनेको छ । भाइको स्मृतिलाई ढुङ्गाको सालिकमा मात्र सीमित नराखी, त्यहाँको माटो, संस्कृति र साहित्यसँग जोड्न उनले देखाएको सत्प्रयासले ‘दाजु हुनु त विश्वमोहन जस्तो’ भन्ने भनाइलाई चरितार्थ गरेको छ । उनको त्यो वात्सल्य र समर्पण देख्दा लाग्छ, विनोद दाइ कतै टाढा हुनुहुन्न, दाजुको छाया बनेर यहीँ कतै मुस्कुराइ रहेका छन् ।
यो सत्कर्मको अर्को बलियो खम्बा हो, अन्नपूर्ण गाउँपालिका र विशेषतः लुम्लेबासी । जसरी झरीमा रुझ्दै लुम्ले पुग्दा हामीलाई न्यानो आतिथ्य मिलेको थियो, आज विनोद दाइ नहुँदा पनि त्यो आत्मीयतामा कुनै कमी आएको छैन । यसको श्रेय जान्छ, लुम्लेका सामाजिक व्यक्तित्व एवं मेरा अग्रज भक्तिराम देवकोटालाई । जुन दिन विनोद दाइले ‘यो गाउँ कविता हो’ भन्नुभयो, त्यस दिनदेखि भक्तिराम देवकोटाले विनोद गौचनलाई लुम्लेको आफ्नै सन्तानका रूपमा ग्रहण गरे ।
भक्तिराम देवकोटा र लुम्लेबासीको सक्रियतामा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख र जनप्रतिनिधिहरूको उदार मनले गर्दा आज लुम्लेमा ‘विनोद गौचन स्मृति पार्क’ र उनको प्रतिमा ठडिएको छ । स्थानीय सरकारले कला र साहित्यलाई यसरी अपनत्व लिनु आफैँमा सह्रानीय कार्य हो । पोखराको एउटा कुनामा जन्मेका विनोदलाई सिङ्गो गाउँपालिकाले आफ्नो गौरव मान्नु र हरेक वर्ष उनको स्मृतिमा जुट्नुले एउटा सर्जक कहिल्यै मर्दैन भन्ने सन्देश दिएको छ ।
कालीगण्डकीको शालिग्राम शिलाबाट कुँदिएको त्यो प्रतिमाले लुम्लेको डाँडाबाट हरेक दिन प्रकृतिलाई हेरिरहँदा, मलाई लाग्छ, विनोद दाइको आत्माले शान्ति पाएको छ । दाजु विश्वमोहनको अथक प्रयास, भक्तिराम देवकोटाको अनवरत खटन र लुम्लेबासीको निस्वार्थ प्रेमले विनोद गौचनलाई मृत्युञ्जयी बनाएको छ । यी सारथिहरूप्रति नमन नगरी यो आलेख र मेरो स्मृति अपुरो नै रहनेछ । साँच्चै, विनोद दाइ भाग्यमानी हुन्, जसले विश्वमोहन जस्तो दाजु र लुम्ले जस्तो प्रेमिल गाउँ पाए ।
विनोद दाइ, तपाइँ जहाँ हुनुहुन्छ, पक्कै पनि त्यहाँको कुनै सुन्दर बगैँचामा अर्को कुनै कालजयी गीत ‘मनमनै’ लेखिरहनुभएको होला क्रोचेले जस्तै । तपाइँको त्यो शालिनता, त्यो मैत्रीभाव र त्यो अभिभावकत्वको ऋणी म सधैँ रहिरहनेछु । स्मृतिमा हार्दिक नमन, मेरा प्रिय विनोद दाइ !

(९८५६०—२५७१२/suresh.ranabhat@gmail.com )









लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
कांग्रेसको संस्थापनइतर पक्षद्वारा पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया