प्रगतिशील कविगोष्ठी

समाधान संवाददाता २०८२ पुष २० गते १२:३७

पोखरा । प्रगतिशील लेखक संघ, गण्डकी प्रदेशले शनिवार पोखरामा गण्डकी प्रदेशस्तरीय कविगोष्ठी गरेको छ । प्रलेस गण्डकी अध्यक्ष प्राडा यदुनन्दन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ८ कविले प्रगतिशील कविता प्रस्तुत गरेका थिए ।

Advertisement


लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले कविता प्रस्तुत गरेका हुन् । वाचित कविताको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य बलियो बन्दै गएको बताए ।


वाचित कविताले उठाएका विचारले नेपाली समाजको प्रतिनिधित्व मात्र नभई वर्तमानमा देखिएको परिवर्तनको आकांक्षालाई पनि मुखरित गरेको भन्दै प्रगतिशील कविताको स्कुलिङलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।

Advertisement


कार्यक्रममा प्रलेस गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविताले मानवीय जीवनलाई छुनुपर्नेमा जोड दिए । प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने भन्दै अधिकारीले गण्डकी प्रदेशका नवपुस्तका कविहरूको स्वर आशालाग्दो देखिएको धारणा राखे ।


प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले आफूले के लेख्दै छु, किन र कसका लागि लेख्दै छु भन्ने कुरामा सचेत भएर लेखनमा लाग्नुपर्ने भनाइ राखे ।

Advertisement


गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको अनुभव सुनाइन् । सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष निर्मल सापकोटाले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया