कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान

पोखरा । कास्कीको लुम्लेमा ‘कवितागाउँ’ का परिकल्पनाकार कवि एवं गीतकार विनोद गौचनको अर्धकदको सालिक अनावरण गरिएको छ। गौचनको १२औं स्मृति दिवसको अवसरमा आइतबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले कवितापार्कमा सालिक अनावरण गरेका हुन्।
सालिक अनावरण गर्दै अध्यक्ष केसीले गौचनले लुम्लेलाई चिनाउन खेलेको भूमिकाको प्रशंसा गरे। ‘कतिपयको मरण हल्का हुन्छ तर विनोद गौचनको देहान्त देशकै लागि अपूरणीय क्षति हो,’ केसीले भने, ‘उहाँको प्रेरणाले यहाँका लुकेका प्रतिभा प्रस्फुटनमा योगदान पुगेको छ।’ उनले कवितापार्कका अधुरा काम पूरा गर्न गाउँपालिका तयार रहेको प्रतिबद्धता जनाए।
गौचनकै पहलमा २०६५ चैत १५ मा लुम्लेलाई ‘कवितागाउँ’ घोषणा गरिएको थियो। विसं २०१२ जेठ १३ मा जन्मिएका गौचनको ५८ वर्षको उमेरमा निधन भएको थियो। उनले २३ वर्षको उमेरमै लेखएको ‘जति माया लाए पनि’ गीतले गायक अरुण थापासँगै उनको पनि बेग्लै पहिचान बनाएको थियो। गौचनका ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फुल्यौ तिमी टिप्नै गाह्रो भो’, ‘चोली फाटे पनि तिम्रो जोवन फाट्या छैन’ जस्ता गीत कालजयी मानिन्छन्।

कार्यक्रममा संगीतकार सुनिल थापाले गौचनका सिर्जना सरल, मिठासपूर्ण र माटोलाई माया गर्ने खालका रहेको बताए। गौचनका आधा दर्जन गीतमा संगीत भरेका थापाले भने, ‘उहाँका कतिपय रचना अझै पाण्डुलिपिमै सीमित रहनु दुःखद हो। गीतकार र रचनाकारलाई ओझेलमा पार्ने प्रवृत्ति हट्नुपर्छ।’ साहित्यकार उषा शेरचनले गौचनलाई अन्तर्मुखी तर व्यावहारिक स्रष्टाका रूपमा स्मरण गरिन्।
स्रष्टा र पत्रकार सम्मानित
स्मृति दिवसका अवसरमा कवितागाउँको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा तत्कालीन लेखा व्यवस्थापन समिति संयोजक पूर्णप्रसाद देवकोटा, तदर्थ तथा संस्थापक अध्यक्ष भक्तिराम देवकोटा, पूर्वअध्यक्ष चूडामणि देवकोटा नेतृत्वको समिति रहेका छन्।
यस्तै, संगीतकार सुनिल थापा, समाजसेवी खुसीमान गुरुङ तथा पत्रकारहरू अमृत भादगाउँले, रुपनारायण ढकाल, कृष्णमणि बराल र श्रीभद्र पौडेललाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
कवितागाउँका संरक्षक एवं विनोदका दाजु विश्वमोहन गौचनले लुम्लेले सच्चा अर्थमा स्रष्टाको सम्मान गरेको बताए। कवितागाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले लुम्लेलाई साहित्यिक एवं पर्यटकीय गन्तव्य बनाउन पार्क, बहुउद्देश्यीय भवन र पुस्तकालय बनाउने योजना रहेको सुनाए। ‘सहरमै घर भए पनि गाउँमा रम्ने गौचनको सपना पूरा गर्न लुम्लेलाई एकपटक पुग्नैपर्ने गन्तव्य बनाउन चाहन्छौँ,’ उनले भने।
असफल गौतमले गौचनको २०६३ मा प्रकाशित कृति ‘पोखरामा फूल फुल्दैन’ लाई सहरिया जीवनप्रति व्यंग्य गरिएको विम्बात्मक अभिव्यक्तिका रूपमा चर्चा गरे। कार्यक्रममा आयन देवकोटा, रामविवश विक, धनबहादुर नेपाली, विवेक देवकोटा लगायतले कविता वाचन गरेका थिए भने गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङले नृत्य प्रस्तुत गरेका थिए।









एमालेबाट सम्झना देवकोटा राष्ट्रिय सभा उम्मेदवार
राष्ट्रिय सभा निर्वाचन : नेकपा गण्डकीबाट कपिल लामा
पोखराका पर्यटकीय ठाउँका बारेमा ‘क्युआर कोड’बाट जानकारी
विदेशबाट फर्केर च्यांग्रापालन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया