२ सरकारी कार्यालयको एकीकृत सेवा

प्रदेशको खर्चमा मितव्ययिता अपनाउने उद्देश्य

समाधान संवाददाता २०८२ पुष २१ गते १२:१७

जोमसोम । मुस्ताङस्थित पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय आइतबारदेखि गाभिएका छन् । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार यी दुई कार्यालय मर्ज भई ‘एकीकृत सेवा कार्यालय’ का रूपमा सेवा प्रवाह सुरु भएको हो ।
गण्डकी प्रदेश सरकारले गत साउनमा एउटै प्रकृतिका सेवा दिने कार्यालयलाई गाभेर एकीकृत सेवा दिने तथा प्रदेशको खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले विभिन्न निर्णय गरेको थियो । सोही क्रममा प्रदेशका ७ वटा निर्देशनालय खारेज गर्दै ११ वटा जिल्लाका ३२ वटा कार्यालयलाई घटाएर १७ वटामा सीमित गर्ने निर्णय गरिएको थियो ।

Advertisement


उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको सामाजिक विकास कार्यालय मर्ज भई सेवा सञ्चालन सुरु गरिएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिए । यसअघि सामाजिक विकास कार्यालय शिक्षा विकास तथा समन्वय इकाइको भवनबाट र पर्यटन तथा उद्योग कार्यालय आफ्नै भवनबाट सञ्चालित थिए । दुवै कार्यालय मर्ज भएपछि अब पुरानो पर्यटन तथा उद्योग कार्यालय रहेकै स्थानबाट एकीकृत सेवा कार्यालयले सेवा दिने गरी व्यवस्था मिलाइएको छ ।


प्रदेश मन्त्रिपरिषद्को मंसिर २६ गतेको निर्णयअनुसार यी कार्यालय अनौपचारिक रूपमा एक भइसकेका थिए । मुस्ताङमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पनि प्रदेश सरकारको निर्णयअनुसार मर्ज भएर ‘कृषि तथा पशु विकास कार्यालय’ का रूपमा सञ्चालनमा आइसकेका छन् ।

Advertisement


दुई कार्यालय मर्ज भएर एकीकृत सेवा कार्यालय स्थापना गरिएपछि आयोजित औपचारिक कार्यक्रममा मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले नयाँ कार्यालयको सफलताको कामना गरिन् । उनले भनिन्, ‘दुई कार्यालय गाभिएपछिको एकीकृत सेवा कार्यालयले आफ्नो कार्यसम्पादनलाई चुस्त, भरपर्दो र पारदर्शी तुल्याउनुपर्छ ।’


कार्यालय प्रमुख दर्जीले नयाँ कार्यालयका लागि प्रदेशले १० जनाको दरबन्दी सिर्जना गरेको जानकारी दिए । उनका अनुसार हाल कार्यालयमा १ जना स्थायी र ४ जना करार सेवाका गरी ५ जना कर्मचारी कार्यरत छन् । दुई कार्यालय मर्ज भएपछि बसेको पहिलो बैठकले सेवालाई प्रभावकारी बनाउन विभिन्न १० बुँदे निर्णयसमेत गरेको छ । यसअघि सामाजिक विकास कार्यालयले लक्षित वर्गका लागि सेवा प्रवाह गर्दै आएको थियो भने पर्यटन तथा उद्योग कार्यालयले उद्योग दर्ता, नवीकरण तथा पर्यटन प्रवद्र्धनात्मक काम गर्दै आएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया