‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत

समाधान संवाददाता २०८२ पुष २१ गते १२:५०

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनलाई विस्तार गर्दै आइतबार ३३ जना नयाँ केन्द्रीय सदस्य थप गरेको छ । यस विस्तारमा पोखराका स्थापित युवा लेखक तथा सामाजिक अभियन्ता खड्कराज पौडेल (गनेस पौडेल) पनि समेटिएका छन् ।

Advertisement

काठमाडौँ महानगरका मेयर बालेन शाहको नेतृत्वमा रहेको ‘बालेन टिम’ र विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट आएका व्यक्तित्वहरूलाई समेट्दै रास्वपाले केन्द्रीय समिति विस्तार गर्दा पौडेल ‘बालेन टिम’ को कोटाबाट केन्द्रीय नेतृत्वमा पुगेका हुन् । पोखरामा वैकल्पिक राजनीतिको वकालत गर्दै आएका पौडेलको यो इन्ट्रीलाई रास्वपाले गण्डकी प्रदेशमा आफ्नो संगठन बलियो बनाउने रणनीतिका रूपमा हेरिएको छ ।


गनेस पौडेल तिनै व्यक्ति हुन्, जसले पोखरामा दलीय सिन्डिकेट र बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गरेका थिए । यही अभियानको जगमा उभिएर उनले २०७९ सालको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । काठमाडौँमा बालेन शाहले लौरो चिन्ह लिएर प्रतिस्पर्धा गरिरहँदा पोखरामा पौडेलले पनि लौरो चिन्हबाटै प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा ठूला दलका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दै उनले ३ हजार ३० मत प्राप्त गरेका थिए । यद्यपि उक्त चुनावमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका थिए ।

Advertisement


रास्वपाको यो केन्द्रीय समिति विस्तारमा सबैभन्दा ठूलो सरप्राइज काठमाडौँका मेयर बालेन शाह स्वयंको नाम समावेश हुनु हो । बालेन शाह ‘वरिष्ठ नेता’ का रूपमा र उनी निकट मानिने इन्जिनियर सुनिल लम्साल महामन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी रास्वपामा जोडिएका छन् । बालेनको टिमबाट रास्वपा केन्द्रीय सदस्य बन्नेहरूमा गनेस पौडेलसहित सुनिल लम्साल, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, भूपदेव शाह, प्रदीप ज्ञवाली, सस्मित पोखरेल, जेम्स कार्की, सागर ढकाल, मधुसूदन ढकाल, लक्ष्मण थारु, ओजस्वी थापा, रमेश पौडेल, केपी खनाल, खगेन्द्र सुनार, आदित्य आचार्य, प्रदीप पाण्डे, सन्तोष गिरी, खेमराज साउद, डा. नमिता यादव, लक्ष्मी बर्देवा, सरिता ज्ञवाली, शिव यादव, सुशान्त वैदिक र रोहन कार्की छन् ।


त्यसैगरी, विवेकशील साझा पार्टीको नेतृत्व पङ्क्ति पनि यसपटक रास्वपामा विधिवत् रूपमा समाहित भएको छ । विवेकशील साझाबाट रास्वपाको केन्द्रीय सदस्य बन्नेहरूमा पूर्व अध्यक्ष समीक्षा बास्कोटा, रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान र धनेज थापा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया