३ जनालाई आमाको नामबाट नागरिकता

समाधान संवाददाता २०८२ पुष २२ गते ११:२७

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले एकैसाथ ३ जनालाई आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ की बासिन्दा निरुता नेपालीका २ छोरा सुजन र दिनेश र १ छोरी सुस्मितालाई आइतबार नागरिकता प्रदान गरिएको हो ।

Advertisement


अन्नपूर्ण गाउँपालिकामा गएको मंसिर १२ गते सञ्चालित स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रियामा निरुता नेपालीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष हालसम्म सन्तानको जन्मदर्ता प्रमाणपत्र नपाएको गुनासो गरेकी थिइन् ।


नेपालीको गुनासोपछि सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा तीनै जनाको जन्मदर्ता गराई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

Advertisement


निरुता नेपालीका श्रीमान् छोराछोरी र श्रीमतीलाई छाडी सम्पर्कविहीन भएपछि बाबुको पहिचान हुने कुनै कागजात र प्रमाण पेश हुन नसक्दा नागरिकता प्राप्तिमा समस्या भएको थियो । बुझ्नुपर्ने प्रमाण र तथ्य बुझी तीनै जनालाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया