
जोमसोम । मुस्ताङको जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी इकाइ छन् । तीमध्ये १० प्रहरी इकाई कार्यालयको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँस्थित प्रहरी इकाई हालसम्म पनि विभिन्न व्यक्ति तथा संघ, संस्थाको भवनमा आश्रय लिइरहेका छन् । यहाँ जिल्ला मुस्ताङ प्रहरी कार्यालय मातहतको प्रहरी इकाईहरुको आफ्नै भवन संरचना नहुँदा यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीलाई विभिन्न प्रकारका समस्या र चुनौती भोग्नुपर्ने बाध्यता रही आएको छ ।
भौगोलिक विकटता कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद मुस्ताङका प्रहरी इकाईले वर्षौंवर्ष पुरानो परम्परागत ढुङ्गा र माटोले बनेको कच्ची भवनमा कार्यसम्पादन गर्नुपर्ने अवस्था छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार यहाँका १९ प्रहरी इकाईमध्ये चार इकाई कार्यालय विभिन्न व्यक्तिको घरमा भाडामा छन् ।
प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार यहाँको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीस्थित प्रहरी चौकी कागबेनी, थासाङ २ कोवाङस्थित प्रहरी चौकी कोवाङ, घरपझोङ ४ जोमसोम पर्यटक प्रहरी (जोमसोम) र घरपझोङ ३ एक्लेभट्टी जिल्ला ट्राफिक कार्यालय विभिन्न व्यक्तिको घर भाडामा लिएर बसेका छन् ।
यहाँका भाडाका भवनमा बसेका यी प्रहरी इकाईको कार्यालयको खर्चको लागि जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी गर्ने गरिएको छ । मुस्ताङ प्रहरीका १९ प्रहरी इकाईमध्ये ६ प्रहरी इकाई विभिन्न संघ, संस्थाको स्वामित्वमा रहेको भवनमा बस्दै आएका छन् । यहाँ माथिल्लो मुस्ताङको नेपाल—चीन सिमाना नजिकै रहेको प्रहरी चौकी छोसेर लोमान्थाङ २ छोसेर न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको भवनमा बस्दै आएको छ । सीमा नाका र भन्सार कार्यालयको सुरक्षाका लागि खटिएको प्रहरी चौकी छोसेर वर्षांैवर्षदेखि भन्सारको भवनमा आश्रय लिएर बसेको हो ।
यद्दपि त्यहाँ प्रहरी इकाईका लागि नेपाल सरकारबाट १३ रोपनी जग्गा प्राप्ति भइसकेको लामो समय वितिसक्दा पनि प्रहरी इकाईको आफ्नै भवन संरचना बन्न सकेको छैन । माथिल्लो मुस्ताङको लोमान्थाङ २ स्थित छोन्हुप प्रहरी चौकी पनि सङ्घीयता अघिको पुरानो गाविस भवनमा ओत लाग्न बाध्य छ । स्थानीयको शान्ति, सुरक्षाका लागि खटिएका त्यहाँ कार्यरत प्रहरी इकाईका सुरक्षाकर्मीलाई जीर्ण भवनमा बसेर काम गर्नुपर्दाको समस्या र चुनौती बेग्लै छ ।
मुस्ताङका १९ प्रहरी इकाइमध्ये १० भाडाका घरमा छन् । भौगोलिक विकटता र थोरै जनशक्तिले काम गर्नु परेको छ ।
माथिल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिका ५ स्थित सुर्खाङ प्रहरीचौकी त्यहाँको ढी प्राथमिक विद्यालयको भवनमा बस्दै आएको छ । सोही पालिकाको लोघेकर २ स्थित घमी प्रहरी चौकीे एक्यापको भवनमा बस्दै आएको छ भने लोघेकर दामोदरकुण्ड १ स्थित चराङ प्रहरीचौकी सकारी विद्यालयको भवनमा बस्दैआएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यहाँको वारागुङ मुक्तिक्षेत्र ३ छुसाङस्थित इलाका प्रहरी कार्यालय छुसाङ आमा समूहको भवनमा बस्दै आएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । मुस्ताङ प्रहरी मातहतका १९ वटा प्रहरी इकाईमध्ये चार वटा प्रहरी इकाईमध्ये इलाका प्रहरी कार्यालय छुसाङमात्रै संस्थाको भवनमा बसेको हो । अन्य तीन इलाका प्रहरी कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ ।
यहाँ स्थित मुस्ताङ प्रहरीका १९ वटा इकाईमध्ये जिल्ला प्रहरी कार्यालय मुस्ताङ, इलाका प्रहरी कार्यालय लोमान्थाङ, इलाका प्रहरी कार्यालय मुक्तिनाथ र इलाका प्रहरी कार्यालय लेतेको आफ्नै भवनबाट प्रहरी कार्यसम्पादन भइरहेको छ । प्रहरी इकाईमध्ये प्रहरी चौकी अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घाँसामा प्रहरी चौकीको पनि आफ्नै भवन बनेर प्रहरी कार्यसम्पादन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
संघीयता अघि मुस्ताङका अधिकांश प्रहरी इकाईहरु सङ्घ संस्थाको भवन र भाडाको घरमा बस्दै आएका थिए । संघीयतापछि पछिल्लो पाँच वर्षको अवधिमा इलाका प्रहरी कार्यालय लोमान्थाङ, इलाका प्रहरी कार्यालय मुक्तिनाथ, प्रहरीचौकी घाँसाको जग्गा प्राप्त गरी आफ्नै भवन संरचना बनेको हो ।
संघीयता अघि जिल्ला प्रहरी कार्यालय मुस्ताङको भवन पनि परम्परागत शैलीमा बनेको पुरानो भवनबाट कार्यसम्पादन हुने गरेको थियो । यहाँ जिल्ला प्रहरी कार्यालयको भवन २०७४ पछि संघीय र प्रादेशिक सरकारको सहयोगमा पक्की भवन बनेको हो ।
मुस्ताङ प्रहरी अन्तर्गत चार वटा प्रहरी इकाई पनि सम्बन्धित कार्यालयको भवनमा बस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यहाँ जिल्ला अदालत, जोमसोम विमानस्थल, कारागार शाखा र प्रमुख जिल्ला अधिकारीको सुरक्षार्थ खटिएका प्रहरी इकाई सोही स्थानमा बस्ने गरेका छन् । जिल्लामा प्रहरीको ३१३ जनाको दरबन्दी छ । हाल जिल्ला प्रहरी कार्यालय मातहत २ सय १४ जना प्रहरी सुरक्षाकर्मी कार्यरत रहेको प्रनाउ लामाले जानकारी दिए ।
भौगोलिक रुपले विकट मुस्ताङका दूरदराजका प्रहरी इकाईका सुरक्षाकर्मीलाई स्थानीय भाषाको ज्ञान नहुँदा समुदायमा रहेर काम गर्न अप्ठेरो पर्ने गरेको छ । हिउँद याममा यहाँका अधिकांश स्थानीयवासी जाडो छल्न बेँसी झर्ने प्रचलनले गर्दा त्यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीले मानवविहीन रित्ता घरको सुरक्षा गरी बस्नुपर्ने बाध्यता छ ।
प्रतिकूल मौसम र हिमपातको जोखिम हुने भए पनि विषम अवस्थामासमेत त्यहाँका प्रहरी सुरक्षाकर्मीले कष्ठकर रुपमा गाउँको सुरक्षामा खटिनुपर्ने अवस्था छ । मुस्ताङमा जिल्ला प्रहरी कार्यालयलाई चारपाङग्रे सवारी साधन उपलब्ध भए पनि यहाँका अधिकांश प्रहरी इकाई कार्यालयलाई २ पाङ्ग्रे सवारी साधनमा सीमित रहँदा एक ठाउँबाट अर्को ठाउँमा आउँजाउँ गर्दा हावाहुरी, धुलो र चिसोले स्वास्थ्य समस्या निम्त्याउने गरेको पाइएको छ ।
यहाँको अतिनै विकट लोघेकर ५ स्थित सुर्खा प्रहरी चौकीमा एक थान मोटरसाइकल पनि नहुँदा त्यहाँका सुरक्षाकर्मी घण्टौं पैदल हिँडेर नागरिकको सेवामा खटिनुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यहाँ दुर्गम स्थानमा कार्यरत प्रहरी सुरक्षाकर्मीलाई उपलब्ध सीमित राशनबाट जीवन चलाउनसमेत मुस्किल पर्ने गरेको बताइएको छ । जाडोयाममा प्रहरीलाई जाडो थेग्ने पर्याप्त उपकरणको व्यवस्था नहुँदा कठ्याङ्ग्रिएर सेवा गर्नुपर्ने हुन्छ । मुखियाप्रथा लगायतका कारण प्रहरीलाई कानुन कार्यान्वयन गर्नमा चुनौती हुने गरेको बताइएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया