कांग्रेसको संस्थापनइतर पक्षद्वारा पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान

पोखरा । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला असन्तुष्ट पक्षले आगामी पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेको छ । विशेष महाधिवेशन सञ्चार तथा प्रचारप्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीको विधान र वर्तमान राजनीतिक संकटलाई निकास दिन भन्दै महाधिवेशनको मिति तय गरेको हो । पार्टी नेतृत्वले समयमै १५ औँ महाधिवेशन गराउन नसकेपछि विशेष महाधिवेशन नै एकमात्र विकल्प बनेको दाबी यो समूहले गरेको छ ।
पक्षधरहरूका अनुसार पार्टीले विसं २०८२ पुस २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको थियो । तर सो अवधिमा महाधिवेशन हुन नसकेपछि यो परिस्थिति आएको हो । विज्ञप्तिमा भनिएको छ, ‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै हामीले विशेष केन्द्रीय महाधिवेशन आह्वान गरेका हौँ, जसमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिताका लागि हार्दिक आग्रह गर्दछौँ ।’ उनीहरूले १५ औँ महाधिवेशन तोकिएको समयमा हुन नसक्दा विशेष महाधिवेशन स्वतः निर्विकल्प बनेको जिकिर गरेका छन् ।
विशेष महाधिवेशनका लागि सचिवालयले आवश्यक तयारी समेत अघि बढाएको छ । कार्यक्रम सञ्चालनका लागि काठमाडौँको भृकुटीमण्डप पहिले नै बुकिङ गरिसकिएको छ भने शान्ति सुरक्षाको प्रबन्ध मिलाउन स्थानीय प्रशासनलाई पत्राचार समेत गरिसकिएको छ । महाधिवेशनलाई व्यवस्थित बनाउन १८ वटा विभिन्न उपसमितिहरू गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जसमा व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापनका साथै जेन्जी युवा परिचालन उपसमिति समेत रहेका छन् ।
यस विषयमा कांग्रेसभित्र दुई धार स्पष्ट देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले विशेष महाधिवेशन बाहेक अर्को बाटो नभएको बताएका छन् । तर सभापति शेरबहादुर देउवा पक्ष भने विशेष महाधिवेशनको विपक्षमा देखिएको छ । देउवा पक्षले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने अडान राखेको छ ।
यो महाधिवेशनमार्फत पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने दाबी असन्तुष्ट पक्षको छ । सचिवालयले महाधिवेशनका लागि तोकिएका १८ वटा उपसमितिका संयोजकहरू समेत चयन गरिसकेको छ । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहेको यो समूहले विशेष महाधिवेशनलाई पार्टी रूपान्तरणको मुख्य कडीका रूपमा व्याख्या गरेको छ ।








कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
१४ औं पोखरा महोत्सवलाई संघ संस्थाको साथ
शिक्षक महासंघले स्थानीय तहलाई दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया