सम्पादकीय—खेल पर्यटनको सम्भावना

नेपालको पर्यटन राजधानीका रुपमा चिनिँदै आएको पोखरा पछिल्ला वर्षमा नयाँ पहिचानतर्फ अग्रसर देखिन थालेको छ । प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक विविधताले भरिएको पोखराले अब खेल पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा पनि चर्चा पाउन थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पोखरामा आयोजना गरेको एनएसजेएफ स्पोट्र्स समिट र ट्वान्टी–ट्वान्टी विश्वकप ट्रफीको प्रदर्शनले यही सम्भावनालाई थप उजागर गरेको छ ।
खेल पर्यटन भन्नाले खेलकुद प्रतियोगिता, प्रशिक्षण, खेलसँग सम्बन्धित कार्यक्रम तथा अवलोकनमार्फत पर्यटन प्रवद्र्धन गर्नु हो । विश्वका धेरै सहरले खेल पर्यटनलाई अर्थतन्त्रको बलियो आधार बनाएका छन् । नेपाल जस्तो विकासशील मुलुकका लागि पनि यो क्षेत्र नयाँ सम्भावनाको ढोका हो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको अवस्थामा पर्याप्त होटल संरचना, खेल मैदान, रंगशाला, ताल–पहाड जस्ता प्राकृतिक सम्पदा तथा साहसिक खेलका अवसर उपलब्ध हुनु खेल पर्यटनका बलिया आधार हुन् ।
स्पोट्र्स समिटमा उठेका बहसले पोखरामा खेल पर्यटनको सम्भावना त प्रचूर छ तर त्यसको सदुपयोग हुन नसकेको यथार्थ देखाएको छ । भौतिक पूर्वाधार हुँदाहुँदै पनि नियमित तथा स्तरयुक्त राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन नसक्नु मुख्य चुनौती हुन् । खेलकुद परिषद्, पर्यटन तह, स्थानीय सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय अभावले पनि खेल पर्यटन अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । खेलकुद केवल प्रतिस्पर्धामात्र होइन, आर्थिक गतिविधिको महत्वपूर्ण स्रोत पनि हो ।
एउटा ठूलो खेल प्रतियोगिताले खेलाडी, अफिसियल, दर्शक, सञ्चारकर्मी र पर्यटकलाई आकर्षित गर्छ । यसले होटल, यातायात, रेष्टुरेन्ट, स्थानीय उत्पादन र रोजगारीमा प्रत्यक्ष प्रभाव पार्छ । पोखरामा म्याराथन, ट्रायथलन, प्याराग्लाइडिङ, अल्ट्रा–रन, क्रिकेट, फुटबल, भलिबल जस्ता प्रतियोगिता नियमित रूपमा आयोजना गर्न सके खेल पर्यटनबाट ठूलो आर्थिक लाभ लिन सकिन्छ । पछिल्लो समय ड्रागन बोटरेस, अन्तर्राष्ट्रिय साइकल दौड लगायतका प्रतियोगिता पनि यहाँ हुन थालेका छन् ।
यसका लागि स्पष्ट नीति, दीर्घकालीन योजना र निजी क्षेत्रको प्रत्यक्ष सहभागिता अपरिहार्य छ । खेल पर्यटनलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले क्यालेन्डर तय गर्नु, अन्तर्राष्ट्रिय संघ, संस्थासँग सहकार्य बढाउनु र पोखरालाई ‘स्पोट्र्स डेस्टिनेसन’का रूपमा ब्रान्डिङ गर्नु आवश्यक छ । साथै, भइरहेका प्रतियोगितालाई निरन्तरता र प्रोत्साहन दिनु पनि उत्तिकै आवश्यक छ । एनएसजेएफ स्पोट्र्स अवार्ड जस्तो प्रतिष्ठित कार्यक्रम पोखरामा आयोजना हुनु स्वयंमा सकारात्मक सन्देश हो ।
यसले पोखरालाई राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको गन्तव्य बनाउन सकिने सम्भावनालाई प्रमाणित गरेको छ । अबसम्भावनालाई योजनामा, योजनालाई कार्यान्वयनमा र कार्यान्वयनलाई दिगोपनामा रूपान्तरण गर्ने दृढ इच्छाशक्ति जरुरी छ । यदि त्यसो गर्न सकियो भने पोखरा केवल पर्यटकीय सहर होइन, खेल पर्यटनको केन्द्रका रूपमा पनि स्थापित हुन सक्छ । अनेक सम्भावना खोजेर यहाँको पर्यटन प्रवर्धन सबैको प्राथमिकतामा पर्नुपर्छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया