घान्द्रुक महोत्सव फागुनमा

समाधान संवाददाता २०८२ पुष २५ गते ११:३७

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ स्थित घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव आयोजना हुने भएको छ । सोही महोत्सवको तयारीका लागि पोखरामा आयोजित ‘च्यारिटी डिनर’ बाट ९ लाख ६ हजार ६ सय रुपैयाँ संकलन भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधी क्लब घान्द्रुकको संयुक्त आयोजनामा यो महोत्सव हुन लागेको हो ।

Advertisement


रोधी क्लब घान्द्रुकका उपाध्यक्ष अमृत गुरुङले पोखरामा भएको च्यारिटी डिनर कार्यक्रममा ९ लाख ६ हजार ६ सय रुपैयाँ आर्थिक संकलन भएको जानकारी दिए । महोत्सवको तयारीका सन्दर्भमा आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार फागुन ६ देखि ९ गतेसम्म हुने महोत्सवमा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिनेछ ।


रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्ष्मण गुरुङले च्यारिटी डिनर कार्यक्रम आर्थिक संकलनका लागि मात्र नभई विभिन्न स्थानमा रहेका आफन्त र साथीभाइहरूसँग भेटघाट र छलफल गर्ने अवसर पनि भएको बताए ।

Advertisement

‘सबै मौसममा पर्यटन भन्ने नाराका साथ हामीले रोधी क्लब र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयुक्त आयोजनामा महोत्सव गर्न लागेका हौँ,’ अध्यक्ष गुरुङले भने, ‘यो कार्यक्रम विभिन्न शहरमा बस्दै आएका आफन्त र साथीभाइहरू बीचको भेटघाट गर्ने थलो पनि हो ।’ उनले महोत्सवलाई भव्य बनाउन दुवै संस्थाले सहकार्य गरिरहेको स्पष्ट पारे ।


महोत्सवका अवसरमा पुरुष भलिबल प्रतियोगिता, पुरुष बास्केटबल प्रतियोगिता, घोडा दौड, रस्साकस्सी र छेलो प्रतियोगिता लगायतका विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने उपाध्यक्ष अमृत गुरुङले बताए । घान्द्रुकमा हाल ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेका छन् । यी होटल र होमस्टेहरूले एकै दिन २ हजार ५ सयभन्दा बढी पर्यटक राख्न सक्ने क्षमता राख्दछन् ।

Advertisement


पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पुग्न सकिने घान्द्रुक पदयात्राका लागि समेत प्रसिद्ध छ । घान्द्रुकबाट भैंसीखर्क–टाढापानी, वनठाँटी–देउराली हुँदै म्याग्दीको घोडेपानी र टाढापानी–इसरु–दोबाटो–मुल्डे हुँदै म्याग्दीको खोप्रा लेक र हिडन लेक जान सकिन्छ । यसका साथै घान्द्रुक हुँदै अन्नपूर्ण बेस क्याम्प सम्मको पदयात्रामा जान सकिने व्यवस्था रहेको पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया