एसओएस गण्डकीको ४२औं खेलकुद सम्पन्न, माछापुच्छ्रे सदन च्याम्पियन

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२औं वार्षिक खेलकुद समारोह शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको माछापुच्छ्रे सदन यस वर्षको च्याम्पियन बनेको छ भने धौलागिरि सदन उपविजेतामा सीमित भयो ।
बिहीबारदेखि सुरु भएको तीनदिने खेलकुद महोत्सवको समापन गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले गरे । कक्षा ११ र १२ तर्फ गौरीशंकर सदन विजेता र अन्नपूर्ण सदन उपविजेता बने । त्यस्तै, उत्कृष्ट मार्चपासको उपाधि अन्नपूर्ण सदनले जित्दा गौरीशंकर सदन सर्वाधिक अनुशासित सदन घोषित भयो ।

समापन समारोहमा सचिव डा. पौडेलले नियम र अनुशासनको अर्को नाम नै खेलकुद भएको बताए । उनले भने, ‘नियम उल्लंघन गरेर जितिएको खेललाई वास्तविक जित मान्न सकिँदैन । खेलमा सहभागी हुनु नै ठूलो कुरा हो ।’ उनले एसओएसजस्तो मानवतावादी संस्थासँग शिक्षा क्षेत्रमा सहकार्य गर्न मन्त्रालयले विशेष चासो राखेको बताए ।
पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले खेलकुदले सामाजिक रूपान्तरण र भाइचारा विकास गर्ने बताए । उनले आगामी माघ ५ देखि १० गतेसम्म वडाले खेलकुद महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहप्रधानाध्यापक प्रभास पौडेलले खेलकुदको महत्त्वबारे प्रकाश पारेका थिए । उनले यस वर्ष समावेश गरिएका ६५ खेलमध्ये ४९ खेल अघिल्ला दुई दिन र १६ खेल समापनका दिन सम्पन्न भएको जानकारी दिए ।
समारोहमा २ सय ५६ विद्यार्थीले ‘स्वागत’, ‘एसओएस’ र ‘नेपालको राष्ट्रिय झन्डा’ को आकृति बन्ने गरी सांगीतिक प्रस्तुति दिएका थिए । साथै, तामाङ सेलो, मगर कौरा र नेवारी लाखे नाचसहितका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । अभिभावकहरूका लागि ‘तातो आलु’ खेल खेलाइएको थियो ।
प्रतियोगितामा दौड, हाइजम्प, लङजम्प, स्याक रेस, सर्टपुट, स्लो साइकलिङ, टग अफ वारलगायतका खेल भएका थिए । साना बालबालिकाका लागि बेलुन ब्रस्ट, चकलेट रेसजस्ता मनोरञ्जनात्मक खेल समावेश गरिएको थियो । खेल अवधिभर विद्यालयको जुनियर रेडक्रस र गण्डकी मेडिकल कलेजका पूर्वविद्यार्थी चिकित्सकको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस बालग्रामका परियोजना निर्देशक लोब्स्याङ ग्याल्ट्सेन, प्रधानाध्यापक फुर्बु थिन्ले, एसओएस युवालयका प्रमुख रामचन्द्र पोखरेल, पूर्वप्रधानाध्यापक मोहनमुरारि खनाललगायतको उपस्थिति थियो । विजयी खेलाडीलाई सचिव पौडेल, वडाध्यक्ष बानियाँ र प्रधानाध्यापक सुवेदीले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया