कास्कीकोटको सिद्ध बराह विद्यालयले एक वर्षसम्म हिरक जयन्ती मनाउने

पोखरा । पोखरा महानगरपालिका–२४ गुण्टचौर, कास्कीकोटस्थित सिद्ध बराह आधारभूत विद्यालयले स्थापनाको ६० वर्ष पूरा भएको अवसरमा ‘हिरक जयन्ती महोत्सव–२०८२/८३’ आयोजना गर्ने भएको छ । विद्यालयले पत्रकार सम्मेलनमार्फत आगामी माघ १० गतेदेखि एक वर्षसम्म विभिन्न कार्यक्रम गरी महोत्सव मनाउने जानकारी दिएको हो ।
महोत्सव सञ्चालनका लागि ८५ लाख ५० हजार रुपैयाँ अनुमानित बजेट तय गरिएको छ । विद्यालयका प्रधानाध्यापक रिना शाहका अनुसार उक्त रकम स्थानीय तह, विद्यालय परिवार, अभिभावक, समुदाय, पूर्वविद्यार्थी तथा दातृ निकायबाट संकलन गरिनेछ । संकलित रकम महोत्सवको तयारी, शैक्षिक तथा सांस्कृतिक कार्यक्रम, भौतिक पूर्वाधार विकास, स्मारिका प्रकाशन, स्मृति स्तम्भ निर्माण र अक्षयकोष स्थापनामा खर्च गरिनेछ ।
महोत्सवको औपचारिक उद्घाटन २०८२ माघ १० गते बिहान ८ः१५ बजे प्रभातफेरीसहित गरिनेछ । उद्घाटन सत्रमा झाँकी, विद्यार्थीको प्रतिभा प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम हुनेछ । पूर्वविद्यार्थीका तर्फबाट लोकनाथ सुवेदीले महोत्सव २०८३ माघ १० गतेसम्म चल्ने जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिराज सुवेदीले विसं २०२३ सालमा समुदायको पहलमा स्थापना भएको विद्यालयले ६ दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले भने, ‘महोत्सवको मूल लक्ष्य विद्यालयलाई समावेशी, गुणस्तरीय, प्रविधिमैत्री र समुदाय केन्द्रित राष्ट्रिय नमुना आधारभूत विद्यालयका रूपमा स्थापित गर्नु हो ।’ ऐतिहासिक कास्कीकोट र गुप्तकालिका मन्दिर क्षेत्रमा रहेको विद्यालयले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
एक वर्षसम्म चल्ने महोत्सवलाई तीन चरणमा विभाजन गरिएको छ । प्रारम्भिक चरणमा समिति गठन र इतिहास संकलन गरिनेछ । कार्यान्वयन चरणमा शैक्षिक गोष्ठी, शिक्षक तालिम, विज्ञान, कला, साहित्य तथा खेलकुद प्रतियोगिता, र भौतिक पूर्वाधार सुधारका काम हुनेछन् । साथै, पूर्वविद्यार्थी र पूर्वशिक्षक पुनर्मिलन कार्यक्रम पनि सञ्चालन गरिने अध्यक्ष सुवेदीले बताए ।
अन्तिम चरणमा दाता सम्मान, आर्थिक प्रतिवेदन सार्वजनिक र हिरक जयन्ती स्मृति स्तम्भ निर्माण गरिनेछ । प्रचारप्रसार समितिका संयोजक साजन सुवेदीले महोत्सव सफल बनाउन स्थानीय सरकार, सञ्चारमाध्यम र सरोकारवालासँग सहयोगको अपिल गरे ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया