पृथ्वीनारायण शाहको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री पाण्डे

समाधान संवाददाता २०८२ पुष २७ गते ११:५८

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ वर्तमान अवस्थामा पनि उत्तिकै उपयोगी र प्रेरणादायी रहेको बताएका छन् । ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

मुख्यमन्त्री पाण्डेले भौगोलिक रूपमा विभाजित साना राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्ने महान् अभियानको नेतृत्व गरेकोमा शाहप्रति श्रद्धासुमन अर्पण गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘तत्कालीन समयमा पृथ्वीनारायण शाहले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीतिको सन्दर्भमा दिनुभएको दिव्योपदेश वर्तमान अवस्थामा पनि उत्तिकै उपयोगी रहेको जगजाहेर नै छ ।’

पुर्खाको वीरता, कार्यकुशलता र राष्ट्रप्रतिको जिम्मेवारीपूर्ण भूमिकाकै कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहन सकेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । तत्कालीन समयमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य उनले स्मरण गराए ।

Advertisement

‘उहाँको दूरदर्शिता, साहस र नेतृत्वका कारण नै आज हामी ‘नेपाली’ भएर गर्व गर्न पाएका छौं,’ सन्देशमा भनिएको छ । मुख्यमन्त्री पाण्डेले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण देशमा पुर्खाले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै सत्कर्ममा लाग्न सबैलाई आग्रह गरेका छन् ।

गण्डकी प्रदेश सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सहभागितामूलक शासन व्यवस्थामार्फत नागरिकको जीवनस्तर उकास्न प्रतिबद्ध रहेको उनले बताए । पुर्खाहरूको बलिदानबाट प्राप्त स्वतन्त्रता र एकतालाई अक्षुण्ण राख्दै समृद्ध नेपाल निर्माणमा लाग्नु नै शाहप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।

Advertisement

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को संकल्प साकार पार्न र सामाजिक–आर्थिक रूपान्तरणको अग्रगामी मार्गमा बढ्न यो ऐतिहासिक दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया