‘नयाँ पुस्ताको हातमा सत्ता आए ७ दिन नेपालमा आगो बल्छ’

समाधान संवाददाता २०८२ पुष २७ गते १६:३८

पोखरा । समाज, संस्कृति र इतिहासका गलत भाष्यहरुविरुद्ध वैचारिक असहमति प्रकट गर्ने व्यक्ति हुन्, चर्चित विश्लेषक सौरभ । सनातन इतिहास, परम्परा र संस्कृतिलाई राष्ट्र निर्माणको जग मान्ने लेखक हुन् एकान्त शर्मा । तिनै सौरभ र एकान्तले शनिबार पोखरामा एउटै मञ्चमा एकसाथ असहमति–तन्त्र प्रकट गरे ।

Advertisement

बुकहिलको आयोजना र र्‍यान्डम रिडर्स सोसाइटी सहआयोजनामा पोखराको होटल पोखरा ग्राण्डमा भएको बुकहिल बुकान्जाको पहिलो शत्र ‘असहमति–तत्र’ मा दुवैजनाले आआफ्नो असहमति सुनाए ।

चर्चित विश्लेषक सौरभले नयाँ पुस्ताले देशको शासन हातमा ल्याए ७ दिनसम्म आगो बल्ने अभिव्यक्ति प्रकट गरे । ‘नयाँ पुस्ताले राज्य शासन आफ्नो हातमा ल्यायो भने मलाई लाग्छ ७ दिनसम्म नेपालमा आगो लाग्छ,’ उनले भने, ‘कुनै होराइजन छैन, कुनै सोच, कुनै विचार छैन ।’
२०३० मा सिंहदरबार आगलागी हुँदा उक्त समयमा किर्तिनिधि विष्ट प्रधानमन्त्री थिए । आगलानीको विषयलाई लिएर कीर्तिनिधिले पदबाट राजीनामा दिएका थिए । सोही प्रसंग उल्लेख गर्दै विश्लेषक सौरभले कीर्तिनिधि विष्टले जिम्मेवारी लिएर राजीनामा दिएको र गत भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनमा सिंहदरबारसहित सहरमा आलगाली हुँदा कसैले जिम्मेवारी नलिएको भन्दै असहमति प्रकट गरे ।

Advertisement

‘पञ्चायतमा स्टेडियममा ७० जना मर्दाखेरि मन्त्रीले जानकारी नै नभएको विषयमा राजीनामा दिनुपरेको थियो । २०३० सालमा सिंहदरबारमा आगलागी हुँदा ‘तिमीले आगो लगाएको हो र राजीनामा दिनु, के आधारमा तिमीले राजीनामा दिने’ भनेर राजा वीरेन्द्र्रले भन्दा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए,’ उनले भने, ‘आज सिंहदरबारमा, शहरमा आगो लाग्दा कसैले जिम्मेवारी लिँदैन ।’

राजनीतिक दलका नेताहरुप्रति देशमा अधिकांशको मनमा आक्रोश रहेको विश्लेषक सौरभ बताउँछन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उठाएर कसैले लग्यो भने देशमा दिपावली मनाउने सौरभको तर्क छ ।

Advertisement

‘आज कसैले आएर हेलिकप्टरबाट तीनजना नेतालाई उठाएर लग्यो भने पनि कुनै नेपालीले सार्वभौमसत्तामा दख्खल भयो भन्ठान्दैन । तीनटा नेता गएकोमा ७ रातसम्म दिपावली गर्छन् नेपाल । कति मान्छेको मनमा आक्रोश । त्यति मनमा आक्रोश छ,’ उनले भने ।


दुवैजना काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह बालेनप्रति आक्रामक बने ।

काठमाडौं महानगरपालिकाले सडकमा खुला बनाउने भन्दै सडकमा व्यवसायी गर्नेहरुलाई हटाउँदै आएको छ । महानगरको उक्त कार्यको विरोध जनाउँदै एकान्तले काठमाडौं सहर मात्र नभई देशको राजधानी भएको तर्क गरे । देशकै राजधानी भएकाले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका व्यक्तिले काठमाडौंको सडकमा आएर व्यवसाय गर्न पाउने एकान्त जिकीर गर्छन् ।

‘मेरा लागि काठमाडौं भनेको काठमाडौं मात्रै होइन, देशको राजधानी हो । त्यो नेपालको जो पनि आउन पाउँछ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मान्छे आएर सडकमै बसेर तरकारी बेच्न पाउँछ,’ उनी भन्छन् ।

एकान्तको भनाइमा सौरभ पनि सहमत भए । एक लाख सडक व्यवसायी हटाउँदा ४ लाख व्यक्तिको जीवनयापनलाई असर गरेको सौरभको तर्क छ । बजेट खर्च गर्न नसकेको काठमाडौं महानगरपालिकामा थुप्रिएको दाबी गर्छन् । ‘अर्बाैं रुपैयाँ खर्च गर्न नसकेर काठमाडौं महानगरपालिकामा बसेको छ । खर्च गर्न नसकेर । त्यसलाई सफल मान्छे ठान्ने,’ उनले भने, ‘मैले व्यक्तिको कुरा गरिराखेको छैन । नयाँ पुस्ताको प्रतिनिधिलाई भनिराखेको छु । त्यसलाई सफल मान्ने ?’

काठमाडौंको नेतृत्वले वडाध्यक्ष जस्तो व्यवहार गर्नु नहुने लेखक एकान्त बताउँछन् । ‘काठमाडौं महानगरको जो सञ्चालन गर्ने मानिसहरु हुनुहुन्छ । उहाँहरुले वडाध्यक्ष जस्तो व्यवहार गर्नु भएन । नेपालको राजधानीको म प्रमुख हुँ भनेर सोचेपछि त्यहाँभित्र भएको मान्छेलाई सोच्नुपर्‍यो,’ उनले भने ।

तपाईको प्रतिक्रिया