‘देशको झण्डा कसैले लामो समय बोकेको छ भने मेरो साइकलले बोकेको छ’

समाधान संवाददाता २०८२ पुष २८ गते ५:५८

पोखरा ।
‘हामी रातो पासपोर्ट त दुरुपयोग गर्छौं । अहिले नढाँटी भन्दा १ करोड तिरेर अमेरिकाको भिसा लगाउन खोज्छौं । तर, यो देशको झण्डा कसैले लामो समय बोकेको छ भने मेरो साइकलले बोकेको छ ।’ यो भनाइ हो, विश्व साइकल यात्री पुष्कर शाहको ।

Advertisement

पोखरामा आयोजित साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ अन्तर्गतको ‘पाइडल र पैताला’ सत्रमा बोल्दै शाहले आफ्नो विश्व यात्राको निचोड, देशप्रेम र जीवन दर्शन यसरी सुनाए । बुकहिल पब्लिकेसन र र्‍यान्डम रिडर्स सोसाइटीको सहकार्यमा भएको उक्त कार्यक्रममा पैतलाका लेखक सहजकर्ता गनेस पौडेलसँगको संवादका क्रममा शाहले यात्राका तीता–मीठा अनुभव सुनाए ।

साइकल यात्राले देशप्रेम बढायो कि राष्ट्रको सीमितता देखायो ? भन्ने प्रश्नमा शाहले आफूले संसारका सीमानाहरू देखेको बताए । ‘हामी संसार सिमानाका लागि लडिरहेका छौं । तर मेरो साइकलको पांग्राले जुन–जुन देशमा पाइडल राख्यो, त्यहाँ नेपालको उपस्थिति जनायो,’ शाहले भने ।

Advertisement

उनले विश्वका १५० भन्दा बढी देशमा नेपाललाई चिनाउन सफल भएकोमा गर्व व्यक्त गरे । नेपाली पासपोर्ट र राष्ट्रियताको सन्दर्भ कोट्याउँदै उनले भने, ‘व्यक्ति धनी भएर केही हुँदैन, देश धनी हुनुपर्छ ।’ आमाले दिएको १ रुपैयाँ र राष्ट्रको झण्डा बोकेर निस्किएका उनले विश्वका सारा खुख दुख भोगेको सुनाए ।

यात्राका क्रममा आइपर्ने डर र स्वतन्त्रताको द्वन्द्वबारे बोल्दै शाहले डरलाई पैतालामुनि राखेर हिँडेको बताए । ‘यात्रामा निस्केपछि भोलि के हुन्छ भनेर डरको बीजारोपण गरियो भने यात्रा पूरा हुँदैन,’ उनले भने ।

Advertisement

तथापि, यात्राका क्रममा मानवीय स्वभाव अनुसार आफूलाई पनि डर लाग्ने गरेको उनले स्वीकारे । ‘डर लाग्दैन भन्दाभन्दै पनि कहिलेकाहीँ एक्लै सुत्नुपर्दा, जंगलमा खान नपाउँदा डर लाग्थ्यो । तर भोकले डरलाई जित्दो रहेछ,’ उनले भने, ‘सुन्तलाको बोक्रा खाएर, पानी पिएर रात काट्दा भोक हराउँथ्यो । डरको पनि मात्रा हुँदो रहेछ— साँझ ७ बजेको डर, १० बजेको डर र मध्यरातको डर फरक हुन्छ । मृत्यु नै मान्छेको सबैभन्दा ठूलो डर रहेछ ।’

नास्तिक भए पनि मध्यरातमा संकट पर्दा वा चिहान नजिक पुग्दा भगवान् बाहेक अरू याद नआउने यथार्थ उनले सुनाए । लेखक तथा सहजकर्ता पौडेलले उनको पुस्तकमा उल्लेखित ‘न्युड बार’ र खानपानको सोधनी गर्दा शाहले बाँच्नका लागि गर्नुपर्ने संघर्षको खुलाए । हिन्दु संस्कारमा हुर्किए पनि भोक र अभावले गाईको मासुसमेत खान बाध्य बनाएको उनले बताए । ‘घिन भन्ने कुरा भोकसँग हुँदो रहेछ,’ उनले भने ।

आफ्नो लेखनलाई उनले साइकलको पांग्राले संसारभरिको माटोमा डोब राखेर लेखिएको दस्तावेजको रूपमा व्याख्या गरे । ‘मैले प्रायः सबै डायरीमा लेख्छु । यो कुनै कल्पना होइन,’ उनले भने । उनले आफूलाई ‘सामाजिक जड्याहा’ को रमाइलो उपमा दिए । ‘म बियर खाएर नै विश्व कीर्तिमान राखेको मान्छे हुँ । मैले २५ सय थरी वियर खाएर तिनका बिर्को संगाले,’ ाहले ठट्यौली शैलीमा भने, ‘जाँड खाएर कसैसँग झगडा नगरेको कारणले म सामाजिक जड्याहा हुँ ।’

तपाईको प्रतिक्रिया