फिजी टापुबाट ग्रामीण कथासम्मः निष्प्रभ सजीको ‘याली’

समाधान संवाददाता २०८२ पुष २८ गते ६:०२

पोखरा । नेपाली ग्रामीण कथाबाट फिजी टापुको डायस्पोरिक जीवनसम्म पुग्ने कथा कसरी जन्मिन्छ ? पोखरामा शनिबार साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ मा नेपाली लेखक निष्प्रभ सजीको नयाँ उपन्यास ‘याली’ लोकार्पण भयो । साहित्यकार सरुभक्त र लेखक स्वयंले पुस्तकको विमोचन गरे । कार्यक्रममा उपन्यासमाथिको बहसमा सजीले आफ्नो लामो साहित्यिक यात्रा, ग्रामीण जीवन र प्रवासी अनुभव सुनाए ।’ उनलाई सहजीकरण गरेका थिए, साहित्यकार सरुभक्त ।

Advertisement

‘पहिलो तपाईंले ग्रामीण कथालाई उठाउनुभएको छ । अर्कोतर्फ, ग्रामीण क्षेत्रको कथा जंगबहादुरको समयदेखि वर्तमान समाज, अस्टे«लियाको समाज, प्रेम सम्बन्ध र कर्मको कथा र फिजीको जीवनसँग जोडिएको छ । यसरी समानान्तर रूपमा कथा वस्तु जोड्नुभएको छ, अलिकति असहज लागेन ?’ साहित्यकार सरुभक्तले सजीलाई प्रश्न तेस्र्याए ।

सजीले त्यसैकारण दोस्रो उपन्यास लेख्न ९ वर्ष लागेको सुनाए । ‘डार्लिङ हार्बर’ निस्कनुअघि मैले पहिले एउटा कथा तयार पारेको थिएँ । तर आख्याकारको रूपमा तयार भएपछि मैले सोचें कि के म आख्यान लेख्न सक्छु ? हामीले खोलामा गाईवस्तु चराउन जाँदा एउटा घर देख्यौं । त्यो घर एक्लै बाँचिरहेको थियो । मलाई लाग्यो–यो घर एक्लै कसरी बाँच्न सक्छ ? त्यसैबाट प्रश्न उठ्यो र कथा जन्मियो,’ सजीले भने ।

Advertisement

उनले बुबा हेटौडामा सिमेन्ट लिन जाँदा घरको मूल मान्छे हराउने अवस्था, कलकत्ता जाने चलन, वृद्धावस्थामा आश्रम अवस्था कसरी आयो भन्ने कुराको प्रश्नबाटै कथाहरु जन्मिएको सुनाए । ‘सिड्नीमा बस्दा मैले देखेको वृद्धावस्थामा आफ्ना परिवारबाट टाढा भएका मानिसहरूको अवस्था, उनको चिसो शरीर, बिदा हुनु–यी सबै कुरा मेरो मनमा बसे । अनि मैले सोचें, यी कथाहरू किन नबाचेका हुन् ? यी कथाहरू मरे भन्ने लागेर नै मैले कथा लेखे,’ सजीले भने ।

उनले उपन्यासमा फिजी टापुमा बसेका नेपालीहरूको डायस्पोरिक जीवनबारे पनि सुनाएका थिए । फिजीमा नयाँ उखुको खेती र चिनी उत्पादनका लागि सस्तो श्रम चाहियो । त्यस क्रममा उत्पीडितहरूको कथा जटिल थियो । त्यसले पनि अर्को कथा बन्यो । यो बिचमा महामारीका बाबजुद यी कथाहरू लेखे । मेरो व्यक्तिगत कठिनाइ र पारिवारिक अनुभवले कथालाई अझ गहिरो बनायो,’ उनले भने ।

Advertisement

उनले आफू ग्रामीण क्षेत्रमा हुर्केको र भैंसी चराउन र गोरु जुधाएर हुर्केको भएर कथा बनाउन सहिलो भएको सुनाए । ‘यसरी नै प्रश्न गर्दै जाँदा ‘डार्लिङ हार्बर’ जन्मियो, त्यसैगरी ‘याली’ पनि जन्मियो । म अस्टेलियामा पुगेपछि पनि साहित्यमा निरन्तरता दिएको हुँ । मैले आफैंलाई चिनाउने क्रममा सन् २०१० सालमा इजलासमा ‘लाहुरे’ प्रकाशित गरेँ र त्यसपछि मात्र म निष्प्रभ सजी भनेर चिनिए, त्यो भन्दा अघि मैले आफ्नो परिचय लुकाएको थिएँ,’ सजीले भने ।
उपन्यासमा कलकत्ताबाट उखु खेतीका लागि पठाइने नेपालीहरूको यात्रा मार्मिक रूपमा प्रस्तुत सरुभक्तले सुनाए । उनले किताब पढेपछि पानी जहाजमा २–३ महिना यात्रा, बाटोमा हैजा, कठिनाइ–यी सबै कुरा थाहा पाएको सुनाए ।

सजीले आफू फिजी टापुमा बसेका नेपालीहरूको जीवन, नयाँ उखुको खेती, चिनी उद्योगमा सस्तो श्रमको आवश्यकता र उत्पीडितहरूको कथामै उपन्यासमा बनेको सुनाए । ‘डायस्पोरिक लेखनका लागि पात्रहरूको भेट, अनुभव र परिस्थिति अनिवार्य थियो । यही कारणले यो उपन्यास लेखिनु सम्भव भयो,’ उनले भने ।

उपन्यास ‘याली’ ले ग्रामीण जीवन, प्रवासी अनुभव, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई एकसाथ प्रस्तुत गरेको छ । लेखक निष्प्रभ सजीको यो दोस्रो उपन्यास ‘डार्लिङ हार्बर’ पछि प्रकाशित पहिलो उपन्यासभन्दा अझ जटिल र समृद्ध कथासँग जोडिएको छ ।

तपाईको प्रतिक्रिया