मिस तामाङ पोखरा : प्रतियोगीहरूले देखाए प्रतिभा, माघ ३ मा ग्रान्ड फिनाले

पोखरा । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हुने ‘मिस तामाङ पोखरा–२०८२’ का प्रतियोगी युवतीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । आइतबार पोखरामा सम्पन्न ट्यालेन्ट शोमा प्रतियोगीहरूले आ–आफ्नो कला, सीप र सृजनात्मक क्षमता देखाए ।
प्रतियोगितामा ८ जना युवती सहभागी छन् । ट्यालेन्ट राउन्डमा रोज स्याङ्देन लामाले सेल्फ ब्राइडल मेकअप, कबिना घिसिङ तामाङले मेकअप कला र सोनी पाख्रिन तामाङले तामाङ सेलोमा नृत्य प्रस्तुत गरिन् । त्यस्तै, माया दुम्जन तामाङ र सुप्रिया गोले तामाङले गायन कला देखाइन् भने खुसी मोक्तान तामाङले लोकनृत्य प्रस्तुत गरिन् । सलिना स्याङ्देन तामाङले चित्रकला र सोममाया मोक्तान तामाङले हस्तकलाका सामग्री निर्माण गरी आफ्नो प्रतिभा देखाइन् ।
निर्णायक मण्डलमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा र एसके डान्स एन्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक माया लामा रहेका थिए । निर्णायकहरूले प्रतियोगीहरूको प्रस्तुति उच्चस्तरको रहेको भन्दै यस्ता कार्यक्रमले तामाङ समुदायको मौलिक कला, संस्कृति र आत्मविश्वास उजागर गर्ने बताए ।
गीतकार तामाङले प्रतियोगीहरू केवल सौन्दर्यको मात्र नभई तामाङ संस्कृतिको पहिचान र भविष्यका सशक्त संवाहक भएको धारणा राखे । पत्रकार महासंघ कास्कीका उपाध्यक्ष थापाले प्रतियोगिताले युवतीहरूको नेतृत्व क्षमता र सृजनशीलता बढाउने बताए ।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक रोजिना ब्लोन तामाङले स्वागत गरेकी थिइन् । अध्यक्ष तामाङले मिस तामाङ पोखरा संस्कृतिसँगै पहिचान, क्षमता र आत्मसम्मानको उत्सव भएको बताए ।

माघ ३ मा ग्रान्ड फिनाले
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलाौंदी लेकसाइडमा हुनेछ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं ‘उज्यालो नेपालका नायक’ कुलमान घिसिङ प्रमुख अतिथि रहनेछन् ।
फिनालेमा कलाकारहरू बुद्धि तामाङ, दिनेश डिसी, फुलकुमार बमजन, विवेक दोङ, सन्तोष बस्याललगायतको विशेष प्रस्तुति रहनेछ । विजेताले ताज, ट्रफी र प्रमाणपत्रसहित १ लाख रुपैयाँ नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन् । फस्ट रनरअपले ५० हजार, सेकेन्ड रनरअपले ३० हजार र भ्युअर्स च्वाइसतर्फ विजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
विज्ञहरूबाट प्रशिक्षण
प्रतियोगीहरूलाई विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरूले प्रशिक्षण दिएका छन् । प्रशिक्षण दिनेमा नेपाल जेसिका पूर्वअध्यक्ष राजु केसी, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जय मल्ल, अधिवक्ता जुना गुरुङ, साइबर ब्युरोका प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा योञ्जन, फिटनेस प्रशिक्षक ज्यास्मिन गुरुङ, तेक्वान्दो प्रशिक्षक रेग्मी माया गुरुङलगायत छन् ।

यस्तै, जोन्टा क्लब पोखराका अध्यक्ष रोजिना रञ्जित बिजुक्छे, नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइबा तामाङ, भाषाविद् अजितमान तामाङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र घेदुङका पूर्वअध्यक्ष धनप्रसाद तामाङले पनि प्रशिक्षण दिएका छन् ।
सहभागीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार, संस्कृति, साइबर सुरक्षा, महिला अधिकार र आत्मरक्षा (सेल्फ डिफेन्स) जस्ता जीवनोपयोगी विषयमा तालिम दिइएको छ । कोरियोग्राफी जिता लामा, रोजिना ब्लोन र राम लामाले सिकाएका छन् । कार्यक्रमको अफिसियल फोटो, भिडियो तथा कन्टेन्ट डाइरेक्टरमा गणेश बज्र लामा रहेका छन् ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया