नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास

चिरञ्जीवी शर्मा पौडेल २०८२ पुष २८ गते ७:५३

चिरञ्जीवी शर्मा पौडेल

Advertisement

विषय प्रवेशः
कांग्रेस नै सर्वस्व हो भन्ने अभीष्टसाथ युवावस्थादेखि नै झोला बोकेर हिँडियो । कांग्रेस भन्ने नाम सुन्नासाथ ज्यानै पो लिने हुन् किन भन्नेखालका मण्डले वा उग्र कम्युनिस्टहरूसँग झुकिएन, प्रहरी प्रशासनको धम्कीसँग पनि डराइएन । विभिन्न कुतत्वहरूले देखाएको लोभलालचमा पनि परिएन । कांग्रेस भएबापत म र मेरो परिवारलाई मात्र होइन, नातागोताले समेत अनेकौं हन्डर र ठक्कर खानुपर्यो । कैयौं अवसर गुमाउनुपर्यो र पनि पार्टी सुधार र संगठन निर्माणका नाउँमा घरखेतै गरेर हिँडियो । नेता भई टोपलेबापत युवा क्लब, आमा समूह, रोगी बिरामी कार्यकर्ता, पर्व महोत्सव, सामाजिक संघसंस्थाका लागि मात्र होइन केही धुपौरेहरूलाई नेता बनाउन, तिनैलाई गाडी भाडा तिरेर कार्यक्रमसम्म पुर्‍याउन, तिनले मनलाग्दो खाएको पैसा तिर्न र तिनैलाई फर्काएर घरसम्म पुर्‍याउन असंख्य खर्च गरियो । त्यति हुँदाहुँदै पनि जीवनमा आजसम्म कसैसँग चार पैसा हात थापेर खर्च चलाइएन । कसैको झोला बोकेर पनि हिँडिएन ।

म आफूले जीवनमा आर्जेको यो स्वाभिमान र गरेको खर्च नगद मात्र पनि लाखमा होइन करोडौंमा हिसाब आउँदा समेत सानो मन गरिएन, हिम्मत हारिएन । अब भविष्यमा पनि आफ्नो स्वाभिमान र विरासतलाई झुक्न वा गिर्न दिने छैन भन्ने प्रतिबद्धताका साथ आफूलाई उभ्याएको छु । तसर्थ मलाई कुनै अविवेकी भिडले फैलाएको स्यालहुइँयाको पछि दगुर्नु छैन र बहुमत संख्याका साथीहरू लागेको बाटो हिँड्नै पर्छ भन्ने पनि छैन । आफ्नो स्वतन्त्र विवेकले, स्वच्छ आत्माले निर्देशित गरेबमोजिम कांग्रेसभित्रको वर्तमान खैलाबैलाका बारेमा केही कुरा बोल्न र लेख्न प्रेरित गरेबमोजिम साथीहरूको बीचमा यो सन्देश पस्कने जमर्को गरेको हुँ । यसमा बाँकी साथीहरू सहमत हुनु र नहुनु स्वाभाविकै हो । तर जतिसक्दो यथार्थताको नजिक रहेर यी कुराहरूलाई यहाँहरूसमक्ष ल्याउने जमर्को गरेको छु । यसलाई अध्ययन गरेर उचित र शिष्ट सुझावका लागि पनि अपेक्षा राख्दछु ।

Advertisement

कांग्रेसको इतिहास र वैचारिक धरातलः
प्रजातन्त्रप्रतिको अटुट विश्वास, अपरिहार्य आवश्यकता र उत्कट चाहनाको जगमा सिर्जना भएको पार्टी हो, नेपाली कांग्रेस । यो कुनै सत्तालम्पटहरूको स्वार्थमा, वैयक्तिक कुण्ठामा, व्यक्तिगत अवसरवादमा निर्माण भएको संगठन थिएन र होइन । कांग्रेसले आफूलाई ठालु वा देवप्रतिनिधि ठान्ने, बाँकी कार्यकर्ताहरू सबै भक्तजनहरू नै हुन् भन्ने ठान्ने चेतना, चरित्र र संस्कारलाई सदैव तिरस्कार गर्दै आएको हो । कांग्रेस कसैलाई देवत्वकरण गरेर होइन, कसैको मुढेबलले पनि होइन, हरेक कार्यकर्ताको चाहनाले सिर्जना भएको जिम्मेवार पार्टी हो । जिम्मेवार पार्टीमा रहनेहरूले प्रथमतः आफैंलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न सक्नुपर्दछ ।

नेतृत्वमा रहनेले त सांगठनिक हैसियतलाई “स्वाहापति” मा पुर्‍याएको दोष अरू कसैलाई, कुनै नेताविशेषलाई वा पार्टी सभापतिलाई दिएर आफू पन्छिनु कुनै पनि हिसाबले मान्य हुन सक्दैन । जिम्मेवारी सबैको हो, अझ खासगरी त सचिवालय सञ्चालन वा प्रशासकीय जिम्मेवारीमा रहनेले यसको सबै दोष लिन सक्नुपर्दछ । सचिवालयले गरेका प्रायः निर्णयहरू दिशाहिन, गतिहिन र आडम्बरपूर्ण छन्, यो सबैले बुझेकै छन् । सचिवालय चलायमान हुन सकेन । सचिवालयकै कारण क्रियाशील सदस्यता वितरणमा ढिलासुस्ती रह्यो, निर्वाचन समितिले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन । विशेष वा नियमित महाधिवेशन भइहाल्यो भने जिम्मा लिएर निर्वाचन गराउने समितिसम्म गठन हुन नसकेको र सबै तहमा मतदाता नामावली समयमै उपलब्ध हुन नसकेको जिम्मेवारी महामन्त्रीहरूले लिनुपर्दछ कि पर्दैन ? सँगसँगै यो पनि हेरौं कि महामन्त्रीद्वयको कोटामा राजनीतिक वा प्रशासनिक नियुक्ति पाएका वा चुनावमा टिकटै पाएका मानिसहरूको अनुहारले समेत उहाँहरूको व्यक्तित्वको प्रदर्शन गरिरहेको छ । सचिवालय स्वाभाविक रूपमा महामन्त्रीहरूको प्रत्यक्ष जिम्मेवारीभित्रको संस्था हो । सचिवालयले नै कार्यकर्ताको दुःखसुखको सुनुवाइ, ज्येष्ठ वा वरिष्ठहरूप्रति सम्मान, खटनपटनको कदर वा संगठनलाई संस्थागत तुल्याउन आफूलाई चलायमान राखिरहनुपर्थ्यो । महामन्त्रीहरूको गति, मति र सरस्वतीमा शुद्धता कायम हुन नसक्दा पार्टीभित्र यो संकट आइलागेको हो ।

Advertisement

उहाँहरूकै कारण वडा तहसम्म रहेको एकीकृत संगठनलाई विशेष वा नियमित महाधिवेशनको लागि हस्ताक्षर अभियान भन्ने नाममा तीव्र फुट वा विखण्डन सिर्जना गर्ने काम गरियो । पार्टीलाई मुढेबलका आधारमा कब्जा गर्ने नीति अख्तियार गरियो । महामन्त्रीज्यूहरू नै पार्टीलाई विग्रह वा विखण्डन गर्न जोडतोडका साथ लाग्नुभयो । उहाँहरूले च्यापेका बिनाकाजका, दूरदृष्टिहीन अझै भन्ने हो भने लफंगा, हुल्लडबाजहरूलाई च्यापेर पार्टीभित्र अत्यन्त सीमितहरूलाई देवत्वकरण गर्ने र अधिकांशलाई पाखा लगाउने प्रवृत्ति बढ्यो । यसरी कांग्रेसलाई ‘न हाँस न बकुल्ला’ को चरित्रमा पुर्‍याउनुमा अवश्य पनि महामन्त्रीहरूको अहम भूमिका थियो, उहाँहरूलाई आफ्नो अनुहारले के भन्छ एकपटक ऐना हेर्न मेरो विनम्र अनुरोध छ ।

वर्तमान दिशाहिनताको अवस्थाः आवश्यकता वा बाह्य दबाब ?
यदि सचिवालयले तोकिएका कामहरू तोकिएकै समयमा फत्ते गर्न सकेको भए पक्कै पनि आजको विषम परिस्थिति सिर्जना हुने थिएन । वाक्पटुतामा अडेर मिठो भाषण गर्नु वा कार्यक्षेत्रको जिम्मेवारी इमानदारीपूर्वक कार्यान्वयन गरेर देखाउनु अलगअलग विषय हुन् । महामन्त्रीज्यूहरूले काखी च्यापेका र उहाँका पछि लागेका मानिसहरूको हालत वा अवस्था हेर्दा लाग्छ– कुनै पनि बेला उहाँहरूको निहित स्वार्थ पूरा नहुनासाथ कांग्रेसबाट कुलेलम ठोक्ने, साम्प्रदायिकता फैलाउने, सदासर्वदा आफ्नो मात्रै स्वार्थपरायणताको कुरा गर्ने, सधैंभरि व्यक्तिगत लोलुपतामा अल्झिने, अलि माथिल्लो लेभलको नेता हुँ भन्नेलाई हेर्दा राष्ट्रियताप्रति किञ्चित उपेक्षा गर्नेहरूको झुन्ड नै देखिन्छ ।

यदि महामन्त्रीज्यूहरूमा पार्टीप्रतिको स्वच्छता, इमानदारिता र सदाचार रहन्थ्यो भने त्यस्ता मान्छेहरूको घेराबन्दीभन्दा माथि उठ्ने साहस गर्नुपर्थ्यो । उहाँहरूले माग गरेको विशेष महाधिवेशनमा सहभागी हुन आउने धेरैजसोहरूको गठजोड मोह, गुटगत चलखेल, भागबन्डाको संस्कृति र विदेशीहरूसँगको उठबस, साँठगाँठ अवश्य देखिन्छ । संगठन उहाँहरूको बिर्ता वा पेवा थिएन र होइन । यो त हजारौं सपुतहरूको बलिदानी र त्यागको उपज हो । तसर्थ महामन्त्रीज्यूहरूले र उहाँका आसेपासेहरूले पार्टीलाई भोजनालय र तर मार्ने प्रवृत्ति नपाल्नुहोला । यहाँहरूको अहमता, महत्त्वाकांङ्क्षा र प्राप्त हुन आएको वैदेशिक इसाराले पार्टीलाई छिन्नभिन्न तुल्याउन पाइँदैन । महामन्त्रीमध्ये पनि विशेषतः गगन थापाको वैदेशिक इसारामा वा इसाराअनुसारको लहडमा निर्णय लिने प्रवृत्तिले विगतदेखि नै पार्टीलाई चरम हानी पुर्‍याउँदै आएको छ । संवैधानिक राजतन्त्रसँगको सम्बन्धलाई तोड्न वा तोडाउनमा, बाख्रा वा गाईपालन अनुदान लिएर हिनामिना तुल्याउनमा, रवि लामिछानेजस्ता सेलिब्रिटी तथा अराजनैतिक व्यक्तिलाई राजनीतिमा उतारेर उसैसँग अघोषित गठबन्धन कायम गर्न, मुलुकको प्रमुख प्रशासनिक/न्यायिक अङ्ग ध्वस्त तुल्याउनेहरूसँग घोषित/अघोषित उठबस कायम गर्न, मुलुकले वर्षौं वर्षदेखि पहिचान कायम गर्दै आएको हिन्दू धर्मसापेक्षतालाई निमिट्यान्न तुल्याएर मुलुकलाई पूर्णतः इसायीकरणतर्फ अग्रसर तुल्याउन उहाँले विगतदेखि खेल्दै आएको बेइमानीपूर्ण भूमिका र चरित्रलाई हामीले कुनै पनि हालतमा बिर्सन हुँदैन । नेपाली कांग्रेस न त शेरबहादुर देउवा वा गगन/विश्वको पेवा होइन । यो त हजारौं सपुतहरूको त्याग, बलिदान र मेहनतले संस्थापित पार्टी हो । यसलाई भोजनालय कायम गरेर तर मार्ने सपना कसैले नदेखे हुन्छ ।

विशेष महाधिवेशनको औचित्यः
नेपाली कांग्रेसको विधान, २०१७ लाई हेर्दा विशेष राजनैतिक परिस्थितिको अपरिहार्यताले विशेष महाधिवेशन निम्त्याउन सक्दछ तर यसका लागि केन्द्रीय समितिको सहमति वा निर्णय अपरिहार्य रहन्छ । २०१४ सालमा दिवानसिंह राईले आह्वान गरेको विशेष महाधिवेशनमा सभापति बीपी कोइरालाको समर्थन, सहमति वा सहभागिता समेत थियो । केन्द्रीय समितिबाट निर्णय पारित नगरुन्जेलसम्म विशेष महाधिवेशनको कल्पना गर्न सकिँदैन । २४८८ जना महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी माग गरिएको भनिएको मिति २०८२/०८/२९ को निवेदनलाई पुस ६ मा स्मरण गराउने काम भयो, तर मिति २०८२/०८/१४ बसेको समितिको बैठकले विशेष महाधिवेशनको औचित्य नै समाप्त गरिदियो र नियमित महाधिवेशनको मिति नै किटान गरिदियो । नियमित महाधिवेशनको मिति किटान भइसकेपछि त्यसका लागि आवश्यक तयारी गर्ने, मतदाता नामावलीलगायतका आवश्यक कागजातहरू वडा तहसम्म पठाउने, निर्वाचन तथा मतदान अधिकृतहरू नियुक्त गर्ने काम सचिवालयको हो । तत् कुरामा मौन रहेर विदेशीहरूलाई गोप्य सूचनाहरू प्रवाह गर्ने, निधारमा टिका र शिरमा फूलले सजिने तर मिसन भने क्रिश्चियनको चलाउने, एमसीसीसमेतका राष्ट्रघाती सम्झौता गरेर देशको राष्ट्रियता नै कमजोर तुल्याउने काम कसको निर्देशनमा भएको छ ? गहिराइमा गएर बुझ्नका लागि पनि साथीहरूलाई आग्रह गर्दछु । मुलुकलाई तीव्र इसायीकरणतर्फ लगिँदै छ । अधिकांश ठूला चर्चको शिलान्यास वा उद्घाटन वा ठूला खाले इसायी सम्मेलनमा हाम्रा महामन्त्रीको प्रमुख आतिथ्यता तपाईं हामीले देखेकै हो । नेपालको मौलिक धर्म संस्कृतिको जगेर्ना भएन भन्दै गोहीको आँसु चुहाउने हामीहरू यदि यस्तै इसायी एजेन्टहरूको मतियार बन्न पुग्यौं भने के हाम्रो धर्म संस्कृतिको जगेर्ना सम्भव छ ? मुलुकलाई इसायीकरणतर्फ लैजान सबैभन्दा पहिला गणतन्त्र र धर्मनिरपेक्षताको पार्टीका लागि अकल्पनीय नारा अघि सारेर सुरुमा माधव नेपाल, तत्पश्चात प्रचण्ड र केपी ओलीसमेतसँग गठबन्धन गर्ने व्यक्ति गगन थापा नै हुन् । यस्ता कुराहरूलाई हामीले कहिल्यै खबरदारी गर्न सकेनौं । हामी त केवल पार्टीको केन्द्रीय समितिको निर्णयबिना हुँदै गरेको कथित विशेष महाधिवेशनलाई के–के न ठूलो परिवर्तन सम्झेर बेसमझमा दौडिरहेका छौं । विशेष महाधिवेशन पक्कै पनि कसैको कुण्ठा वा आवेग पोख्ने हुँकार वा दम्भ प्रदर्शन गर्ने प्लेटफर्म मात्र हो । यो कुनै विधि, विधान वा नियम वा अनुशासनभित्र भएको अधिवेशन होइन । यस्तो ठाउँमा भाग लिन जानु र नजानुको कुनै अर्थ वा औचित्य रहँदैन । विशेष महाधिवेशन भनेर फलाक्ने तर त्यसका लागि आवश्यक पृष्ठपोषण के–के हुन् भन्ने कुरा ध्यान नदिने वा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले पार्टीलाई अवश्य पनि विखण्डनतर्फ उन्मुख गराउनेछ ।

खबरदार विदेशी एजेन्टहरू, पार्टी फुटाउन पाइँदैनः
अहिले हाम्रो देशमा अग्रज नेताको होइन विदेशी दलालहरूको दृश्य झल्कने र गन्ध फैलने काम हुँदै गरेको देखिन्छ । अहिले विशेषतः अमेरिकीहरू र सँगसँगै भारतीयहरू आफ्ना एजेन्टहरू जन्माउन र हुर्काउन लागि परेको देखिन्छ । कुनै बेला अमेरिकीहरूको बफादार एजेन्ट भएका ओसामा बिन लादेन, सद्दाम हुसेन, ह्युगो चाभेज, निकोलस माधुरो र नेपालका पनि थुप्रै घोषित/अघोषित एजेन्टहरूको बारेमा चर्चा हुने गर्दथ्यो । हाल आएर यी कुराहरू सतहमै छताछुल्ल भएका छन् । जुन–जुन मुलुकमा विदेशीहरूले आफ्ना एजेन्टहरू छाड्ने काम गरेका थिए, तत्तत् मुलुकले नोक्सानी बेहोरेको हाम्रा आँखाले देखिसकेको छ । चीनले हालै पनि पटकपटक भन्ने गरेको छ कि नेपालका विभिन्न कम्युनिस्ट घटकहरू खासगरी अमेरिकी गुप्तचर संस्था सीआईए र अन्य विभिन्न शक्तिकेन्द्रका आधारमा उनीहरूकै खर्च र निर्देशनमा चल्ने एजेन्टहरू हुन् । यिनीहरूबाट कम्युनिस्टको मर्म, धर्म र नैतिकता वा सिद्धान्त बच्न सक्दैन, हाम्रो भरपर्दो मित्र त नेपालको राजसंस्था हो । चिनियाँहरूले पनि बुझिसकेका छन् कि नेपालका अधिकांश राजनीतिक दलहरूभित्रका प्रायः प्रभावशाली नेताहरूले बारबरा फाउन्डेसन, कार्टर सेन्टर, यूएसएड र युरोपियन युनियनजस्ता विभिन्न मिसनरीमार्फत मोटो रकम बुझ्ने गरेका छन् । अमेरिकी राजदूतावासको वेबसाइटमा गगन थापाको फोटो नै राखेर ‘आवर फोकल पर्सन अफ पार्लियामेन्ट इन नेपाल’ भनिएको छ । गगन थापा, रवि लामिछाने, बालेन र कुलमान एउटै शक्तिकेन्द्रभित्रका बफादार एजेन्टहरू हुन् । यिनीहरूलाई एकै ठाउँमा उभ्याएर अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्न खोज्दैछ भनेर सामाजिक सञ्जालमा दुर्गा प्रसाईंले फलाक्दै आएको विषय पनि हो । वर्तमान भूराजनीतिक अवस्था हेर्दा युक्रेनलाई रुसले, ताइवानलाई चीनले, भेनेजुएला लगायतलाई अमेरिकाले आफ्नो शक्ति सञ्चयको केन्द्र बनाइसकेको छ । चीनको बढ्दो दबदबा वा शक्ति देखेर अत्तालिएको अमेरिकाले चिनियाँ प्रभाव बुझ्न वा नियन्त्रण गर्न नेपाललाई शक्ति सञ्चयको केन्द्र बनाउन खोजेकै छ । यता चीनले विदेशी प्रभाव दक्षिण एसियामा पर्न नदिन हिन्द महासागरमा ठूलो सैन्य शक्ति तैनाथ गरिसकेको छ । हिन्द महासागरमा तैनाथ गरिएको चिनियाँ प्रभावलाई विशेषतः भारतीयहरू आँखाको कसिङ्गर ठान्ने गरेका छन् । भारतीयहरूले पनि सो क्षेत्रलाई आफ्नो जलसेनाको अखडा बनाउन चाहन्छन् । प्रत्यक्षतः चिनियाँ उपस्थितिलाई रोक्ने हिम्मत नदेख्ने तर कतिपय मामिलामा इन्डो–पश्चिमा रणनीति बन्दै जाने क्रम जारी छ । उक्त रणनीतिको प्रयोगशाला नेपाल बन्दैछ । उक्त रणनीतिअन्तर्गत इन्डो–पश्चिमाहरूले छानेका राजनीतिज्ञहरूभित्रको एउटा नाम गगन थापा पनि हुन् भन्ने तपाईं हामी सबैलाई थाहै छ । अहिले इन्डो–पश्चिमाहरू केही मामिलामा असहमत हुँदाहुँदै पनि नेपाललाई हेर्ने नजर वा दृष्टिमा अवश्य एकै ठाउँमा उभिएका छन् । त्यसमध्येको पहिलो रणनीति चीनको बढ्दो सैन्य शक्ति वा प्रभाव रोक्न नेपाललाई सेन्टर पोइन्ट बनाउनु रहेको छ । कतिपय मामिलामा इन्डो–पश्चिमा स्वार्थ बाझिएको पनि छ । बंगलादेशको विशाखापट्टनम टापु र अन्डमान टापुमा अमेरिकाले स्थापित गर्न खोजेको सैन्य अखडामा भारतले विरोध वा असन्तुष्टि जनायो । भारतले शेख हसिनालाई यस मामिलामा दह्रो हतियार बनायो । त्यसैको फलस्वरूप बंगलादेशले ‘जेन जी’ आन्दोलनको तिक्तता बेहोर्न पुग्यो । प्रधानमन्त्री भागेर भारतमा आश्रय लिन पुगिन् । यता चीनले प्रस्ताव गरेको बीआरआई र अरू विभिन्न परियोजनामा नेपालले समर्थन गरेका कारण चिनियाँ प्रभाव रोक्न इन्डो–पश्चिमा एकै ठाउँमा उभिन पुगे । नेपालमा ‘जेन जी’ आन्दोलनको सुरुआत गराइयो । खर्बौंको सम्पत्ति र देशका सार्वभौमिक प्रमाणहरू खरानी तुल्याइए । ‘जेन जी’ हरूले देखाउने नाममा गगन थापामाथि नाममात्रको नोक्सानी पुर्‍याए । ‘जेन जी’ आन्दोलनका नकारात्मकताका बारेमा गगन थापा कहिल्यै विरोधमा उत्रिएनन् । ‘जेन जी’–गगनको मैत्रीभाव सदैव कायम रह्यो । गगन र केही उनका समर्थकहरूको निर्वाचन क्षेत्रमा रवि लामिछानेको स्वतन्त्र पार्टीले उम्मेदवार नै नउठाएर सहयोग पुर्‍यायो । रवि र रविका मतियारसँग प्रतिस्पर्धा गर्ने कांग्रेस उम्मेदवारहरू गगन प्रवृत्तिको सिकार बन्न पुगे । नेपालमा वर्तमान अवस्थामा खासगरी अमेरिकी सैन्य नीति लागू गर्न ज्यान फालेर लाग्ने गगन प्रवृत्तिलाई कुनै पनि हालमा राष्ट्रिय हितको पक्षमा छ भन्न सकिँदैन । त्यसकारण गगन थापाबाट नेपाली कांग्रेसको विरासत संरक्षण हुन्छ वा पार्टी जोगिन्छ भन्ने सोच्नु दिउँसै सपना देख्नु हो । म फेरि पनि भन्छु– विवेक गुमाएर न्यूनतम धैर्यता कायम राख्न नसकेर संस्थापनलाई मात्र गाली गरेर आफूलाई क्रिश्चियनवादी हिन्दूको रूपमा उभ्याएर बौद्धहरूलाई अमेरिकी रणनीतिअन्तर्गत अमेरिकालाई नै लाभ पुग्ने गरी प्रयोग गरेर पश्चिमा शक्तिको पैसाको भरमा दक्षिणी शक्तिको भरपुर उपयोग गरी इतिहासका केशरजंग रायमाझी, मदनमणि दीक्षित र हिजोका बाबुराम–प्रचण्डले निभाएको भूमिका निभाउन गगनलाई ढाल तुल्याएर पछाडिबाट बल पुर्‍याउने केही छरुवाहरू जसमा विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल आदि प्रवृत्तिहरू लागि परेका छन् र यिनीहरूले नेपाली कांग्रेसलाई थप अस्थिर वा तरंगित तुल्याउन खोजेका छन् । नेतृत्व युवाको काँधमा आउनुपर्छ भन्ने रास्वपावादीहरूलाई लाभ पुग्ने गरी चलखेल गरिरहेका छन् । वास्तवमै यिनीहरूको असली रूप भविष्यले उदाङ्गो पारिदिनेछ र यिनीहरूको नाम इतिहासमा कालो अक्षरले लेखिनेछ ।

उपसंहारः
कांग्रेस वर्तमान अवस्थामा महासंकटको घेरामा रुमल्लिएको छ । कांग्रेस ‘न हाँस न बकुल्ला’ को चालबाट गुज्रिरहेको छ । कांग्रेसलाई यो अवस्थामा ल्याउन मूल नेतृत्व वा शेरबहादुर देउवाको कुनै दोष थिएन भनेर म भन्दिनँ । तर हिजो शेरबहादुर देउवालाई सभापति बनाइसकेपछि मूल नेतृत्वअन्तर्गत रहेको सहायक नेतृत्वको मात्र हुर्मत लिएर आफू पानीमाथिको ओभानो देखिने प्रवृत्तिले पार्टीको हित गर्न सक्दैन र पानीमा टेकेका तर पाइलो नपारेकाहरूको नेतृत्व क्षमता संस्थापित गर्न सक्दैन । हस्ताक्षर अभियान चलाउन र विशेष महाधिवेशन चलाउन बारबरा फाउन्डेसन, कार्टर सेन्टर, युरोपियन युनियन, भारतीय राजदूतावास आदि शक्तिकेन्द्रहरूबाट महँगो रकम बुझेर ल्याएको भन्ने चर्चा राजनीतिक वृत्तमा हुने गरेको छ । यदि यो कुरा साँचो हो भने विदेशीको चारो खाएर लामो इतिहास बोकेको प्रजातान्त्रिक पार्टीलाई द्वन्द्व र बेमेलको अवस्थामा लैजानु महापाप रहनेछ, यसले विशेष महाधिवेशनवालाहरूको जनविश्वासलाई ध्वस्त तुल्याउनेछ । यदि विदेशीकै पैसाको बलमा यो खैलाबैला मच्याइएको हो भने कांग्रेस निमुखा र गरिबहरूको पार्टी नभएर दलाल वा माफियाहरूको झुन्डमा रूपान्तरण हुनेछ । यदि यस्तै हो भने गगन लगायत सीमित व्यक्तिहरूको षड्यन्त्रमूलक घेरामा पार्टी सीमित हुनेछ र यसले समस्त पार्टीलाई नै दुर्गन्धित तुल्याउनेछ । यसको बदनामी हरेक कार्यकर्ताहरूले खेप्नुपर्नेछ । पछिल्लो अवस्थामा खेतबारीमा जोत्न नारिएको गोरुलाई चुट्ने, पुच्छर निमोठ्ने र छाडा साँढेलाई पुज्ने वा महत्त्व दिने अवस्था छ । न बाउले, न बाजेले, न आफूले कांग्रेसलाई पाँच पैसाको गुन लाउन नसक्नेहरू आज नम्बरी कांग्रेस बनेर विशेष महाधिवेशनको प्रशंसा गर्न उद्यत देखिन्छन् । यस्तै छाडा र मत्ता साँढेहरू रमाउनका लागि मात्र विशेष महाधिवेशन गरिएको हो कि भन्ने प्रतीति हुन आएको छ । कांग्रेस अवश्य पनि विचार, मूल्य र सिद्धान्तमा संस्थापित पार्टी हो । कांग्रेसमा आस्था राख्ने हरेकले हरेकसँग आपसी समझदारी, भरपत्यार वा विश्वास कायम राख्नैपर्ने हुन्छ । तर यहाँ त विशेष महाधिवेशनको नाममा कसैलाई देवत्वकरण गर्ने र कसैलाई राक्षसीकरण गर्ने तुच्छ प्रवृत्ति देखिएको छ । यसले विशेष वा नियमित महाधिवेशन पक्षधर भनी वडा तहदेखि नै थप विभाजित तुल्याएर एक–अर्कोप्रति अविश्वास, वैमनस्यता र द्वन्द्व सिर्जना गर्ने काम गरिनुहुँदैन ।

गण्डकी प्रदेशका मुख्यन्यायाधिवक्ता पौडेल म्याग्दीबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

तपाईको प्रतिक्रिया