सम्पादकीय—साहित्य र संस्कृतिको नयाँ आयम

पर्यटकीय सहर पोखरा केवल प्राकृतिक सुन्दरता र विदा मनाउने थलोमा मात्र सीमित छैन, बरु यो क्रमशः नेपाली प्राज्ञिक र साहित्यिक बहसको केन्द्रका रूपमा समेत स्थापित हुँदै गएको छ । पोखरामा शनिबार सम्पन्न ‘बुकहिल बुकान्जा’ उत्सवले यस तथ्यलाई पुनः पुष्टि गरिदिएको छ । बुकहिल पब्लिकेसन र र्यान्डम रिडर्स सोसाइटीको सहकार्यमा आयोजित यो उत्सवले साहित्य, कला र विचारलाई एउटै थलोमा ल्याएर समाजको चेतनालाई मन्थन गर्ने काम गरेको छ । एउटा जीवन्त समाजका लागि भौतिक विकास जति अनिवार्य छ, त्योभन्दा बढी वैचारिक बहस र सांस्कृतिक जागरण आवश्यक हुन्छ भन्ने सन्देश यस कार्यक्रमले दिएको छ ।
उत्सवको पहिलो सत्र ‘असहमतितन्त्र’ ले लोकतन्त्रको वास्तविक मर्मलाई उजागर गर्यो । विश्लेषक सौरभ र एकान्त शर्माबीचको वैचारिक द्वन्द्वले के स्पष्ट पार्यो भने, समाजमा स्थापित मान्यताहरुमाथि प्रश्न उठाउनु र फरक मत राख्नु नै बौद्धिक विकासको आधार हो । सौरभले इतिहास र संस्कृतिका कतिपय पक्षमाथि राखेको तिखो विमति र एकान्त शर्माले सनातन जगलाई नै राष्ट्र निर्माणको आधार मान्नुपर्ने अडानले दर्शकलाई विचारको नयाँ गहिराइमा पुर्यायो । यसले समाजमा असहमतिलाई सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्छ भन्ने बलियो तर्क पेस गरेको छ ।
साहित्यिक उत्सवहरू केवल पुस्तक चर्चामा मात्र केन्द्रित हुनु हुँदैन भन्ने उदाहरण सीमा आभासको ’महायुग’ माथिको विमर्शले दियो । कलालाई हेर्ने दृष्टिकोण र विशेषगरी महिलाको अस्तित्व र आत्मसम्मानका विषयमा पूर्वीय दर्शनको जगमा उभिएर गरिएको बहसले हाम्रो सामाजिक बुझाइको दायरा फराकिलो बनाएको छ । कला र चित्रलाई लिएर सामाजिक सञ्जालमा हुने सतही बहसभन्दा माथि उठेर त्यसको अन्तर्य र दर्शन बुझ्नुपर्ने आवश्यकतालाई यसले महसुस गराएको छ । यस्तै, निष्प्रभ सजीको ‘याली’ उपन्यासको लोकार्पण र त्यसको सिर्जना प्रक्रियामाथि भएको छलफलले नेपाली साहित्यमा ग्रामीण जीवनदेखि विश्वव्यापी आप्रवासनका कथालाई कसरी उधिनिएको छ भन्ने देखाएको छ ।
त्यस्तै, विश्वयात्री पुस्कर शाहका भोगाइले राष्ट्रप्रेम र नागरिकको पहिचानबारे गम्भीर प्रश्नहरू उठाएका छन् । १ सय ५० भन्दा बढी देशको यात्रा गरेका शाहले महसुस गरेको नेपालको ‘कमजोर राहदानी’ को पीडा र राज्यको उपस्थितिको अभावले हाम्रो कूटनीतिक र राजनीतिक अवस्थाको ऐना देखाउँछ । निबन्ध, कविता र संगीतका सत्रहरूले मानिसको संवेदनामाथि प्रहार गर्दै समाजमा व्याप्त विभेदपूर्ण व्यवहारलाई न्यूनीकरण गर्न सिर्जनात्मक हस्तक्षेपको खाँचो औँल्याएका छन् ।
यस्ता उत्सवहरूले समाजमा केवल निराशा मात्र छैन, बरु आशा र चिन्तनको नयाँ मार्ग पनि बाँकी छ भन्ने संकेत गर्छन् । पोखरामा भएको यो प्राज्ञिक जमघटले लेखक, पाठक र चिन्तकबीचको दूरी कम गर्ने मात्र होइन, समाजलाई अग्रगामी दिशातर्फ लैजान मद्दत पु¥याएको छ । वैचारिक संघर्ष र सांस्कृतिक संगीतको यो संगमले पोखराको पहिचानमा नयाँ आयाम थपेको छ । अबका दिनमा यस्ता बहसहरूलाई अझै व्यापक र समावेशी बनाउँदै लैजानु राज्य र नागरिक समाज दुवैको दायित्व हो । विचारको यो दियोले नै समाजको अन्धकारलाई चिर्न मद्दत गर्नेछ ।









महामन्त्री शर्माद्वारा विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस- पूर्णपाठ
कांग्रेस विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने
सक्षम सहकारीको सभा
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्रीद्वयले विधान संशोधनको प्रस्ताव पेस गर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया