
पोखरा । बाल्यकालदेखिको चित्रकला मोह अहिले पनि उस्तै छ । चित्र कोर्नेमात्र नभएर उनी रुचि भएकालाई सिकाउँछिन् पनि । कुनै समयको चल्तीको ट्याटु खोप्ने काम छाडेर ६३ वर्षमा उनी बच्चादेखि बृद्धसम्मलाई क्यानभासमा सँगै लिएर हिड्छिन् । चित्रकला सिकाउनकै लागि उनी ‘इसेन्स अफ मुलरानी’ नामक संस्थामार्फत कक्षा चलाउँछिन् ।
‘इसेन्स अफ मुलरानी’ सञ्चालन गर्ने महिला हुन्, आयरल्यान्डकी ६३ वर्षीया लोरा मुर्फी । चित्रकलाकै शिलशिलामा नेपाल आएकी लोराले चित्रकला आफ्नो प्राण भएको बताइन् ।
‘मलाई अनुहारहरू मन पर्छन् र बाल्यकालदेखि नै म त्यही चित्र बनाउन चाहन्थें ।सबै स्कूलका किताबमा आँखा र ओठ, अनुहार र आकृतिहरूको डुडलहरू थिए । मलाई दृष्टिकोणको खोज स्पष्ट रूपमा याद छ,’ उनले भनिन्, ‘म लगभग ७ वर्षको थिएँ र मैले मानिसको समूहको चित्र बनाएको थिएँ । अचानक मलाई महसुस भयो कि यदि मैले आकृतिहरूको पछाडि रेखा बनाएँ भने म तिनीहरूलाई कोठामा राख्न सक्छु । त्यस क्षणदेखि म पूर्ण रूपमा मोहित भएँ ।’
चित्र बनाउँदा त्यसले पैदा गर्ने भावनाले आफूलाई मोहित पार्ने लोरा सम्झिन्छिन् । ‘यो खोजको वास्तविक यात्रा थियो र यसको आनन्द र आश्चर्यले मलाई कहिल्यै छोडेको छैन,’ लोराले थपिन्, ‘जब म अनुहारहरू हेर्छु र प्रकाश कसरी हिट हुन्छ र गालाहरू कसरी घुम्छन् वा हाफटोनहरूले कसरी भोल्युमको भावना प्रदान गर्न सक्छन् भनेर विश्लेषण गर्ने प्रयास गर्छु, तब म अझै पनि अचम्मको भावना महसुस गर्छु ।’ आफूले तेल चित्रकलाको तालिम लिएको सम्झदै लोरा भन्छिन्, ‘१५ वर्षअघि मेरो एन्कास्टिकसँग परिचय भएको थियो । मलाई मेरो पहिलो चित्र याद छ, त्यो बेला मेरो आँखाबाट आँसु बगिरहेको थियो ।’
यी यस्तै किस्साका कारण लोरा अहिलेसम्म चित्रकलामै छिन् । यही मोहका कारण आयरल्यान्डको राजधानी डब्लिनमा उनको भब्य ट्याटु पसल थियो । उनीसँग ट्याटु खोप्न महिनौं अघिदेखि अनुमति लिएर बस्नुपथ्र्यो । तर, उनलाई त्यो पेसामा बस्न मन लागेन । आफूमा भएको कला अरुलाई बाड्न मन लाग्यो । उनी अमेरिका हान्निइन् ।
अमेरिका केही वर्ष बसेर पुनः आफ्नै देश आयरल्यान्ड फर्किएर ‘इसेन्स अफ मुलरानी’ संस्था स्थापना गरी चित्रकला कक्षा चलाएकी हुन् । उनको कक्षामा अनलाइन फर्म भरी चित्रकला सिक्न पाइन्छ । अहिले इसेन्स अफ मुलरानीमा विभिन्न देशका ५ हजारभन्दा बढी सदस्य छन्, जो लोरासँग चित्र बनाउन सिक्न चाहन्छन् ।
आयरल्यान्डमा बसेर अनलाइनमार्फत् पेन्टिङ सिकाउने लोरा मुर्फी अन्तिम सिकाईका लागि कलाकार लिएर बर्सेनि नेपाल आउँछिन्
१ वर्षको अनलाइन कक्षा लिएपछि उनीहरुलाई एक पटक भौतिक रुपमा उपस्थित गराएर कक्षा दिइन्छ । उक्त कक्षाका लागि उनी आयरल्यान्ड भन्दा परको देश चुन्छिन् । सोही क्रममा उनको रोजाइमा पर्ने देश बन्यो नेपाल । लोराको नेपाल साइनो ३० वर्षअघिको हो । लोरा नेपालमा व्यवसाय चलाउने योजनाका साथ आउँदा नेपालका डिल्लीरत्न तुलाधरसँग भेट भएका थियो । तुलाधर नेपालबाट हस्तकला र गार्मेन्टका सामान विदेश निर्यात गर्छन् । त्यो बेला लोराले नेपालमा व्यवसाय त गरिनन् तर, तुलाधरसँग सहकार्य थालिन् ।
त्यही सहकार्यमा पछिल्लो ३ वर्षदेखि इसेन्स अफ मुलरानीका कलाकार विद्यार्थी नेपाल आउँछन् । यो वर्ष पनि लोरा आफ्ना १५ विद्यार्थीसँगै नेपाल छिन् । इंगल्यान्ड, अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क र आयरल्यान्डका १६ देखि ७८ वर्षसम्मका विद्यार्थीसहित उनी पोखरामा १ हप्ता बसेर सोमबार काठमाडौं फिर्ती हुँदै छिन् ।
‘लोराले आयरल्यान्डमै अनलाईन कक्षा लिन्छिन् । अनि फाइनल सिकाउनका लागि भौतिक रुपमै उपस्थित गराउँछिन् । भौतिक उपस्थितिका लागि नेपाल रोज्छिन्,’ तुलाधरले भने, ‘अनलाइनबाटै नेपालको तालिका र खर्च सुनाउँछिन् । अनि, आउन चाहनेहरु सिधैं नेपाल आएर भेट्नछन् । जो भौतिक रुपमा कहिल्यै भेटेका हुन्नन् ।’
यसरी उनीहरुको नेपाल यात्रा सुरु हुने गरेको तुलाधार सम्झन्छन् । नेपालमा उनीहरुलाई संयोजन गर्ने काम उनै तुलाधरले गर्छन् । नेपाल आउने बखत लोराको भ्रमण तालिकामा पोखरा छुट्दैन । यो पटक पनि उनको समूहको पोखरा बसाईं सोमबार सकिएको हो । एक हप्ताको पोखरा बसाईंका क्रममा टोलीले घुमाईंसँगै चित्रकला वर्कसप ग¥यो । सिर्जनशील कलाकार समूहको आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भएको ‘आर्ट इन हिमालय’ शीर्षकको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा पनि उनीहरु सहभागी बने ।
लोराले ल्याएका कलाकार टोलीका सदस्यहरु कला प्रवर्धनसँगै यहाँको प्राकृतिक सुन्दरता र जनजीवन बुझ्न पोखराका विभिन्न ठाउँको भ्रमण गरे । प्रदर्शनीमा आएका कलाकार पर्यटन राजधानी पोखराको सुन्दरता नियाले । नेपाली कलाकारले कलामा गरेको जीवन, जगत् चित्रणले आफूलाई आकर्षण गरेको लोरा सुनाउँछिन् । नेपाल आएको बखत उनी यहाँका कलाकारहरुलाई पनि सिकाउँछिन् ।
लोरालाई चिनेका र उनको कलासँग परिचितहरु नेपाल आउने समय कुरेर बस्ने गरेको संस्थाका नेपाल प्रमुख तुलाधरले बताए । नेपाली कलाकारलाई विदेशी कलाकारको सीप, अनुभव र ज्ञानबाट सिक्ने मौका प्रदान गर्न र नेपालको प्रवर्धन गर्न यस्तो पहल गरिएको तुलाधरले जनाए ।
नेपाल र पोखराबाट प्रभावित भएर चित्रकलाका लागि यो ठाउँ रोजेका उनी बताउँछिन् । ‘मेरो विद्यार्थीको ठाउँमा यहाँको जस्तो हिमाल, पहाड, समथर भूभाग अनि ताल एकै ठाउँमा पाउन गाह्रो छ,’ उनले भनिन्, ‘यस्तो ठाउँमा घुम्न अनि यहाँ बसेर चित्र कोर्न सबैलाई रहर हुन्छ ।’ यसभन्दा अघि २ पटक यस्तै समूह लिएर आउँदा उनीहरुले पनि राम्रो प्रतिक्रिया दिएको लोराले सुनाइन् । यही वर्ष थप कलाकार र कलालाई पोखरा ल्याएर जनवरी २१ देखि २३ सम्म अर्काे कला प्रदर्शनीमा समट्ने उनले जानकारी दिइन् ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया