
जोमसोम ।
हिउँदको चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्दै गएको छ । ठिही कडा हुँदै गएपछि सदरमुकाम जोमसोमसहति यहाँका होटलहरु सुनसान हुन थालेका छन् ।
हिउँदमा यहाँको पर्यटन व्यवसाय ठप्पै हुने गर्छ । यसैका कारण यहाँ हुन पर्यटकीय ‘अफसिजन’को छेकोमा यहाँका पर्यटन व्यवसाय जाडो छल्ने बहानामा बेँसीतर्फ झर्छन् । पछिल्लो समय बेनी जोमसोम सडक सहज भएकाले यहाँ कतिपय पर्यटन व्यवसायी पर्यटक पर्खिएर बसेका छन् । चिसो बढेसँगै पोखरा–जोमसोम हवाई सेवा १ महिनाअगावै स्थगित भइसकेको छ । राष्ट्रिय राजमार्ग सडकमा पनि पर्यटक सवार सवारीसाधनको चाप निकै न्यून छ ।
माथिल्लो मुस्ताङमा गत कात्तिकमा यस यामको पहिलो हिमपात भएको थियो भने तल्लो मुस्ताङमा हिमपात भएको छैन । तर, यहाँ हिउँद यामसँगै अत्यधिक चिसो र उत्तरी हावाहुरीको प्रभावले जनजिवन प्रभावित बनेको छ । पुस लागेसँगै यति बेला बिहान र बेलुकी माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिगी सेल्सियस र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।
यहाँ हिउँदको उत्तरी हावाहुरीको प्रभावका कारण स्थानीय नागरिक सहजै घर बाहिर हिँडडुल गर्न सक्ने अवस्था छैन । यहाँ मध्याह्न मौसम खुलेर घाम लागे पनि उत्तरी हावाहुरीसँगै चिसो सिरेटो चल्न थालेपछि दैनिक जनजीवनका असर परेको छ ।
अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङका लोमान्थाङका होटल र स्थानीयका घर पूरै बन्द छन् । त्यहाँका नागरिक घरमा ताल्चा मारेर जाडो छल्न बेँसी झरिसकेकाले माथिल्लो मुस्ताङ पूरै सुनसान बनेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताए । यहाँस्थित मुक्तिनाथका होटल खुले पनि पर्यटकीय चहलपहल देखिँदैन ।
बिहान र बेलुकी माथिल्लो मुस्ताङको तापक्रम माइनस २० र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्री सेल्सियससम्म छ
होटल र घरका स्थानीय नागरिक पर्यटकीय अफसिजन भएकाले आलोपालो गरेर बेँसी झर्ने गरेका छन् भने आंशिक जनशक्तिले होटल खोलेर बसेका छन् । बर्खा याममा खचाखच पर्यटकले भरिने यहाँका अधिकांश होटलले अफ सिजनका कारण खाली भएका छन् । हिउँद यामको पुस र माघ महिना अधिकांश मुस्ताङी जाडो छल्न बेँसी झर्छन् । माथिल्लो मुस्ताङका नागरिक भने कात्तिक नलाग्दै जाडो छल्न बेँसी झर्ने र वैशाख लागेपछि मात्रै माथि उक्लिन्छन् ।
चिसोसँगै माथिल्लो मुस्ताङमा खोला, शाखा नदी, घरका धारा, सिँचाइ कुलो र घरका सेफ्टी ट्याङकी जमेर बरफ बनेपछि त्यहाँका स्थानीय नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ । जाडो छल्न बेँसी नझरी गाउँ कुरेर बसेका स्थानीय नागरिकको स्वास्थ्यमा चिसोले असर पुर्याउने गरेको छ । तल्लो मुस्ताङमा स्थानीय किसान अत्यधिक चिसो सहँदै स्याउ बगैँचा व्यवस्थापन कार्यमा लागेका छन् ।
यहाँ पर्यटकीय चहलपहल ह्वात्तै घटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मंसिरको तुलनामा पुसमा विदेशी पर्यटक बढे पनि स्वदेशी पर्यटकको संख्या घटेको छ । पुसमा २४ हजार १० अर्थात् ५६ दशमलव ६६ प्रतिशतले स्वदेशी पर्यटकको आगमन घटेको हो ।
बेनी जोमसोम सडक मार्ग हुँदै अझै पनि दैनिक एक–डेढ सय पर्यटक मुस्ताङ आउने गरेको जनाइएको छ । पर्यटकीय याम जस्तो चहलपहल नभए पनि आंशिक रुपमा पर्यटक चिसो याममा पनि आउने गरेको पाइएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालयको पर्यटकीय अभिलेख अनुसार गत आवको साउनदेखि पुससम्म पर्यटकीय आगमनको तुलना गर्दा चालु आवको साउनदेखि पुस २१ गतेसम्म १० दशमलव शून्य ५ प्रतिशतले पर्यटक आगमन घटेको देखिन्छ । गत आवको सुरुआती ६ महिनामा ३ लाख १२ हजार ४७१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । चालु आवको पुस २१ गतेसम्म हिमाली २ लाख ८० हजार ९ सय २९ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ ।
चालु आवको साउनदेखि पुस २१ गतेसम्म २ लाख २१ हजार ६ सय ५३ आन्तरिक र ६० हजार ३ सय ४७ बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । चालु आवको साउनमा ११ हजार ८ सय ३१, भदौमा १३ हजार ५ सय ५०, असोजमा ६५ हजार ७ सय ४०, कात्तिकमा ७९ हजार ८ सय, मंसिरमा ४२ हजार ३ सय ७१ र पुस २१ सम्ममा १८ हजार ३ सय ६१ जना आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।
साउनमा ७ हजार ९ सय ५०, भदौमा ९ हजार ६ सय ५५, असोजमा ९ हजार ८ सय ५९, कात्तिकमा १३ हजार ९ सय ६६, मंसिरमा ६ हजार ६ सय ७९ र पुस २१ गतेसम्म १२ हजार २ सय ३८ विदेशी मुस्ताङ आएका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया