कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, महामन्त्रीद्वयले विधान संशोधनको प्रस्ताव पेस गर्ने

समाधान संवाददाता २०८२ पुष २८ गते १२:२०

पोखरा ।

Advertisement

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आह्वान गरेको महाधिवेशनको दोस्रो दिन सोमबारदेखि बन्दसत्र सुरु भएको छ । भृकुटीमण्डपस्थित हलमा सुरु भएको बन्दसत्रमा पार्टीका दुई महामन्त्रीले सांगठनिक र नीतिगत सुधारका प्रस्तावहरू पेस गर्ने तयारी गरेका छन् ।

बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नम्बर ५ का ८८ वर्षीय ज्येष्ठ महाधिवेशन प्रतिनिधि श्यामकुमार खड्काले गरेका छन् । प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार महाधिवेशन प्रतिनिधि एवं कानुन व्यवसायी नारायणप्रसाद भट्टराईले विशेष महाधिवेशनका लागि बनाइएको कार्यविधि वाचन गर्नेछन् । बन्दसत्रको कार्यक्रम सञ्चालन कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले गरिरहेका छन् ।

Advertisement

यस सत्रमा पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै दुई वटा प्रस्ताव पेस गर्ने कार्यतालिका रहेको छ । महामन्त्रीहरूले पेस गर्ने प्रस्तावमा राजनीतिक समीक्षा, पार्टीभित्रको विधि, विधान संशोधन र संरचनागत सुधारका विषयहरू समेटिएका छन् ।

प्रस्तुत प्रस्तावहरूमाथि महाधिवेशन प्रतिनिधिहरूलाई ९ वटा विभिन्न समूहमा विभाजन गरेर छलफल गराइने प्रचारप्रसार समितिका संयोजक पोखरेलले जानकारी दिए । समूहगत छलफलबाट प्राप्त निष्कर्षका आधारमा प्रस्तावहरूलाई अन्तिम रूप दिइने उनीहरूको योजना रहेको छ । पुस २७ गतेदेखि सुरु भएको यो विशेष महाधिवेशनमा देशभरका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया