‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशन चलिरहेको र नेतृत्व परिवर्तनको बहस उत्कर्षमा पुगेका बेला संस्थापन पक्षले पार्टी एकताको अपिल गरेको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार एक अपिल जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि रोक्न आग्रह गरेका छन् ।
विशेष महाधिवेशनप्रति लक्षित गर्दै खड्काले तत्काल नेतृत्व परिवर्तनभन्दा पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । उनले नेतृत्व र नीति परिवर्तनका लागि २०८३ वैशाखमा हुने १५औं महाधिवेशन पर्खन आग्रह गरेका छन् ।
‘प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदैछ,’ खड्काले अपिलमा भनेका छन्, ‘तसर्थ, अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ ।’
खड्काले मुलुक गम्भीर अवस्थामा रहेको र प्रतिनिधिसभा विघटनले अन्योल सिर्जना गरेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचन संविधानलाई लिकमा ल्याउन अपरिहार्य रहेको बताएका छन् । राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा रहेको कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी आएको भन्दै उनले पार्टीभित्रको असहज अवस्था अन्त्य गर्नुपर्ने बताए ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंमा विशेष महाधिवेशन चलिरहँदा कार्यवाहक सभापति खड्काले पार्टीका सबै तहका पदाधिकारी, सदस्य तथा भ्रातृ संस्थाहरूलाई एकतामा असर पर्ने गतिविधि नगर्न सचेत गराएका छन् । उनले भनेका छन्, ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै सम्पूर्ण एकताका साथ अगाडि बढ्न अनुरोध गर्दछु ।’
विशेष महाधिवेशन पक्षधरले नेतृत्व असक्षम भएको भन्दै तत्काल विकल्प खोजिरहेका बेला संस्थापन पक्षले भने नियमित महाधिवेशनसम्म पर्खन र हाललाई चुनावी अभियानमा होमिन आग्रह गरेको हो ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया