निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए

समाधान संवाददाता २०८२ पुष २९ गते ५:३८

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ५१ दिन बाँकी रहँदा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेका ८५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय दिएको थियो ।

Advertisement

आयोगका अनुसार जनता समाजवादी पार्टी (जसपा) का २१ र जनमत पार्टीका २० जनाले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच हालै एकता भएकाले बन्दसूची मिलाउन उम्मेदवारी फिर्ता लिइएको सो दलले जनाएको छ ।

यस्तै, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलका उम्मेदवारले पनि नाम फिर्ता लिएका छन् । आयोगले अन्तिम सूची सार्वजनिक हुँदा यो संख्यामा केही थपघट हुन सक्ने स्पष्ट पारेको छ ।

Advertisement

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि गत पुस १३ र १४ गते ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची पेस गरेका थिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत १ सय १० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ सय ६५ जना निर्वाचित हुने व्यवस्था छ ।रासस

Advertisement

तपाईको प्रतिक्रिया