कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षले पहल थालेका छन् । काठमाडौंमा जारी विशेष महाधिवेशनसँगै पार्टी विभाजनको जोखिम बढेपछि संस्थापन र विशेष महाधिवेशन पक्षधरले वार्ता समिति गठन गरेर सहमतिको प्रयास अघि बढाएका हुन् ।
विशेष महाधिवेशन पक्षधरका तर्फबाट सभापति शेरबहादुर देउवा समूहसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे रहेका छन् । देउवा समूहबाट स्वयम् सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का वार्तामा सहभागी हुने तय भएको छ ।
मंगलबार बिहानसम्म सहमति जुटाउने प्रयासस्वरूप सोमबारको बन्दसत्र स्थगित गरिएको छ । दुई महामन्त्रीले पेस गरेका प्रतिवेदनमाथि सुझाव दिन बनाइएका ९ वटा समूहले निष्कर्ष पेस गर्ने समय हुँदाहुँदै पनि सहमतिका लागि भन्दै बन्दसत्र आज बिहान ९ बजेसम्मलाई स्थगित गरिएको हो ।
संकटको चुरोः कार्यसमिति विघटनको प्रस्ताव
सोमबार भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनको बन्दसत्रमा अधिवक्ता एवं महासमिति सदस्य नारायण भट्टराईले पेस गरेको कार्यविधिमा केन्द्रीय कार्यसमिति विघटनको प्रस्ताव आएपछि संकट गहिरिएको हो । कार्यविधिको ५ (घ) मा २०७८ को १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि सकिएको भन्दै विघटन गर्ने र १५औं महाधिवेशन नहुँदासम्म नयाँ कार्यसमिति चयन गर्ने उल्लेख छ । हलले उक्त कार्यविधि ताली बजाएर अनुमोदन गरेपछि संस्थापन पक्ष सशंकित बनेको छ ।
कोइरालाको मध्यस्थता र देउवाको लचकता
पार्टी फुटको संघारमा पुगेपछि नेता डा. शेखर कोइरालाले मध्यस्थताको भूमिका खेलेका छन् । सोमबार उनले आफ्ना समूहका नेताहरूसँग छलफल गरेपछि देउवा निवास महाराजगञ्ज पुगेर पार्टी एकताबद्ध राख्न आग्रह गरेका थिए । देउवाले पनि आफू निकटका नेताहरूसँगको छलफलपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार रहेको सन्देश पठाएका छन् ।
पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दुवै पक्ष विभाजनको पक्षमा नरहेको र सहमतिका लागि वार्ता हुने बताए । यता, डा. मीनेन्द्र रिजालले पार्टीलाई एकढिक्का राख्न विभिन्न विकल्पमा प्रयास भइरहेको जानकारी दिए ।
महामन्त्रीद्वयको सर्त
स्रोतका अनुसार विशेष महाधिवेशनको नेतृत्व गरेका महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्ने, टिकट वितरणमा ४० प्रतिशत हिस्सा दिनुपर्ने र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षरमा टिकट वितरण हुनुपर्ने लगायतका प्रस्ताव अनौपचारिक रूपमा आएका छन् । यद्यपि, यी प्रस्तावको आधिकारिकता पुष्टि हुन सकेको छैन ।
महामन्त्रीद्वय थापा र शर्मा सोमबार खानापछि बन्दसत्रमा उपस्थित नभई एक होटलमा बसेर मध्यमार्गी नेतामार्फत सहमतिको प्रयासमा जुटेका थिए ।
आजको दिन निर्णायक
संस्थापन पक्षले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजे सुरु हुँदैछ । रातभरको वार्ता र छलफलले आज पार्टीको भविष्य तय गर्नेछ । विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले सहमतिको प्रयास र प्रक्रिया सँगसँगै अगाडि बढाइएको बताए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया