मुस्ताङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण

समाधान संवाददाता २०८२ पुष २९ गते ११:०६

Advertisement

मुस्ताङ ।

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङबाट २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

Advertisement


सशस्त्र प्रहरी बलका अनुसार पुस २८ गते सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ निवासी अन्दाजी ३२ वर्षीय पेमा लामालाई ना ६ ख ७५९१ नम्बरको कन्टेनरसहित नियन्त्रणमा लिइएको हो । लामा उक्त कन्टेनरका चालक हुन् ।

प्रहरीका अनुसार उनले ३–४ दिनअघि चीनबाट अवैध रूपमा नेपाल–चीन सीमाको कोरोला नाकाअगाडि गाडीमा लोड गरी राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोट नेपालतर्फ ल्याउँदै गरेका थिए ।

Advertisement


सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङबाट सशस्त्र प्रहरी नायब निरीक्षक उदयबहादुर कुमालको कमाण्डमा खटिएको सुरक्षा फौज, मुस्ताङ भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले कन्टेनरसहित उनलाई नियन्त्रणमा लिएको हो ।


बरामद गरिएको इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने नियन्त्रणमा लिइएका लामालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको जनाइएको छ । कन्टेनर बिग्रिएको कारण त्यसमा रहेका टिस्यु पेपर र ट्वाइलेट पेपर भने सोही स्थानमा भन्सार कार्यालयले सिल गरी राखेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

तपाईको प्रतिक्रिया