सम्पादकीय—पोखरामा लोरा मर्फीको सृजनात्मक यात्रा

आयरल्यान्डकी ६३ वर्षीया कलाकार लोरा मर्फीको जीवनकथा सुन्दा कुनै रोमाञ्चक उपन्यासको पात्र जस्तो लाग्छ । बाल्यकालदेखि नै चित्रकलामा सौखिन लोराले लामो समय आयरल्यान्डको राजधानी डब्लिनमा एउटा भव्य ‘ट्याटु’ पसल सञ्चालन गरिन् । जहाँ सेवा लिन मानिसहरू महिनौँ अघिदेखि पालो पर्खन्थे । तर, पैसा र नामको शिखरमा पुगेपछि उनलाई त्यही पेसामा मात्र बाँधिएर बस्न मन लागेन । आफूभित्र रहेको कलालाई संसारभरका मानिसहरूसँग बाँड्ने उद्देश्यले उनले ‘इन्सेन्स अफ मुलरानी’ नामक संस्था स्थापना गरिन् । अहिले उनी डब्लिनको व्यस्त ट्याटु पसल छोडेर संसारका विभिन्न देशका विद्यार्थीहरूलाई क्यानभासमा रङ भर्न सिकाउँदै हिँड्छिन् । यसै क्रममा उनी अहिले १५ जना विदेशी विद्यार्थीको टोली लिएर पर्यटकीय सहर पोखरामा छिन् ।
लोराको नेपालसँगको साइनो झन्डै ३० वर्ष पुरानो हो । विसं २०५१ सालतिर व्यवसाय गर्ने योजनाका साथ नेपाल आउँदा उनको भेट डिल्लीरत्न तुलाधरसँग भएको थियो । तुलाधरसँगको त्यही सहकार्य अहिले कला प्रवर्धनको बलियो माध्यम बनेको छ । लोराले स्थापना गरेको अनलाइन कला कक्षामा अहिले विश्वका विभिन्न देशका ५ हजारभन्दा बढी सदस्यहरू आबद्ध छन् । अनलाइनबाट एक वर्षको कोर्स पुरा गरेपछि उनी आफ्ना विद्यार्थीहरूलाई भौतिक रूपमा सीप सिकाउन (वर्कसपका लागि) हरेक वर्ष एउटा देश रोज्छिन् । पछिल्लो ३ वर्षदेखि उनको यो रोजाइमा नेपाल र विशेष गरी पोखरा पर्दै आएको छ । यस वर्ष उनीसँगै इङ्ल्यान्ड, अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क र आयरल्यान्डका १६ देखि ७८ वर्ष उमेर समूहका कलाकारहरू पोखरा आएका हुन् ।
यो यात्रा केवल भ्रमणमा मात्र सीमित छैन । ‘सिर्जनशील कलाकार समूह’ को आयोजना र ’नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान’ को सहकार्यमा पोखरामा सञ्चालन भएको ’आर्ट इन हिमालय’ शीर्षकको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा समेत यो टोली सहभागी बन्यो । विदेशी कलाकारहरूले पोखराका विभिन्न स्थानको भ्रमण गरी यहाँको प्राकृतिक सुन्दरता र जनजीवनलाई आफ्ना चित्रहरूमा उतारेका छन् । नेपालका हिमाल, पहाड, ताल र समथर भू–भागलाई एउटै थलोमा पाउनु आफ्ना विद्यार्थीहरूका लागि निकै ठुलो अवसर भएको लोरा बताउँछिन् । यसले नेपाललाई विश्वभरका कलाकारहरूका लागि एउटा ’ओपन स्टुडियो’ का रूपमा चिनाउन सहयोग पुर्याएको छ ।
लोरा मर्फी जस्ता विदेशी कलाकारहरूको यस्तो सक्रियताले नेपालको ‘कला पर्यटन’ (आर्ट टुरिजम) मा नयाँ आयाम थपेको छ । नेपाल आउने विदेशी पर्यटकहरू हिमाल चढ्न वा पदयात्राका लागि मात्र आउँछन् भन्ने भाष्यलाई यसले परिवर्तन गरिदिएको छ । कला र संस्कृतिको माध्यमबाट पनि गुणस्तरीय पर्यटकहरू भित्र्याउन सकिन्छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण हो । स्थानीय व्यवसायी तुलाधरले यस्ता गतिविधिले नेपाली कलाकारहरूलाई विदेशीको सीप र अनुभवबाट सिक्ने मौका मिलेको बताएका छन् । आगामी जनवरी २१ देखि २३ सम्मका लागि तय गरिएको अर्को प्रदर्शनीले पोखराको साखलाई अन्तर्राष्ट्रिय कला जगतमा झन् उच्च बनाउने निश्चित छ । यस्ता सृजनात्मक गतिविधिहरूलाई राज्य स्तरबाटै प्रोत्साहन गर्न सके नेपालको पहिचान केवल प्राकृतिक सुन्दरतामा मात्र सीमित नभई बौद्धिक र कलात्मक केन्द्रका रूपमा समेत स्थापित हुनेछ ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया