पोखरा–विराटनगर उडानको पहल

पोखरा । पर्यटन प्रवर्धनमा आपसी साझेदारी गर्ने उद्देश्यका साथ गण्डकी र कोशी प्रदेशबीच औपचारिक समझदारी भएको छ । पर्यटकीय राजधानी पोखरामा सोमबार आयोजित कार्यक्रममा २ प्रदेशले पर्यटन विकास, पूर्वाधार निर्माण, पहुँच विस्तार र संस्थागत सहकार्यलाई सुदृढ बनाउने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा ईन्द्रप्रसाद सापकोटाले सो सम्झौता पत्रमा हस्ताक्षर गरे । यो समझदारीसँगै दुवै प्रदेशले एक–अर्को क्षेत्रको पर्यटन प्रवर्धनमा सघाउने र अनुभवहरू साटासाट गर्ने बाटो खुलेको छ ।
सम्झौतामा दुवै प्रदेशका सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकलाई लक्षित गरी अन्तर–प्रदेश भ्रमणका लागि विशेष योजनाहरू ल्याउने उल्लेख गरिएको छ । यसका लागि सरकारी तहमा ‘इन्सेन्टिभ प्याकेज’ र निजी तथा व्यावसायिक क्षेत्रमा सुलभ दरका प्याकेजहरू ल्याउन दुवै प्रदेशले आवश्यक पहल गर्ने छन् । पोखरा र विराटनगरलाई सिधा हवाई सेवामार्फत जोड्न र पर्यटकीय बस सेवा सञ्चालन गर्न समेत दुई प्रदेशले समन्वय गर्ने भएका छन् ।
गण्डकीका मनकामना, मुक्तिनाथ र दामोदर कुण्ड तथा कोशीका पाथीभरा, बराहक्षेत्र र हलेसीलाई जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने
पर्यटन प्रवर्धनका लागि संयुक्त रूपमा दूत बनाउने र हवाई भाडा दरका विषयमा आपसी सहकार्य गर्दै अघि बढ्ने विषयलाई समेत सम्झौतामा प्राथमिकता दिइएको छ । विशेष गरी धार्मिक पर्यटनलाई एकीकृत रुपमा विकास गर्न दुई प्रदेशबीच ‘धार्मिक पर्यटन सर्किट’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।
पहिलो चरणमा गण्डकीका मनकामना, मुक्तिनाथ र दामोदर कुण्ड तथा कोशी प्रदेशका पाथीभरा, बराहक्षेत्र र हलेसीलाई जोडेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिनेछ । यसका साथै दुवै प्रदेशका होमस्टेहरूबीच भगिनी सम्बन्ध कायम गर्ने र अन्तर्राष्ट्रियस्तरमा समेत संयुक्त रूपमा पर्यटन प्रवर्धनका गतिविधि सञ्चालन गर्ने सहमति भएको छ ।
यो सम्झौतालाई कार्यान्वयनको तहमा लैजान गण्डकी–कोशी पर्यटन प्रवर्धन समन्वय समिति गठन गर्ने समझदारी भएको छ । समितिको संयोजकमा सम्बन्धित प्रदेशका पर्यटन मन्त्री र सदस्य सचिवमा मन्त्रालयका सचिव आलोपालो रहने व्यवस्था मिलाइएको छ । समितिमा पोखरा पर्यटन परिषदका अध्यक्ष, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समितिका २ जना सह–संयोजकहरु तथा पत्रकार महासंघ गण्डकी र कोशीका अध्यक्षहरू सदस्य रहने छन् ।
सम्झौतापछि कोशी प्रदेशका पर्यटन मन्त्री भीम पराजुलीले पनि पर्यटनमा सहकार्य गर्दा दुवै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने उल्लेख गर्दै यसका लागि आफूहरू सक्रियताका साथ लागेको बताए । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले दुवै प्रदेशमा पर्यटनको ठूलो सम्भावना रहेकाले आपसी सहकार्यबाट लाभ लिन सकिने बताए । ‘कुनै एक प्रदेशमा आएका पर्यटकलाई अर्को प्रदेशमा लैजान यो सम्झौता कोसेढुंगा सावित हुने विश्वास लिएका छौँ,’ उनले भने ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया