हाकिम र चौकीदार मिलेर बिजुलीको तार गायब, प्राधिकरण पोखराका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

समाधान संवाददाता २०८२ पुष ३० गते ६:५५

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्टस्थित स्टोरबाट करिब १४ लाख रुपैयाँ बराबरको तामाको तार गायब पारेको अभियोगमा केन्द्रका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले प्राधिकरणका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंह, सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले तथा कान्तिपुर सेक्युरिटी सर्भिस प्रालिका सुरक्षा गार्डहरू रामकुमार पुर्जा र हेम शर्मा रिमालविरुद्ध आरोपपत्र दायर गरेको हो ।

Advertisement

पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट ९ सय मिटरभन्दा बढी तामाको तार बिक्री गरेर खाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । आयोगको अनुसन्धानका क्रममा स्टोरबाट विभिन्न परिमाणका तारहरू योजनाबद्ध रूपमा गायब पारिएको खुलेको छ । अख्तियारका अनुसार ७० एमएमको १ सय ७४ मिटर र १२० एमएमको ७ सय ४६ मिटर गरी ठूलो परिमाणमा तार हराएको पाइएको छ । उक्त तारको कुल मूल्यांकन १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ ३ पैसा गरिएको छ ।

घटनाको विवरणअनुसार स्टोर प्रमुख काफ्लेले २०८० वैशाख ५ गते कार्यालय प्रमुखसमक्ष तार हराएको भन्दै निवेदन दिएका थिए । उक्त निवेदनपछि प्राधिकरणले २०८० वैशाख १० गते छानबिन समिति गठन गरेको थियो । स्टोरको लेजर अभिलेख हेर्दा २०७९ फागुन २१ गतेसम्म १२० एमएमको ७ सय ४६ मिटर तार र २०७९ माघ २७ गतेसम्म ७० एमएमको १ सय ७४ मिटर तार मौज्दात रहेको देखिन्छ । तर, २०८० वैशाख ५ गते उक्त तार स्टोरमा नभेटिएको र गायब पारिएको अनुसन्धानबाट खुलेको छ ।

Advertisement

अख्तियारको अनुसन्धानले तार हराउनुमा कार्यालय प्रमुख, स्टोर प्रमुख र सुरक्षा गार्डहरूको मिलेमतो रहेको निष्कर्ष निकालेको छ । हराएको तारको परिमाण र तौल धेरै भएकाले ती सामग्री कुनै व्यक्तिको झोलामा वा लुकाएर लैजान सक्ने अवस्था देखिँदैन । तारलाई कम्पाउन्डबाहिर लैजान मेसिनरी उपकरण वा गाडीकै प्रयोग भएको हुनुपर्ने र सुरक्षा गार्डहरू ड्युटीमा खटिएकै अवस्थामा सो कार्य भएकाले उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि भएको आयोगले जनाएको छ ।

केन्द्र प्रमुख सिंह र स्टोर प्रमुख काफ्लेले आफ्नो पद र जिम्मेवारीअनुसार सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्नेमा उल्टै बदनियतपूर्ण ढंगले हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ । उनीहरूले सुरक्षा गार्डहरूसँगको मिलेमतोमा योजनाबद्ध तवरले तार बाहिर पठाएर आफूलाई गैरकानुनी लाभ र संस्थालाई हानी पुर्‍याएको अख्तियारको ठहर छ । यस कार्यमा सुरक्षा गार्डहरू रामकुमार पुर्जा र हेम शर्मा रिमालले मतियारको भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

Advertisement

अख्तियारले चारैजना प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा कारबाही गर्न माग गरेको छ । जसअनुसार १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । सुरक्षा गार्डहरूको हकमा पनि मुख्य कसुरदारसरह सजाय माग गरिएको छ । उनीहरूले कसुरजन्य कार्यमा मतियार भई सरकारी सम्पत्ति हानीनोक्सानी पुर्‍याउन सहयोग गरेको अख्तियारको ठहर छ ।

तपाईको प्रतिक्रिया