पोखराका ७ तले घरमा बाहिरैबाट आगो निभाउने प्रविधि भित्र्याइँदै, कास्कीमा २४ सै घण्टा ‘इओसी’ सञ्चालन

समाधान संवाददाता २०८२ पुष ३० गते ७:०५

पोखरा ।

Advertisement

जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले आगलागी र वन डढेलो नियन्त्रणलाई प्राथमिकतामा राख्दै २१ बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले ‘कास्की जिल्लाको वन डढेलो तथा आगलागी नियन्त्रण कार्ययोजना, २०८२/०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बैठकले सुक्खा मौसममा हुनसक्ने आगलागीका घटना न्यूनीकरण गर्न सबै स्थानीय तहलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र विपद्का बेला परिचालन हुने स्वयंसेवक तथा सामग्रीको व्यवस्था गर्न निर्देशन दिएको छ । डिभिजन वन कार्यालयलाई स्थानीय तहमार्फत सूचना प्रवाह गर्न र वन क्षेत्रमा ‘फायर लाइन’ (अग्निरेखा) निर्माणसहितका प्रतिकार्य योजना लागू गर्न भनिएको छ ।

Advertisement

हिउँदे मौसमको पूर्वतयारी
हिउँदमा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै समितिले मौसम विज्ञान विभागको प्रक्षेपणका आधारमा पूर्वसूचना प्रवाह गर्न जल तथा मौसम विज्ञान प्रादेशिक कार्यालयलाई जिम्मेवारी तोकेको छ । यस क्षेत्रमा रहेका नागरिक, पर्यटन व्यवसायी र पदयात्रीलाई सावधानी अपनाउन स्थानीय स्तरका सुरक्षा निकायमार्फत सचेत गराइनेछ ।

२४ सै घण्टा ‘इओसी’ सञ्चालन
जिल्लाका ५ वटै स्थानीय तहमा गठन गरिएका स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (एलइओसी) लाई न्यूनतम उद्धार सामग्री र जनशक्तिसहित २४ सै घण्टा सञ्चालनमा ल्याउने निर्णय भएको छ । साथै, विज्ञ समूहबाट विपद् जोखिम नक्सांकन गराई पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गर्न सबै पालिकालाई निर्देशन दिइएको छ ।

Advertisement

जोखिमयुक्त संरचनाको विवरण संकलन
समितिले एक महिनाभित्र जिल्लाका जोखिममा रहेका झोलुङ्गे पुल, सडक, सिँचाइ प्रणाली, सरकारी तथा निजी भवनको विवरण संकलन गर्न प्राविधिक कर्मचारी परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, सडक र सार्वजनिक निकाय नजिकका जोखिमयुक्त रुखहरूको विवरण संकलन गरी व्यवस्थापन गर्न डिभिजन वन कार्यालयलाई जिम्मा दिइएको छ ।

पोखरा बजारमा पानीको फोहोराले आगो निभाउने प्रविधि
पोखरा महानगरपालिकाले बजार क्षेत्रमा आगलागी हुँदा पानी र अन्य रसायन फाल्न सक्ने दमकल र प्रविधिको सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन गरेको थियो । उक्त समूहले पोखराका अग्ला घरहरूमा बाहिरैबाट पानी फाल्न सक्ने गरी ६/७ तलासम्म आगो निभाउन मिल्ने प्रविधि भित्र्याउन सुझाव दिएको छ । सोही सुझावअनुसार महानगरले पूर्वतयारी थाल्ने भएको छ ।

मनसुन पूर्वअनुमान प्रणाली र बहुतहकोपीय पूर्वअनुमान
कास्की जिल्लामा विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन र मनसुनको पूर्वअनुमान गर्न विज्ञबाट अध्ययन गराइनेछ । साथै, जल तथा मौसम विज्ञान विभागको सहकार्यमा स्थानीय तहमा ‘बहुतहकोपीय पूर्वअनुमान प्रणाली’ स्थापना गरी विभागको संयन्त्र विकास गर्ने निर्णय भएको छ ।

निजी आवास पुनर्निर्माण र राहत
विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०७८ अनुसार लाभग्राहीको प्रमाणीकरण र किस्ता सिफारिस प्रक्रियालाई तीव्रता दिइनेछ । लाभग्राही कायम भएका तर सम्झौता हुन नसकेका पीडितको हकमा स्थानीय तहले समन्वय गरी विवरण संकलन गर्ने र अनुदान रकम निकासाको व्यवस्था मिलाउने निर्णय समितिले गरेको छ ।

भूकम्प सुरक्षा दिवस र सडक मर्मत
आगामी माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवसमा सबै स्थानीय तह र सरोकारवालाले विविध कार्यक्रम गर्नेछन् । साथै, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रसम्म पुग्ने सडक र स्थानीय तहका कच्ची सडकको मर्मत सम्भार तथा खाल्डाखुल्डी पुर्ने काम तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

बैठकमा पोखरा महानगर प्रमुख धनराज आचार्य, गाउँपालिका अध्यक्षहरू, सुरक्षा निकायका प्रमुख र विषयगत कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया