कांग्रेस विशेष महाधिवेशन : राष्ट्रपति १ पटक, प्रधानमन्त्री २ पटक

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टी विधान संशोधन गर्दै राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री र सांसदसम्मको कार्यकाल किटान गरेको छ । पार्टी विधानको अंग बनाउने गरी विशेष महाधिवेशनको बन्द सत्रले मंगलबार विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
कांग्रेसमा १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३पटक मन्त्री र प्रत्यक्ष निर्वाचन प्रणालीबाट ४ पटकमात्र सांसद बन्न पाइने गरी सीमा तोकिएको छ । समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुने अवसर पनि एक व्यक्तिका लागि एक पटकमात्र हुने गरी व्यवस्था गरिने उल्लेख छ ।
एउटै व्यक्ति पटक पटक एउटै शासकीय जिम्मेवारीमा जाने परम्परा अन्त्य गर्दै पार्टीका तर्फबाट सार्वजनिक जिम्मेवारीमा प्रतिनिधित्व गर्ने विषयमा सीमित व्यक्तिले पटक पटक अवसर पाउने अवस्था रोक्न यस्तो संशोधन गरिएको उल्लेख छ ।
भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको बन्द सत्र मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पारित गर्दै सकिएको छ ।
बन्द सत्रको पहिलो दिन सोमबार दुवै महामन्त्रीले आ–आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समिति बनाइएको थियो । ती समूहले बन्द सत्रको दोस्रो दिन मंगलबार आ–आफ्नो निष्कर्ष सुनाउँदै सुझाव दिए । तिनै सुझाव समेट्दै दुवैको प्रस्ताव पारित गरिएको हो ।
अब नयाँ केन्द्रीय समिति चयन गर्न मनोनयन पत्र मंगलबार राति साढे ७ बजेसम्म गरी मतदान भने बुधबार बिहान सुरु गर्ने कार्यतालिका छ । १ सभापति, २ उपसभापति र २ महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको हो । सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ जना रहन्छन् ।
खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चुनिने छन् । पदाधिकारीमा कोषाध्यक्षबाहेक सबैमा निर्वाचित हुने विधानको व्यवस्था छ । पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ताका लागि निर्वाचन समितिले शुल्क निर्धारण गरेको छ । सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको छ भने केन्द्रीय सदस्य पदका लागि १० हजार रूपैयाँ शुल्क लाग्नेछ ।
विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन् । चौधौं महाधिवेशनका प्रतिनिधिकोसंख्यामध्ये मृत्यु भएका र पार्टी छाडेकाहरूको संख्या घटाएर मतदाता कायम गरिएको हो । चौधौं महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए । विशेष महाधिवेशनमा ६३ प्रतिशत प्रतिनिधिमात्र सहभागी छन् ।
विश्व वा गगनलाई सभापति चाहिएको छैन । तर नीति र नेतृत्व परिवर्तन चाहिएको छ । महामन्त्री गगन थापा
महामन्त्री थापाले विशेष महाधिवेशन आयोजना गरी आफूहरूले विद्रोह गरेको बताएका छन् । बन्दशत्रको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको जिकिर उनको छ ।
थापाले भने, ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो ।’ आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ । ‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन,’ उनले भने ।
कांग्रेस भित्र गिरोहका गुटहरु बनेका कारण कांग्रेस बदल्न जरुरी रहेको उनको भनाइ छ । पार्टी केको लागि पा भन्दा समानताको लागि, देशको लागि र बाहिर गाउँमा बसेका आम मानिसका लागि हो बनाउनु अहिलेको आवश्यकता रहेको उनले बताए । उनले बाहिरको हल्लाको पछि आफू नलागेको र प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गरे ।
उनले भने, ‘अहिले बाहिर अनेक हल्ला चलाइएको छ । कोही टिकटका लागि कोही भागबण्डाका लागि भनेका छन् । तर म हल्लाको पछि लागेको छैन । तपाईँहरू पनि नलाग्नुस् । हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौँ, बाहिरको होइन । विशेष अधिवेशनले विश्व गगनलाई सभापति चाहिएको छैन । तर नीति र नेतृत्व परिवर्तन चाहिएको छ ।’
उनले यो विशेष महाधिवेशनलाई उपलब्धिपूर्ण तरिकाले टुग्याउनुपर्नेमा उनले जोड दिए। ‘तपाई हामी यति धेरै टाढाबाट आएका छौं । अब हलले एउटा उपलब्धिपूर्ण तरिकाले आफ्नो अधिकार सुनिश्चित गर्न म आग्रह गर्छु ।’
केन्द्रीय समिति बैठक स्थगित
कांग्रेस संस्थापन पक्षको मंगलबार १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दैन बसी स्थगित भयो । रातिसम्ममा सहमति बन्न सक्ने भएकाले केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगित गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।
‘अहिले पार्टीलाई विभाजनतिर लगेर कसैलाई फाइदा छैन । नेपाली जनता र देशलाई पनि फाइदा छैन । जसले जे भने पनि प्रजातन्त्रको धरोहर र यो राष्ट्रलाई बजबुत बनाउने धरोहर भनेकै नेपाली कांग्रेस नै हो । अरु कसैले सक्दैन । नयाँ पार्टीले पनि सक्दैन । पुराना पार्टीले पनि त्यो विश्वसनीयता दिन सक्दैन भन्ने हामीलाई राम्रो थाहा छ,’ प्रवक्ता महतले भने ।
उनले विशेष महाधिवेशन गरिरहेका पक्षलाई पार्टी फुटाउनतिर नलाग्न आग्रह गर्दै सबैको भावना पार्टीमा कदर हुने बताए । कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच मंगलबार अपराह्न सुरू दोस्रो चरणको वार्ता बिनानिर्णय टुंगिएको छ ।
सभापति शेरबहादुर देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्छ भन्ने विशेष महाधिवेशन पक्षको बटमलाइनमा सहमति हुन नसकेको हो । विशेष महाधिवेशन पक्षले देउवाको राजीनामा र सहमतिमा नयाँ नेतृत्व चयनको माग गरेका थिए ।
यसको विकल्पमा देउवाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरी राजनीतिक रूपमा निस्क्रिय हुनुपर्ने माग गरिएको थियो । वार्तामा विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी थिए । संस्थापनतर्फ देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी थिए ।









कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया