सोफीले जितिन् मादी डान्स आइडलकाे उपाधि

समाधान संवाददाता २०७६ माघ १५ गते १३:२७

समाधान संवाददाता
पोखरा

प्रथम मादी डान्स आइडलको उपाधि मादी ८ की सोफी शाहीले हात पारेकी छन् । उनले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र तथा म्युजिक भिडियोमा खेल्ने अवसर प्राप्त गरेकी छन् । उनले १ वर्षसम्म आइडल भत्ताबापत् मासिक २ हजार पाउनेछिन् ।

मादी २ की अर्पिता गुरुङ फस्ट रनरअप भएकी छन् । उनले नगद ५० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा खेल्ने अवसर पाइन् । मादी २ कै कुसुम गुरुङ सेकेन्ड रनरअप भई २५ हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा खेल्ने अवसर प्राप्त गरेकी छन् ।

Advertisement

उत्कृष्ट भेषभूषाको उपाधिसहित शशीमाया गुरुङले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । उत्कृष्ट नृत्य निर्देशकको उपाधि निरज राईभाट र कमल गुरुङले जिते । मादी २ का ललित गुरुङलाई नगद ३ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिताको फाइनल राउन्डमा प्रवेश गरेका २० जनालाई नै ३ हजार रुपैयाँसहित प्रमाण–पत्र प्रदान गरिएको थियो । उनीहरुले आदिम कला मञ्चबाट ६ महिनासम्म निशुल्क नृत्य प्रशिक्षणको मौका र ट्रफी प्राप्त गरेका छन् ।

Advertisement

गत भदौ १ बाट मादीका १२ वटै वडामा अडिसन सञ्चालन गरिएको थियो । आदिम कला मञ्चले आयोजना गरेको कार्यक्रममा मादी गाउँपालिकाले सहकार्य गरेको थियो । कार्यक्रममा मादी गाउँपालिकाले २०७७ साल वैशाख १ देखि १० गतेसम्म आयोजना हुने क्रपु महोत्सवको प्रमोसनल डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको थियो ।

मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले यस्ता खाले प्रतियोगिताले नयाँ प्रतिभाको पहिचानमात्र नभई मादी गाउँपालिकाकै सान उच्च भएको बताए । आदिम कला मञ्चका निर्देशक लब्सन गुरुङले सबैको साथ र सहयोगबाट असम्भव लागेको काम सम्भव भएको धारणा राखे ।

तपाईको प्रतिक्रिया