‘पिछडिएकालाई मूलधारमा ल्याउनुपर्छ’

समाधान संवाददाता २०७६ माघ १६ गते १२:३४

कृष्ण न्यौपाने
दमौली

पूर्व राष्ट्रपति डा. रामवरण यादवले व्यास नगरपालिका ५ मानहुँकोट पर्यटकीय गन्तव्यलाई विकास र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन् । मगर समुदायको बाक्लो बस्ती रहेको मानहुँकोटमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सके पर्यटक आकर्षित हुने पूर्व राष्ट्रपति यादवले बताए । मानहुँकोट अवलोकन भ्रमणका क्रममा बुधबार पूर्व राष्ट्रपति यादवले मानहुँकोटको ऐतिहासिक महत्वको ठाउँ भएकाले प्रवद्र्धनमा जुट्नुपर्ने बताए ।

उनले भने, ‘मानहुँकोटको भविष्य सुन्दर छ, यसको प्रवद्र्धनमा स्थानीय सरकार थप सक्रिय भएर लाग्नुपर्छ ।’ धर्म, संस्कृति संरक्षण र पर्यटकीय स्थलको प्रचारप्रसारले मात्रै नेपाल भ्रमण वर्ष २०२० सफल हुने भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनको सुझाव थियो ।

Advertisement

पिछाडिएको समुदायलाई मूलधारमा ल्याउनुपर्नेमा जोड दिँदै पूर्व राष्ट्रपति यादवले सामूहिक भावनाले मात्रै राष्ट्र बलियो हुने चर्चा गरे । सबै जातजातिबीच आपसी समझदारी र सामूहिक भावनाले राष्ट्रियता मजबुद हुने उनले स्पष्ट पारे ।

व्यास नगरपालिका ५ अध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटको विकासका लागि नगरपालिकाले पहल गरिरहेको बताए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु सबैको दायित्व भएकाले वडाले पनि यस अभियानलाई सफल पार्न धेरै भन्दा धेरै पर्यटक मानहुँकोटमा भित्र्याउने लक्ष्य राखेको श्रेष्ठले बताए ।

Advertisement

मानहुँडाँडा आफैंमा एउटा दृश्यावलोकन स्तम्भ (भ्युटावर) हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देखिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । पूर्व राष्ट्रपति यादवले बुधबार नै व्यास–पराशर क्षेत्रसमेत अवलोकन गरेका छन् ।

ढोरबाराही मन्दिर दर्शन
पूर्व राष्ट्रपति डा. रामवरण यादवले बुधबार बिहान ढोरबाराही मन्दिरसमेत दर्शन गरेका छन् ।

मन्दिर दर्शनपछि उनले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रकृतिले दिएका उपहार संरक्षण गर्नुपर्ने बताए । ‘यस मन्दिरको मुख्य आकर्षण लहरी रहेछ । समय समयमा आउने लहरीले अचम्मको छ,’ उनले भने, ‘तर प्राकृतिलाई मानिसले गरेको अतिक्रमणका कारण यस्ता लहरीमा असर पर्न सक्छ । यिनै विषयसँगै देशलाई भलो होस् भन्ने कामना गरें ।’

डा. यादवले प्राकृति, धर्म र संस्कृति संरक्षणका लागि स्थानीय तहले तदारुकता देखाउनुपर्ने बताए । ‘स्थानीय तहसँगै समुदायको पनि चासो हुनुपर्छ,’ उनले थपे, ‘तबमात्र सानो देशमा विविधता कायम रहन्छ ।’

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले विशिष्ट व्यक्तिको भ्रमणले धार्मिक क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पूर्व राष्ट्रपति डा. यादवलाई शुनपा ९ का अध्यक्ष लोकनारायण श्रेष्ठ, शुनपा ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मी लगायतले मन्दिरमा स्वागत गरेका थिए । यसअघि पूर्व राष्ट्रपति डा. यादवले शुनपा ८ पाटनस्थित सहिद कृष्णप्रसाद पौडेलको अर्धकदको सालिकमा माल्यार्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया