गाउँको मोह जगाउन पञ्चमी मेला

समाधान संवाददाता २०७६ माघ १६ गते १४:१२

समाधान संवाददाता, पोखरा

पोखरा २० मोहोरिया गाउँमा युवाले गाउँको मोह जगाउन बसन्त पञ्चमी मेला आयोजना गरेका छन् । मोहोरियास्थित प्रयत्नशील युवा क्लबले युवा तथा सहरमा बसेकालाई गाउँमा भित्र्याउने उद्देश्यले बसन्त पञ्चमी मेलाको आयोजना गरेका हुन् ।

पोखरादेखि १३ किलोमिटर मोहोरियामा बसाइसराइ, वैदेशिक रोजगार र अध्ययनका क्रममा युवा पलायन हुन थालेपछि गाउँका युवाको पहलमा मेला आयोजना गरिएको हो । युवालाई गाउँको संस्कृति बारे जानकारी दिने, धर्म र संस्कृति जगेर्ना गर्ने क्लबका पूर्व अध्यक्ष उत्तम गुरुङले बताए ।

Advertisement

चाडपर्वमामात्र गाउँ उक्लन थालेपछि गाउँको पहिचान र अस्तित्व मेटिँदै जाने भएकाले क्लबले थप सक्रियता बढाएको छ । गाउँमा आयोजित पञ्चमी मेलामा पोखरा २० का अध्यक्ष सीम गुरुङले गाउँको विकासमा युवायुवतीको सक्रियता आवश्यक रहने बताए । खेलकुद र सांस्कृतिक कार्यक्रममार्फत् युवाको पलायन रोकिने हुँदा आर्थिक उपार्जन गर्न सहज हुने गुरुङको धारणा थियो । अध्यक्ष गुरुङले प्रयत्नशील युवा क्लबलाई ५० हजार रुपैयाँ प्रदान गर्दै बाख्रा पालनको पकेट क्षेत्र मौजा मोहोरियामा उत्पादनमुखी काममा लाग्न आग्रह गरे ।

गाउँमा युवा नहुँदा जमिन बाँझो हुँदै गएकाले दिनानुदिन समस्या बढ्दै गएको मोहोरिया टोल विकास समितिका अध्यक्ष हरिप्रसाद गुरुङले चिन्ता गरे । मेलालाई मौलिकता प्रदान गरी पोखराबाट नजिक मोहोरियामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजनामा लागेको प्रयत्नशील युवा क्लबका अध्यक्ष सन्तोष भुजेलले बताए ।

Advertisement

३ दिनसम्म सञ्चालन हुने मेलामा पुरुष भलिबल प्रतियोगिता, भेट्रान्स बास्केटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम सञ्चालन भएको क्लबका सल्लाहकार खगेन्द्र गुरुङले जानकारी दिए । खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले ४० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने भेट्रान्स बास्केटबल प्रतियोगितामा प्रथम हुनेले २५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विभिन्न विद्यामा उत्कृष्ट खेलाडीलाई लामा अमृत फाउन्डेसन घान्द्र्रुकका अध्यक्ष लामा अमृत गुरुङले पुरस्कार प्रायोजन गरेका छन् । युवाहरु गाउँमा नबस्ने, वैदेशिक रोजगारमा जाने, शिक्षा र रोजगारको खोजीमा सहर पस्ने, गाउँमा आर्थिक अवस्थामा सुधार गर्नै नसक्ने भएकाले अधिकांश गाउँहरु सुनसान बन्दै गएकामा स्थानीय क्लबले सक्रियता बढाउनु पर्ने समय आएको क्लब अध्यक्ष सन्तोष भुजेलले बताए ।

तपाईको प्रतिक्रिया