सुमनलाई व्यास अल्ट्रा म्याराथन उपाधि

समाधान संवाददाता २०७६ माघ १७ गते १३:४०

कृष्ण न्यौपाने
दमौली

व्यास नगरपालिकाले सहिद दिवसमा आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङले जितेका छन् । व्यास नगरपालिका ५ मानहुँदेखि व्यास नगरपालिका ८ पुलिमराङसम्म ४४ किमी दूरी २घन्टा ५९ मिनेटमा पार गर्दै कुलुङले उपाधि जितेका हुन् ।

प्रतियोगितामा कालिकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भए । उनीहरुले क्रमश उक्त दूरी ३ घन्टा २ मिनेट र ३ घन्टा ३ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा धादिङका पूर्ण तामाङ, भोजपुरका सरीन तामाङ, रामेछापका गोपाल तामाङ, गोरखाका सयुनराज गुरुङ र स्याङ्जाका निराजन गुरुङलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । उनीहरुले उक्त दूरी क्रमश ३घन्टा १८ मिनेट, ३ घन्टा १८ मिनेट ४० सेकेन्ड, ३ घन्टा २३ मिनेट, ३ घन्टा ३२ मिनेट र ३ घन्टा ४४ मिनेटमा पार गरेका थिए ।

Advertisement

प्रतियोगितामा ७० जना धावक सहभागी थिए । मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे,चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँ डिही, बर्लाची, सोतीबेंसी, बगुवा, रिस्ती, बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ८१ हजार ७६ रुपैयाँ, ६१ हजार ७६ रुपैयाँ र ५१ हजार ७६ रुपैयाँ प्राप्त गरे । सान्त्वना हुने ५ जनालाई समान १६ हजार ७६ रुपैयाँ प्रदान गरिएको छ । विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पुरस्कार वितरण गरे ।

Advertisement

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले प्रत्येक वर्ष सहिद दिवसका दिन म्याराथन प्रतियोगिता गर्दै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया