प्याराग्लाइडिङ वल्र्ड कप एसियन टुर पोखरामा

समाधान संवाददाता २०७६ माघ २० गते १२:२९

समाधान संवाददाता
पोखरा

प्याराग्लाइडिङ वल्र्ड कप एसियन टुर अन्तर्गत ३० देशका १ सय २५ ग्लाइडर (खेलाडी) पोखरामा प्रतिपस्पर्धा गर्ने भएका छन् । १९ औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगितामा एसियन टुरमा पहिलो पटक नेपालमा हुने भएको हो । वल्र्ड कपको सुपर फाइनलमा स्थान बनाउन नेपाल, चीन र इन्डोनेसियामा टुर सञ्चालन गर्ने तय भएअनुसार पहिलो चरणको प्रतियोगिता पोखरामा हुने भएको छ । खेल आउँदो फागुन ११ देखि १७ गतेसम्म सञ्चालन हुने छ ।

नेपाल हवाई खेलकुद संस्था (ना)ले १८ वर्षदेखि सञ्चालन गर्दै अएको नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगितामा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र प्याराग्लाइडिङ पाइलट्स क्लबको समन्वयनमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुन लागेको (ना)का निर्वतमान अध्यक्ष एवं प्रतियोगिता संयोजक योगेश भट्टराईले जानकारी दिए ।

Advertisement

‘खेलको महत्वपूर्ण पक्ष यहाँबाट छनोट भएका खेलाडी प्याराग्लाइडिङ वल्ड कपको सुपर फाइनलमा भाग लिन सक्नेछन्,’ उनले भने, ‘अन्य मुलुकमा भएका खेलमा नेपालले सहभागिता जनाउँदा जुन किसिमको मेडल ल्याएका थियौं । युरोपको दाँजोमा नेपाली खेलाडीको प्रदर्शन राम्रै लिन सकिन्छ । सुपर फाइनलका लागि स्थान बनाउन सकिने विश्वास छ ।’

सहभागी हुने खेलाडी विश्व हवाई खेलकुद संघ (एफएआइ)बाट लाइसेन्स प्राप्त हुने बताइएको छ । अमेरिका, बेलायत, स्वीजरल्यान्ड, फ्रान्स, जर्मनी, रसिया, चीन, जापान लगायत ३० देशका १ सय ८ जना खेलाडीले नाम दर्ता गराइसकेको संयोजक भट्टराईले जानकारी दिए । कोरोना भाइरसले विश्वभर स्वास्थ्य सम्बन्धी चिन्ता बढाइरहे पनि कुनै पनि देशले अहिलेसम्म दर्ता गरेको नाम रद्द नगरेको उनले बताए । उनले भने, ‘चिनबाट मात्र ११ खेलाडीले नाम दर्ता गराएका छन् । नाम रद्द गर्नुपर्‍यो भन्नेबारे त्यस्तो जानकारी छैन । एफएआइबाट पनि खेल स्थगित गर्नुपर्‍यो वा सार्नु पर्‍यो भनिएको छैन ।’ अन्य खेलाडीको नाम आउने क्रममा रहेको उनले सुनाए ।

Advertisement

खेल व्यवस्थापनका लागि १७ वटा उपसमितिमार्फत तयारी थालिएको (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । खेल सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान संस्थाले गरेको छ । प्रतियोगितामा ५ विधाका उत्कृष्ट खेलाडीलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष भण्डारीले बताए । पोखरामा आयोजना भएका यसअघिका प्याराग्लाइडिङ प्रि वल्ड कप, एसियन कन्टिनेन्टल प्याराग्लाइडिङ च्याम्पियनसिपलाई एफएआइले क्याटोगरी दोस्रो वरियताको मान्यता दिएको थियो ।

सराङकोट, तोरीपानी, मान्द्रेढुंगा क्षेत्र समेटेर खेल सञ्चालन हुने हुँदा खेल सुरु हुन १५ दिन अघिदेखि जोमसोम उडानलाई नोटाम जारी गरिदिन नागरिक उड्डयन प्राधिकरण पोखरासँग समन्वय गरिएको (ना)ले जनाएको छ ।

तपाईको प्रतिक्रिया