विश्व शान्ति पूजा र पर्वतीय सग्रहालय

समाधान संवाददाता २०७६ माघ २० गते १३:३३

बद्रीविनोद प्रतीक

यति बेला विश्वमा विभिन्न खाले हिंसा बढिरहेको बेला छ । विज्ञानले संसारलाई एकै गाउँमा समेटे पनि धर्म संस्कृति, भाषा, रीति रिवाजले मानिसलाई एउटै बनाउन सकेको छैन । अर्थ प्रणाली, राज्यका आफ्ना आफ्ना नीति नियम र शासकहरूका आवश्यकता र महत्वकांक्षाले पनि सर्वे भवन्तु सुखिन भन्न पाइएको छैन । भगवान वुद्धले भने झैं अप्पो दीपो भवः भेटन सकिएको छैन । यही कुरालाई ध्यानमा राखेर नेपाल पर्वतारोहण संघको ब्यानरमा विश्वको एकमात्र पर्वतीय संग्रहालय पोखराको प्रांगणमा तेस्रो विश्व शान्ति पूजा सुरु भएको छ । बर्सेनि हुने गरेको यो पूजाको सुरुआत पोखराका पर्यटन व्यवसायी हरिध्वज तुलाचनको परिकल्पनामा डा. हर्क गुरुङको अध्यक्षतामा विसं २०५९ मा प्रथम पटक भएको थियो ।

डा. हर्क गुरुङ दावा नोर्बु शेर्पा र खडकविक्रम शाह तीनैजनाले यो संसार छोडेर गए पनि उनीहरूले स्थापना गरेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हामीसँगै छ । उनीहरुले थालनी गरेको विश्व शान्ति पूजा पनि अहिले सम भइरहेको छ । यो पूजा भइरहँदा धर्म गुरु ३१ औं अवतारी लामा ठुल्छिन रिम्पोछेले पहिलो पटक प्रदान गरेको आशीर्वाद अहिले पनि धेरैको स्मृतिमा छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालयका प्रमुख परिकल्पनाकार डा. हर्क गुरुङ र उनलाई साथ दिने दावा नोर्बु र खड्कविक्रम अहिले पनि हाम्रोसामु विश्व शान्ति पूजाको प्रमुखकर्ता बनेर बसिरहेका छन् जस्तो महसुस भइरहेको छ ।

Advertisement

पोखरा दिनानुदिन अन्तर्रास्ट्रियस्तरमा परिचित हुँदैछ । यसरी परिचित गराउने एउटा संस्था हो अन्तरर्राष्ट्रिय पर्वतीय संग्रहालय, अर्काे हो संग्रहालयको प्रांगणमा हुने गरेको वृहत विश्व शान्ति पूजा । हजारांै भक्तजनहरुको सहभागितामा हुँदै आएको यो पूजामा विश्वका धेरै भक्तजनको सहभागिता रहने गरेको छ ।

मानव जगतमा देखिएको अशान्ति, झैझगडा, वैमनस्यता, लुटपाट, तस्करी, हत्या, बलात्कारजस्ता हिंसाजनक गतिविधिलाई विश्व शान्ति पूजाले कम गर्न सघाउँछ भन्ने तत्वज्ञान प्राप्त गरेका हरि तुलाचन यतिबेला पूजा आयोजनाका अध्यक्ष छन् । बृहत् विश्व शान्ति पूजा माघ २२ गते समापन हुँदैछ । मृत्यु भएका सम्पूर्ण प्राणीहरूको आत्मलाई यो ब्रह्माण्डमा भट्किरहनु र परोस् भनी गरिएको यो मुक्ति पूजा पनि हो । बाँचेका मानव जगतका लागि (अमिताव ) को अभिषेक (ओङ) प्रदान गर्न बुद्धका अनुयायी लामाहरू रिम्पोछे अर्थात् अवतारी लामाहरूले गुरुबिना साक्षत हुन नसकेका आत्माहरूलाई गन्तव्यमा पु¥याउने कार्य गरिरहेका छन् । यो विश्वास पनि शान्ति पूजाले आर्जन गरेको छ ।

Advertisement

बुद्धको ज्ञानले सर्वश्रेष्ठ मानव भएको कारणले बुद्धलाई भगवान भने झैं ज्ञान प्रदान गर्न सक्ने क्षमताका धनी लामा गुरुहरू पनि भगवान सरह मनिन्छन । तिनै लामा गुरुहरूको आशीर्वाद प्राप्तिका लागि वृहत विश्व शान्ति पूजा गर्न लागेको बताउँछन् पूजा आयोजक अध्यक्ष हरिध्वज तुलाचन । देशमा माओवादी जनयुद्ध उत्कर्षमा पुगेको बेलामा तुलाचनकै मस्तिष्कमा यो पूजाको बिजारोपण भएको थियो । उनले नै डा. हर्क गुरुङलाई विश्वास दिलाएर विसं २०५९ फागुन १३–१५ सम्म प्रथम वृहत विश्व शान्ति पूजा गरेका थिए । अहिले उनी ती दिनहरु सम्झदै भन्छन्, ‘त्यो पूजापछि नेपालमा शान्ति स्थापनाको माहोल बन्दै गयो र आज हामी यो अवस्थामा आयौं ।’ आज विकास र समृद्धि हाम्रो मूल नारा बनिसकेको छ । सरकारले लिएको यो अभियान सफल पार्न पनि विश्व शान्ति पूजाले सहयोग पुर्‍याउने छ । उनी भन्छन् भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि यो पूजाले सघाउने छ ।

विसं २०७२ मा विनासकारी भूकम्पले जनधनमा ठूलो क्षति पुग्यो । सो क्षतिलाई कम गर्न पनि यही ठाउँमा दोस्रो विश्व शान्ति पूजा गरिएको थियो । उक्त पूजाले भूकम्पमा परी मृत भएका आत्मलाई तार्न र जीवितहरुमा मलम लगाउन सहयोग गरेको विश्वास छ । जसले विश्वमा नै शान्तिको सन्देश फैलाउन सकेको थियो । त्यतिबेला करिब ३५ हजार भक्तजनले एकसाथ धर्मगुरु रिन्पोछेबाट आशीर्वाद प्राप्त गरेका थिए । यो सामन्य आयोजना थिएन । त्यसले पनि अहिलेको पूजालाई बल मिलेको बताउँछन अध्यक्ष तुलाचन ।

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको सपना हो सुखी नेपाली समृद्ध नेपाल । यो अहिले सरकारको एउटा नारा बनिसकेको छ । यसलाई केन्द्रमा राखेर सरकारका योजना बनेका छन् । सोही अनुरुप कार्यक्रम भएका छन् । यिनै कार्यक्रमलाई सफल पार्नको लागि पनि यो पूजाले सहयोग पु¥याउने विश्वास गर्छन् तुलाचन ।

पहिले जस्तै यसपटक पनि पुस १० गतेदेखि भइरहेको छ । भगवान वुद्धको कैंग्युर ग्रन्थ १८४ थान वाचन निरन्तर भइरहेको छ । यसको अन्तिम पाठ माघ २०, २१ र २२ गते विशेष समारोह गरी सम्पन्न गरिने तुलाचनले बताएका छन् । मुख्य गुरु रिन्पोछे श्रीधर राणाबाट आशीर्वाद प्रदान गरिने यस पूजामा करिब ६० लाख जति खर्च हुने छ । गण्डकी प्रदेश सरकार, पोखरा माहानगर पालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड लगायत संघ संस्थाले सहयोग गर्ने बचन दिएका छन् । पर्वतारोण संघले २० लाख सहयोग गरिसकेको छ । आयोजना स्थलमा खटेका संग्रहालयका सिइओ शंकर गौतमसहितको टिम आयोजनास्थललाई आकर्षक र व्यवस्थित कसरी गर्न सकिन्छ भनि खटिरहेको छ । लामाहरु समेत आयोजनास्थलमा दिनहुँ जुटिहेका छन् । यो दृश्य हेर्दा लाग्छ मानव शान्तिको लागि सन्देश प्रवाहमा कमी भएको छैन । करिब ४० हजार भन्दा बढी भक्तजनले आशीर्वाद ग्रहण सहजै गर्न सक्ने छन् । आयोजकको यो अपेक्षा अपुरो र अधुरो हुने देखिँदैन ।

नेपाल पर्वतारोहण संघले सञ्चालन गरेको संग्रहालयमा यो वर्षदेखि गण्डकी प्रदेश सरकारले पनि सहयोग गर्न थालेको छ । प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यो संग्राहलय हाम्रो हो भन्न थालेका छन् । विश्व शान्ति पूजाले सबैलाई एकै ठाउँमा ल्याउन सघाएको आभास मिलेको बताउँन थालेका छन् । मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सहितका प्रदेश सरकारका मन्त्री तथा सांसद लगायत योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार गोविन्द नेपालीको पहलमा संग्रहालयको सहयोगको लागि ढोका खुलिसकेको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका संयोजक सन्तवीर लामाले ठूलो मन बनाएर प्रदेश सरकार संग्रहालयको विकासमा सहयोग गर्न थालिसकेकोमा खुसी छन् । अब यो संग्रहालय गण्डकी प्रदेश सरकारको पनि हो भन्नेहरु बढ्न थालेकोमा सबै खुसी छन् । वृहत विश्व शान्ति पूजाको प्रभाव क्रमश पर्दैछ । भाइचारा सम्बन्ध विकास, सहयोग र सद्भावना, यसका उदाहरण हुन् ।

प्रथम विश्व शान्ति पूजाको अध्यक्षता डा. हर्क गुरुङले गरेका थिए । ठुल्छिन रिम्पोछेबाट आशीर्वाद प्रदान गरिएको थियो । दोस्रो विश्व शान्ति पूजाको अध्यक्षता पर्यटन व्यवसायी आङकिला शेर्पाले गरेकी थिइन । दोस्रो पूजामा ट्रिजेन रिन्पोछेबाट भक्तजनहरूले आशीर्वाद प्राप्त गरेका थिए । शुद्धीकरण पूजामा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रका उच्च पदस्थ अधिकारी लगायत सर्वसाधारणको सहभागिता थियो । यस पटक अर्थात् तेस्रो पूजा पर्यटन व्यवसायी हरिध्वज तुलाचनको अध्यक्षतामा हुन लागिरहेको छ । यी पूजाले पोखरालाई विश्वव्यापीकरण गर्न सजिलो भएको छ । पूजाको सफलताले नै पोखराको पर्यटन व्यवसायलाई सहयोग पु¥याउनुका साथै विश्वमा शान्ति कायम गर्न केही न केही सघाउने विश्वास छ ।

(लेखक प्रेस स्वतन्त्रत सेनानी तथा वरिष्ट पत्रकार हुन् )

तपाईको प्रतिक्रिया